onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा : संविधान दिवसमा रोजगार मेलाको आयोजना

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा संविधान दिवसको अवसर पारेर रोजगार मेलाको आयोजना गरिएको छ । रोजगारीको खोजीमा रहेका युवा जनशक्ति र रोजगारदातालाई एकै स्थानमा सहभागि गराई आ–आफ्नो आवश्यकता अनुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुर्‍याउनका लागि रोजगार मेलाको आयोजना गरिएको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले बताउनुभयो ।

ठाकुरबाबा नगरपालिका रोजगार सेवा केन्द्रको आयोजना तथा बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनलको सहकार्यमा ठाकुरबाबा नगरपालिकामा आयोजित मेलाले नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपाली र ५ लाख युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्यलाई सहयोग पुर्‍याउने नगर प्रमुख लम्सालले बताउनुभयो । समुन्नत ठाकुरबाबा, सबल नगरबासी नारासहित नगरभित्रका जनशक्तिलाई स्थानीय उद्योग, व्यवसाय, बैंकिङ, पर्यटन, होटल व्यवसाय लगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन सहयोग पुर्‍याउनका लागि रोजगार मेलाले सहयोग पुगेको समेत उहाँले बताउनुभयो ।

संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तिलकराम लम्सालले केहि अपुरो अवस्थामा रहेका कानुनहरुलाई पूर्णता दिएर आगामी दिनमा सार्वभौम जनतालाई स्थानीय, संघ र प्रदेश सरकारबीच भएका अधिकार बाँडफाँडलाई समयमै टुङ्ग्याई अपनत्व महसुस हुने गरि व्यवस्था सुनिश्चित हुन आवश्यक रहेको बताउनुभयो । ठाकुरबाबा नगरपालिकाका नागरिकले दिएको जिम्मेवारी आफुले पुरा गर्ने प्रतिवद्धतासहित रोजगार मेला संचालनमा सहभागि सबैलाई नगर प्रमुख लम्सालले धन्यवाद समेत दिनुभयो ।

ठाकुरबाबा नगर उप–प्रमुख बिना कुमारी भट्टराईले संविधान दिवसको अवसरमा इतिहासको विभिन्न कालखण्डमा नेपालको स्वतन्त्रता, राष्ट्रिय एकता, स्वाधिनता र लोकतन्त्रका लागि भएका आन्दोलन तथा संघर्षका क्रममा ज्यानको आहुती दिने सहिदहरु प्रति श्रद्धान्जली व्यक्त गर्दै शुभकामना व्यक्त गर्नुभयो । उप–प्रमुख भट्टराईले भन्नुभयो “ठाकुरबाबा नगरपालिकाले बृहत योजना बनाएर लामो तथा छोटो समयका सीपमुलक तालिम सञ्चालन गरिरहेको छ ।”

कार्यक्रममा रोजगार दिने रोजगारदाता, उद्यमी व्यवसायी तथा तालिम लिएर रोजगार गरिरहेका व्यक्तीहरुलाई सम्मान गरिएको छ । गोविन्दपुर सामुदायिक होमस्टेलाई पनि सम्मान गरिएको छ । यस्तै कार्यक्रममा सञ्चार माध्ययम मार्फत् महत्वपूर्ण योगदान गरेको भन्दै रेडियो टाइगरलाई पनि सम्मान गरिएको छ ।

श्रमशक्तिलाई गुणस्तरिय बनाउँदै श्रमिकहरुको सीप र क्षमता अभिवृद्धी गर्दै युवाहरुका कामलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न तथा श्रम बजारमा उनिहरुको माग र सम्मान वृद्धि गर्नका लागि स्थानीय युवाहरुलाई सीप सिक्न अभिप्रेरित गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने र रोजगारीकै लागि युवा शक्तिलाई विदेशिनु पर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको ठाकुरबाबा नगरपालिका रोजगार शाखाका कार्यक्रम संयोजक रविन्द्र अर्यालले बताउनुभयो ।

पछिल्लो समय बर्दिया लगायत देशभरका दक्ष युवाहरु माध्यमिक शिक्षा पास गरि विदेशी मुलुक तर्फ पलायन हुनुले नेपालमा रोजगारदाता र रोजगार गर्ने युवा दुबैको आवश्यकता महसुस भइरहेको छ । नेपालमा आयआर्जनका थुप्रै माध्यम भएपनि उचित मुल्य नहुँदा युवाहरु वैदेशिक रोजगरीमा पलायन हुने क्रम दिनहुँ बढिरहेको छ ।

रोजगार मेलामा प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड, न्यू सामुहिक टेलर्स, नेश्नल मानस विकास ट्रेनिङ इन्स्टीच्यूट, बाँके युनेस्को क्लव, प्लान इन्टरनेशनल नेपाल, होटल संघ नेपाल, उद्योग बाणिज्य, कृषि पशुपालन, गोविन्दपुर सामुदायिक होमस्टे, निर्माण व्यवसायी संघ, लुम्बिनी प्राविधिक विश्वविद्यालय, सरकारी तथा गैर सरकारी संघसंस्था गरि ११ वटा स्टलहरु राखिएको प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.