भुरीगाउँ, बर्दिया : पर्यटन र हरित लगानी नारासहित ४४ औँ विश्व पर्यटन दिवस बर्दियाको ठाकुरबाबा नगरपालिकामा भोलि बुधवार भव्य कार्यक्रम गरी मनाइने भएको छ । हरेक वर्ष २७ सेप्टेम्बर २०२३ मा मनाइने विश्व पर्यटन दिवस यस वर्ष बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारामा मनाइने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहितको सहभागितामा जिल्लाका प्रमुख पर्यटकीय गतिविधिहरूका बारेमा जानकारी दिँदै पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज नजिक ठाकुरद्वारामा विश्व पर्यटन दिवस मनाइने मेयर तिलराम लम्सालले जानकारी दिनुभयो ।
लुम्बिनीको प्रमुख पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्ज रहेको ठाकुरबाबा नगरपालिकासहित बर्दिया जिल्लालाई ‘ल्यान्ड अफ टाइगर’ (बाघको भूमि) बर्दिया जाउँ : पर्यटन गतिविधिसँगै प्रकृति र संस्कृतिमा रमाऔँ, विश्व पर्यटन दिवस २०८० भव्यरूपमा सफल पारौँ भन्ने नाराका साथ विश्व पर्यटन दिवस मनाउन लागिएकाे हाे । यस अवसरमा ठाकुरद्वाराका पर्यटकीय होटलहरूमा असोज महिनाभरि आरामदायी आवासमा २५ प्रतिशत छुट दिइने भएकाले प्रकृति र संस्कृतिको आनन्द लिन पनि अनुरोध गरिएको छ ।
बर्दियामा बाघ, हात्ती, गैँडा, कृष्णसार लगायतका वन्यजन्तुसँगै प्राकृतिक सौन्दर्य अवलोकन, थारु कला संस्कृतिसँगै हाेमस्टेहरूमा स्थानीय परिकार खान पाइन्छ । यस्तै ऐतिहासिक ठाकुरद्वारा मन्दिर, केदारेश्वरधाम, कर्णाली चिसापानी पुल, गेरुवा कोठियाघाट पुल, बर्दिया निकुञ्जभित्र जङ्गल वाक, जीप सफारी, र्याफ्टिङ, क्याम्प्ङि, फिसिङ लगायतका साहसिक पर्यटकीय गतिविधिमा रमाउन सकिन्छ ।
पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशकाे प्रवर्धन तथा ठाकुरबाबा नगरपालिकाको आयोजनामा दिवस मनाउन लागिएको हो ।
दिवसका अवसरमा पर्यटकीय गतिविधिका बारेमा गरिने सन्देशमूलक कार्यले सिङ्गाे जिल्लालाई चिनाउने अवसर प्राप्त हुने ठाकुरबाबाकी उपमेयर विनाकुमारी भट्टराईले बताउनुभयाे ।
बर्दियाका प्रमुख पर्यटकीय गतिविधि समेटिएका सन्देशमूलक सूचना, ब्रोसर, पोस्टर, पम्प्लेट, भिडियो डकुमेन्ट्री निर्माण तथा प्रर्दशन गरी आन्तरिक पर्यटक बढाउन प्रचारप्रसार गरिने होटल सङ्घ बर्दियाका अध्यक्ष एवम् प्रचारप्रसार उपसमितिका संयोजक मोहनलाल चौधरीले बताउनुभयो ।
पर्यटन क्रियाकलापअन्तर्गत जीप सफारी, हात्तीबाट गज परिक्रमा, ऐतिहासिक ठाकुरद्वारा मन्दिरमा महाआरती अवलोकन, स्लो साइक्लिङ रेस, निकुञ्ज परिसर अवलोकनका साथै स्थानीयस्तरमा बर्दिया घुम्न जाउँ भन्ने खालका सामाजिक सञ्जालका लागि चार वटा विधामा भिडियो प्रतियोगिता र चित्र चिन्ने प्रतियोगिता पनि समावेश गरिएको छ ।
विश्व पर्यटन दिवसका लागि लुम्बिनी प्रदेश र नगरपालिकाबाट गरी झन्डै २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्रीसहित सङ्घ तथा अन्य सासंद, बर्दियाका सबै पालिकाका प्रमुख तथा उपप्रमुख, बर्दियासहित लुम्बिनी प्रदेश र भारतको उत्तर प्रदेशका सञ्चारकर्मीलगायतकाे पनि सहभागिता हुने आयोजकले जनाएको छ ।