स्थानीय संस्कृतिसंगै उत्पादनलाई बजारीकरण गरिने : लुम्बिनी मुख्यमन्त्रि चौधरी
भुरीगाउँ, बर्दिया : ‘पर्यटन र हरित लगानी’ आदर्श वाक्य सहित बर्दियाको ठाकुरद्वारामा ४४औं अन्तर्राष्ट्रिय विश्व पर्यटन दिवस मनाइएको छ । ठाकुरबाबा नगरपालिकाको आयोजना तथा पर्यटन विकास परिषद, लुम्बिनी प्रदेशको प्रवद्र्दनमा ठाकुरबाबा नगरपालिका–९, ठाकुरद्वारामा कार्यक्रमको आयोजना गरी पर्यटन दिवस मनाइएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले स्थानीय कला र संस्कृतिको संरक्षणसंगै स्थानीय उत्पादनलाई प्राथमिकतादिई कानूनी मान्यता दिनेगरी प्रदेश सरकारले तयारी थालेको बताउनुभयो । मुख्यमन्त्री चौधरीले पर्यटन क्षेत्रका लागि बर्दिया धेरै सम्भावना बोकेको जिल्ला रहेकाले त्यसका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो ।
बर्दियाको पर्यटन क्षेत्रलाई व्यवस्थापन गर्न सकेमा रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने समेत मुख्यमन्त्री चौधरीले बताउनुभयो । बर्दियामा आगामी वर्ष एक लाख पर्यटक भित्र्याउने गरी कार्ययोजना बनाएर आफू लाग्ने बताउँदै मुख्यमन्त्रीले चौधरीले पर्यटनसंग गरीब, किसान, कमैया, दलित, युवा, महिला सबैलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा पर्यटन व्यवसायीले सोँच्न जरुरी रहेको बताउनु भयो ।
ठाकुरबाबा नगरपालिकासंगै बर्दिया जिल्लाका प्रमुख धार्मिक तथा पर्यटकिय गन्तब्यहरुको बारेमा जानकारी दिन यस वर्ष बर्दियामा दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको पर्यटन विकास परिषद, लुम्बिनी प्रदेशका निर्देशक रामु जोशीले बताउनुभयो । प्रदेशका विभिन्न जिल्लाहरुको पर्यटन क्षेत्रलाई चलायमान गराउनका लागि हरेक वर्ष फरक–फरक स्थानमा कार्यक्रमको आयोजना गरिने समेत जोशीले जानकारी दिनुभयो । जैविक विविधता, प्राकृतिक सुन्दरता एवम् स्थानीय थारु समुदायको कला, संस्कृतिले भरिपूर्ण बर्दियामा पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका निर्वाह हुने उद्देश्यले विश्व पर्यटन दिवसका अवसरमा यस वर्ष ठाकुरद्वारामा कार्यक्रमको आयोजना गरिएको हो ।
पर्यापर्यटनका लागि लुम्बिनी प्रदेशकै मुख्य गन्तब्यको रुपमा रहेको बर्दिया जिल्लामा विशेष गरी प्राकृतिक बासस्थानमा लोपोन्मुख पाटे बाघ, हात्ती, गैँडा, कृष्णसार लगायतका जैविक विविधता एवम् प्राकृतिक सुन्दरताको अवलोकन गर्न सकिन्छ । बर्दिया जिल्ला प्राकृतिक सुन्दरता, जैविक विविधता एवम् लोपोन्मुख वन्यजन्तु संरक्षणका दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । विश्व पर्यटन दिवसको अवसरमा बर्दियाको ठाकुरद्वारा क्षेत्रमा सञ्चालित होटेलहरुमा असोज महिनाभर २५ प्रतिशत छुटको व्यवस्था गरिएको पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्ण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
बर्दियामा थारु कला संस्कृतिसंगै होमस्टेहरुमा स्थानीय परिकार खान पाइने, ऐतिहासिक ठाकुरद्वारा मन्दिर, केदारेश्वरधाम, कर्णाली चिसापानी पुल, नेपालकै लामो गेरुवा कोठियाघाटको मोटरेबल पुल, बढैयाताल, सत्खलुवा ताल, इन्टेक अवलोकन गर्न पाइने ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले बताउनुभयो । बर्दिया राष्ट्रिय निकुञ्ज भित्रै ट्रि हाउसमा बास बस्ने सुविधासंगै निकुञ्ज भित्र जंगल वाक, जीप सफारी, र्याफ्टिङ, क्याम्पिङ, फिसिङ्ग लगायतका साहसिक पर्यटकिय गतिविधीमा रमाउन सकिने भएकाले बर्दियामा आउन नगर प्रमुख लम्सालले सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरबाबा नगर प्रमुख लम्सालले बर्दिया जिल्लामा पर्यटन व्यवसायका थुप्रै सम्भावनाहरु भएको र चुतौती पनि उत्तिकै रहेकाले चुनौतीहरुको सामना गर्दै अघि बढ्न सकेमा रोजगारीका लागि विदेशीनुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो । बर्दियाबाट अहिले २८ प्रतिशत जनशक्ति अन्य मुलुकमा काम गर्न जाने गरेकोमा यसलाई कम गर्नका लागि पर्यटन क्षेत्र सुधार गर्नु आवश्यक रहेको समेत प्रमुख लम्सालले बताउनुभयो ।