online-aama-surachhya-sandesh

बर्दियाको गुलरियाबाट रेडियो संवादको नियमित प्रसारण शुभारम्भ

Sambad ADD long

गुलरिया, बर्दिया : ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँको रेडियो टाइगर ९९.२ मेगाहर्जको शाखा संवाद एफ. एम. ९८.३ मेगाहर्जको गुलरियाको बर्दियाबाट आजदेखि नियमित प्रसारण सुरु भएको छ । गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव, वडा नम्बर ४ का वडा अध्यक्ष सुरेश गौतम लगायतको सहभागितामा एक कार्यक्रमका बीच संवाद एफ. एम.ले आजदेखि नियमित प्रसारण सुरु गरेको हो ।

आफ्नो पालिकामा सञ्चारमाध्यम रेडियो स्थापना भएकोमा शुभकामना दिँदै नगर प्रमुख मुक्तिनाथ यादवले आवाज विहिनहरुको आवाजलाई रेडियोसम्म ल्याउन तथा नगरपालिकाले गरेका राम्रा कामहरु जनतासमक्ष पुर्‍याउँदै पालिकाका त्रुटिपूर्ण कामहरुमा सकारात्मक ढंगबाट पालिकालाई पनि खबरदारी गर्न आग्रह गर्नुभयो । यस्तै वडादेखि पालिकासम्मका गतिविधिलाई स्थानीय नागरिकसम्म सुचना पुर्‍याउँदै जनप्रतिनिधिलाई पनि खबरदारी गर्न रेडियो संवादले भुमिका निर्वाह गर्न वडा अध्यक्ष सुरेश गौतमले आग्रह गर्नुभयो ।

बर्दिया टाइगर नेटवर्कद्वारा ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँबाट ‘गर्जन्छ सधैं…, बाघ झैँ…’ नाराका साथ सञ्चालित रेडियो टाइगर ९९.२ मेगाहर्जले स्थापनाको ७ वर्ष पछि बर्दियाको सदरमुकाम गुलरियामा शाखा विस्तार गरेको हो । गुलरिया नगरपालिका–४, तुलापुरको लेकसाइडमा संवाद एफ. एम.को स्थापना गरेसंगै रेडियो टाइगर र संवाद एफ. एम.को प्रसारण अब बर्दिया जिल्लाभर प्रष्ट सुन्न सकिने भएको हो । रेडियोको प्रसारण बर्दियासहित बाँके, सुर्खेत र कैलालीका अधिकांश क्षेत्रमा प्रस्ट सुन्न सकिन्छ ।

रेडियो संवाद ९८.३ मेगाहर्जको प्रशारण कक्ष

भावुक बर्दिया कम्युनिकेशन (बिबिसी) नेटवर्कद्वारा ‘बर्दियाको समावेशी आवाज’ नारासहित सञ्चालित संवाद एफ. एम. ९८.३ मेगाहर्जले गएको जेठ १५ गते गणतन्त्र दिवसका दिन बर्दियाको सदरमुकाम गुलरियाबाट परिक्षण प्रशारण शुभारम्भ गरेको थियो । जेठ १५ गतेदेखि परिक्षण प्रशारण सुरु गरेको संवाद एफ. एम.ले संविधान दिवसका अवसरमा आजदेखि नियमित प्रशारण सुरु गरेको हो । नियमित प्रशारण सुरु भएसंगै संवाद एफ. एम.मा आजदेखि समाचार, सांगीतिक कार्यक्रम तथा अन्तरवार्ताका कार्यक्रमहरु नियमित रुपमा प्रशारण हुने रेडियोका प्रवन्ध निर्देशक भावुक योगीले जानकारी दिनुभयो ।

बर्दियाको ठाकुरबाबा नगरपालिकासंगै गुलरिया, मधुवन, बारबर्दिया, राजापुर, बाँसगढि नगरपालिकासहित गेरुवा र बढैयाताल गाउँपालिका तथा छिमेकी जिल्ला बाँके, कैलाली र सुर्खेत क्षेत्रका रेडियोप्रेमी स्रोताहरु माझ रेडियोको प्रसारण अब झनै प्रष्ट रुपमा पुगेको प्रबन्ध निर्देशक योगीले बताउनु भयो ।

संवाद एफ. एम. ९८.३ मेगाहर्जमा आजदेखि उज्यालो रेडियो नेटवर्कबाट देशैभरी प्रशारण हुने विहान ६ बजेको कायाकैरन, विहान ९, मध्यान्ह १२, दिउँसो ३ र साँझ ६ बजेको नेपाल खबर तथा राती ८ बजेको नेपाल दर्पण प्रशारण हुनेछ । यसैगरी शनिवार र आइतबार बाहेक हरेक दिन राती ८ः४५ बजे बिबिसी नेपाली सेवा प्रशारण हुनेछ । साथै रेडियो टाइगर ९९.२ मेगाहर्ज र संवाद एफ एमबाट समेत स्थानीय समाचारसहित विविध कार्यक्रमहरु नियमित प्रसारण हुनेछन् ।

रेडियो टाइगरसंग सहकार्य गर्दै संवाद एफ. एम. अघि बढ्ने बताउँदै बर्दियाको भुरीगाउँमा रहेको रेडियो टाइगरले कृषि, स्वास्थ्य, शिक्षा, वन वन्यजन्तु संरक्षण, संस्कृति, पर्यटन र विकास लगायतका विषयमा विभिन्न सूचनामुलक, जनचेतनामूलक कार्यक्रम एवम् समाचारका साथै मनोरन्जनात्मक कार्यक्रमहरु उत्पादन तथा प्रसारण गर्दै आइरहेको प्रबन्ध निर्देशक योगीले बताउनुभयो ।

रेडियो संवाद ९८.३ मेगाहर्जले साढे ३ महिनासम्मको परिक्षण प्रसारण सकिए लगत्तै आजदेखि नियमित प्रसारण सुरु गरेको रेडियोका कार्यक्रम संयोजक सौगात श्रेष्ठले बताउनुभयो । रेडियोको प्रसारण एफ. एम. ब्याण्डको ९८.३ मेगाहर्जसंगै अनलाइनमा tigerkhabar.com , onlinesambad.com का साथै मोबाइल एप्लीकेशन हाम्रो पात्रो र नेपाली पात्रो मार्फत सुन्न सकिन्छ ।

संवाद एफ।एमले नियमित प्रशारण सुरु गरेसंगै आगामी दिनका लागि सल्लाह सुझाव र प्रतिक्रिया दिन पनि स्रोताहरुसंग आग्रह गरेको छ । स्रोताहरुको निरन्तर साथ र सहयोगको अपेक्षासमेत लिएको छ ।

Leave A Reply

Your email address will not be published.