बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका ९ बाट भ्रमणमा गएकाे बस बाँकेको शमशेरगन्ज नजिक शुक्रबार राति दुर्घटना हुँदा ७ जना र मधुवन नगरपालिकामा पाटे बाघ आक्रमणबाट शुक्रबार दिउँसो एक जना गरि एकैदिन बर्दियाका ८ जनाकाे मृत्यु भएकोमा दुख व्यक्त गर्दै लुम्बिनी प्रदेश सांसद तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले शाेक वक्तव्य प्रकाशित गर्नुभएको छ ।
पाटे बाघको आक्रमणबाट मधुवन नगरपालिकाका १ जना र बस दुर्घटनामा ठाकुरबाबा नगरपालिकाका ७ जना गरि बर्दियामा एकै दिन ८ जना दिवंगत हुनुभएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तब्ध परिवारजनमा समवेदना प्रकट गर्दै उपचारार्थ घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै मृतकका परिवारलाई उचित राहत तथा घाइतेहरुको उपचारका लागि सम्पुर्ण खर्च लुम्बिनी प्रदेश सरकारबाट व्यवस्था गर्नका लागि लुम्बिनी प्रदेश सांसद जन्मजय तिमिल्सिनाले शाेक वक्तव्य प्रकाशित गर्नुभएको सांसद तिमिल्सिनाका स्वकीय सचिव यमराज काेइरालाले जानकारी दिनुभयो ।
यस्तै ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले आफ्नो नगरपालिकाबाट भ्रमणका लागि दाङ गएकाे बेतहनी सामुदायिक वन उपभोक्ता समुहकाे टाेली चढेको रिजर्भ बस शुक्रबार राति बाँकेको शमशेरगन्ज नजिक दुर्घटना हुँदा ७ जना दिवंगत हुनुभएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तब्ध परिवारजनमा समवेदना प्रकट गर्दै उपचारार्थ घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासहित शाेक वक्तव्य प्रकाशित गर्नुभएकाे छ ।
बर्दियाकाे ठाकुरबाबा नगरपालिका ९ ठाकुरद्वाराबाट भ्रमणमा गएको बस पुर्व पश्चिम राजमार्गमा पर्ने बाँकेको शमशेरगन्ज नजिक शुक्रबार राति करिव ९ बजेतिर राेकि राखेकाे ट्रकमा ठाेक्किएर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको थियाे । दुर्घटनामा २९ जना घाइते भएका थिए ।
बर्दिया ठाकुरबाबा नगरपालिका ९ ठाकुरद्वाराकाे बेतहनी सामुदायिक वन उपभोक्ता समुहकाे टाेली दाङ भ्रमणबाट फर्किदै गर्दा शमशेरगन्ज नजिक राजमार्गमा राेकि राखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ना ७ ख २३२१ नम्बरको बस ठाेक्किएर दुर्घटना भएको थियाे । प्रहरीका अनुसार दुर्घटनामा एउटै वडाका ५ जना र चालक, सहचालकसहित ७ जनाकाे ज्यान गएको हाे ।
दुर्घटनामा ज्यान गुमाउनेहरुमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का ५० वर्षिय काशिराम थारु, ५५ वर्षिया कस्तुरी थापा, ५० वर्षिया रुपा परियार, ४० वर्षिय जयन्ती थारु, ६५ वर्षिय साँधुराम थारु रहेका छन् ।
यसैगरी ठाकुरबाबा नगरपालिका ८ का बस चालक ४५ वर्षिय जुग बहादुर चन्द र करिव ३५ वर्षिय बसका स्टाफ पुरुषको ज्यान गएको छ उहाँको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
घाइते २९ जनाकाे नेपालगन्ज मेडिकल कलेज काेहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये २ जनाकाे अवस्था गम्भीर छ ।
पुर्व पश्चिम राजमार्गमा पर्ने बाँकेकाे राप्तीसाेनारी गाउँपालिका ८ शमशेरगन्ज नजिक राजमार्गमा राेकिराखेकाे ट्रकमा बस ठाेक्किदा दुर्घटना हुँदा बसमा सवार घाइतेलाई तत्काल उद्दार गरि अस्पताल लगिएको थियाे । मृतक सबैकाे मेडिकल कलेज पुर्याए लगत्तै मुत्यु भएकाे प्रहरीले जनाएको छ ।
बस भित्रै च्यापिएका केहि यात्रुलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बसका केही भाग तत्काल काटेर उद्दार गरि मेडिकल कलेज पुर्याएको थियाे ।