गुराँस माविमा यौन तथा प्रजनन् स्वास्थ्य मेलाको आयोजना
गुराँस माविलाई अपाङ्गतामैत्री शौचालय हस्तान्तरण
भुरीगाउँ, बर्दिया : मधुवन नगरपालिका–६, सानोश्रीमा रहेको गुराँस माध्यमिक विद्यालयमा यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि मेलाको आयोजना गरिएको छ । गुराँस माध्यमिक विद्यालय सानोश्रीको आयोजना तथा प्लान इन्टरनेशनल नेपाल, गेरुवा ग्रामिण जागरण संघ र कोइकाको समन्वय तथा सहकार्यमा यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि मेला तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको हो ।
गुराँस माध्यमिक विद्यालय, स्वास्थ्य चौकि सानोश्री, महिनावारी व्यवस्थापन समूह, नेपाल रेडक्रस लगायतका चार वटा स्टल रहेकोमा गुराँस माध्यमिक विद्यालयले विद्यालयमा विज्ञान तथा प्रविधिको विषयमा जानकारी गराएका थिए । स्वास्थ्य चौकि सानोश्रीले स्वास्थ्य सम्बन्धि जानकारी गराएको थियो भने महिनावारी व्यवस्थापन समूहले महिनावारी भएको बेलामा गर्नुपर्ने व्यवस्थापन लगायतका विषयमा जानकारी दिनुका साथै नेपाल रेडक्रसको उपशाखाले आकस्मिक विपत् जोखिमको बारेमा जानकारी गराइएको थियो ।
विभिन्न साझेदारहरुसंगको सहकार्यमा गेरुवा ग्रामिण जागरण संघले विभिन्न किसिमका कार्यहरु पालिका स्तरमा गर्दै आइरहेको र गुराँस माध्यमिक विद्यालयमा शौचालय निर्माण, महिनावारी कक्षको व्यवस्थापन, विद्यार्थीहरुको लागि किशोर–किशोरीमैत्री सूचना कक्ष स्थापना लगायतका कार्यहरुसंगै विभिन्न समयमा अतिरिक्त क्रियाकलापहरु समेत गर्दै अइरहेको छ । गुराँस माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव पौडेलका अनुसार विद्यार्थीहरुमा साझेदार संस्थाहरुले सञ्चालन गर्ने परियोजना र कार्यक्रमहरुले सकारात्मक प्रभाव पारेको छ । शिक्षाको गुणस्तर बृद्दिमा परियोजनाहरुको उल्लेखनिय भुमिका निर्वाह गरेको समेत प्रधानाध्यापक पौडेलले बताउनुभयो ।
मेलामा विभिन्न सांस्कृतिक नाच, किशोर–किशोरी तथा प्रजनन् स्वास्थ्य र अधिकार परियोजना अन्तरगत जनचेतनामुलक नाटक प्रदर्शन गरिएको थियो । समाजमा अहिले पनि कुरिती, विभिन्न संस्कार र रुढिबादी परम्परा विद्यमान रहेकोले पहिलो पटक महिनावारी हुँदा घरभन्दा टाढा छाउगोठमा राख्ने परम्परा तथा परिवारका दाजुभाईले देख्न नहुने जस्ता अन्धविश्वासका कारण महिलाहरुले भोग्नुपर्ने समस्याको चित्रण गर्दै नाटक कोपिला प्रदर्शन गरिएको गुराँस माध्यमिक विद्यालयका शिक्षक रामबहादुर बोगटप्ले जानकारी दिनुभयो । खराब रितिरिवाजका कारण नारीहरुले भोग्नुपरेका समस्या र बलात्कृत हुदाँको पिडालाई नाटकद्वारा प्रस्तुत गरिएको थियो ।
यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि मेलामा मधुवन नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय स्तरीय चीत्रकला प्रतियोगिता समेत सम्पन्न भएको छ । सामुदायिक विद्यालय स्तरीय चीत्रकला प्रतियोगितामा मधुवन नगरपालिकाका ७ वटा माध्यमिक विद्यालयहरुले सहभागीता जनाएका थिए । चीत्रकला प्रतियोगितामा सहभागी त्रिभुवन माध्यमिक विद्यालय सुर्यपटुवाका रुपेश चौधरी प्रथम हुनुभयो ।
गुराँस माध्यमिक विद्यालय सानोश्रीकी शुसिला श्रेष्ठ द्वितिय, नेपाल राष्ट्रिय माध्यामिक विद्यालय धनौराकी सुमा चौधरी तृतिय तथा भृकुटी माध्यमिक विद्यालय तारातालकी उपिसा थारु चौथो हुनभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मधुवन नगरपालिकाकी नगर उप–प्रमुख अनिता चौधरीले विद्यार्थीहरुको रुची, चाहना र आवश्यकता बुझेर शिक्षालाई परिस्कृत गर्न सके मात्र विद्यार्थीहरुको शैक्षिकस्तर परिवर्तन हुने र भविष्य उज्जवल हुने बताउनुभयो ।
अपाङ्गतामैत्री शौचालय हस्तान्तरण
प्लान इन्टरनेशनल नेपाल र गेरुवा ग्रमिण जागरण संघ बर्दियाको संयुक्त साझेदारीमा कोरिया अन्र्तराष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक सहयोगमा सञ्चालित किशोर–किशोरी यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सुधार परियोजना अन्तरगत गुराँस माध्यमिक विद्यालयलाई अपाङ्गतामैत्री शौचालय हस्तान्तरण गरिएको छ । २९ लाख ५८ हजार ६४३ रुपैयाँको लागतमा निर्माण गरिएको अपाङ्गतामैत्री दुईवटा शौचालय विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
आयोजित कार्यक्रमकी प्रमुख अथिती रहनु भएकी मधुवन नगरपालिका नगर उप–प्रमुख अनिता चौधरी, साझेदार संस्थाका प्रतिनिधी लगायतको उपस्थितीमा नवनिर्मित शौचालयको अनुगमन गरि विद्यालयलाई हस्तान्तरण गरिएको गेरुवा ग्रमिण जागरण संघका ओभरसियर बिर्ख बहादुर रावलले जानकारी दिनुभयो । भदौ २९ गते शुक्रबार बाल दिवसको अवसरमा किशोर–किशोरी यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सुधार परियोजना अन्तरगत मेला सञ्चालन भएको हो ।