onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बारबर्दिया : बालविवाह न्यूनीकरण परियोजनाको संयुक्त अनुगमन

Sambad ADD long

भुरीगाउँ, बर्दिया : बारबर्दिया नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजना संचालन भएका विद्यालयहरुमा अनुगमन गरिएको छ । प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिस्टता समूह (बि-ग्रुप) बाँकेको साझेदारी तथा बारबर्दिया नगरपालिकाको समन्वयमामा संचालित बालविवाह न्यूनीकरण परियोजना अन्तरगतका कार्यक्रम संचालन भएका विद्यालयहरुमा संयुक्त अनुगमन गरिएको हो ।

बारबर्दिया नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजना संचालन भएका नेपाल राष्ट्रिय आधारभूत विद्यालय, तर्कापुर र बाल बिद्या आधारभूत विद्यालय, सिम्रहवामा जनप्रतिनिधि, नगरपालिकाको विषयगत शाखाका प्रमुख, साझेदार संस्थाका प्रतिनिधि र कर्मचारीहरूको संयुक्त टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा परियोजना मार्फत् विद्यालयमा संचालन भएका कार्यक्रम तथा कार्यक्रमको उपलब्धिको विषयमा छलफल समेत गरिएको बि-ग्रुप बाँकेका प्राविधिक संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।

बालविवाह न्यूनीकरण परियोजना अन्तरगतका कार्यक्रम सफल बनाउन र दीगो रुपमा कार्यान्वयन गर्न विद्यालय तहमा आचारसंहिता र बाल संरक्षण निति बनाएर लागू गरिएको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक ललित सापकोटाले बताउनुभयो । निति, नियम तथा आचारसंहिताको विषयमा विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक समितिका सदस्यहरुलाई जानकारी गराएर प्रभावकारी कार्यान्वयन गरिएको समेत प्रधानाध्यापक सापकोटाले जानकारी दिनुभयो ।

विद्यालयमा बालबालिकाहरूको समस्या सुन्नका लागि फोकल शिक्षकको व्यवस्था गरिएको बताउँदै गुनासो पेटिकाको समेत व्यवस्था गरिएको प्रधानाध्यापक सापकोटाले जानकारी दिनुभयो । गुनासो पेटिका मार्फत् प्राप्त हुने गुनासोहरुलाई अभिलेखिकरण गरि सुनुवाइको व्यवस्था गर्ने गरिएको छ ।

परियोजनाले विद्यालय छाड्न सक्ने र बालविवाहको जोखिममा रहेका बालबालिकाहरुको लागि अतिरिक्त कक्षा संचालन गर्ने गरेको बाल विद्या आधारभूत विद्यालयका प्रधानाध्यापकले जानकारी दिनुभयो । यसबाट सिकाइस्तर न्यून भएका विद्यार्थीहरुको सिकाइमा समेत वृद्धि भएको उहाँले बताउनुभयो ।

अनुगमनका क्रममा बारबर्दिया नगरपालिकाकी नगर उपप्रमुख रत्ना कुमारी पाण्डेले साझेदार संस्थाहरुले संचालन गरेका परियोजना अन्तरगतका कार्यक्रमहरुले पालिकालाई समृद्ध बनाउन सहयोग पुगेको बताउनुभयो । परियोजनाबाट विद्यालयमा आचारसंहिता निर्माण, बाल संरक्षण निति, लैंगिक मैत्री शिक्षण सिकाइ, सुरक्षित विद्यालयका सुचकले निर्देशन गरेका हरेक पक्षलाई विद्यालयले कार्यान्वयनमा ल्याउने प्रयास गरेको उपप्रमुख पाण्डेले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.