मानिस, जीवजन्तु, वनस्पति, हावा, पानी, किटपतङ्ग प्रकृतीका हामी सन्तान
धर्ती माताले हामी सबैलाई दिउन वरदान
यो साझा धर्तीमा हामीलाइ पनि बाँच्न देऊ भनि गिद्धको हार्दिक आह्वान !
प्रकृतीका सन्तती हामी जटायु हो हाम्रो नाम, हामीलाइ जीवन अस्तित्व दिनु मानव हो तिम्रो काम
मानव तिमी हाम्रा अविनाशी तिमी नै रक्षक, जानि नजानी कहिल्लै तिमी नबन्नु हाम्रो भक्षक
मानिस, जीवजन्तु, वनस्पति, हावा, पानी, किटपतङ्ग प्रकृतीका हामी सन्तान
धर्ती माताले हामी सबैलाई दिउन वरदान
यो साझा धर्तीमा हामीलाइ पनि बाँच्न देऊ भनि गिद्धको हार्दिक आह्वान !!
गाईबस्तु जोगाउन प्रयोग नगर डाइक्लोफेनाक, डाइक्लोफेनाक प्रयोगले त काट्छ मानवको नाक
बरु सक्छौ भने प्रयोग गर मेलोक्सिक्याम यसैमा छ तिम्रो नाम र दाम
मानिस, जीबजन्तु, बनस्पति, हावा, पानी, किटपतङ्ग प्रकृतीका हामी सन्तान
धर्ती माताले हामी सबैलाई दिउन वरदान
यो साझा धर्तीमा हामीलाइ पनि बाँच्न देऊ भनि गिद्धको हार्दिक आह्वान !!
मानव तिमी देऊ हामीलाइ जीवन अस्तित्व, हामी दिन्छौं स्वच्छ, स्वस्थ वातावरण
आफु मात्रै बाँच्न खोज्ने कस्तो तिम्रो आचरण
मानिस, जीवजन्तु, वनस्पति, हावा, पानी, किटपतङ्ग प्रकृतीका हामी सन्तान
धर्ती माताले हामी सबैलाई दिउन वरदान
यो साझा धर्तीमा हामीलाइ पनि बाँच्न देऊ भनि गिद्धको हार्दिक आह्वान !!!
डाइक्नोफेनाक क्षती हाम्रो मेलोक्सिक्याम हो जीवन गति
ध्यान दिई सुन सबै दुनिया रैती
मानिस, जीवजन्तु, वनस्पति, हावा, पानी, किटपतङ्ग प्रकृतीका हामी सन्तान
धर्ती माताले हामी सबैलाई दिउन वरदान
हामी गिद्धको विनाश हो मानिसको प्रकृती र संस्कृतीको हरण
गिद्ध संरक्षण हो मानव संस्कृती र प्रकृतीको संरक्षण
यो साझा धर्तीमा हामीलाइ पनि बाँच्न देऊ भनि गिद्धको हार्दिक आह्वान, हार्दिक आह्वान !!!
हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो साता गिद्ध सचेतना दिवस मनाईन्छ । भनिन्छ, हावा, पानी र जमिनको समिश्रणमा बिधाताले अचम्मको सृष्टि श्रृजना गरेका छन् । यो सृष्टि श्रृजनाको अड्कल सम्बन्धि हाम्रो धर्मशास्त्र तथा जनमानसमा पनि बिबिध किबंदन्दिहरु रहेको पाइन्छ । त्यसैगरि आधुनिक बिज्ञान, अनुसन्धान, खोज र अध्ययनहरुले पनि आफ्नै गहकिला तर्कहरु प्रस्तुत गरेका छन् ।
जे भए पनि एक मात्र जीवित ग्रह पृथ्बी मानिस लगायत करोडौं फरक प्रजातीका जीबजन्तुहरुको साझा घर हो । आधुनिक बिज्ञानको बर्णननुसार हावा, पानी, वर्षा, सूर्यको प्रकाश, तापक्रम र वायुमण्डलिय आद्रताको समष्तिगत बनावटक नै सृष्टि हो । जीवको जीवनमा यि विबिध भौतीक तत्वहरुको साथै प्रकृती मै बिद्यमान ९३ वटा रासायनिक तत्वहरुको पनि उत्तिकै महत्वपुर्ण भूमिका हुने गर्दछ । पृथ्वीमा ८७ लाख फरक प्रजातीका जीवहरु हुन सक्ने अनुमान गर्दछ आजको बिज्ञानले । जसमध्ये हालसम्म झण्डै १० लाख ५० हजार प्रजातीको मात्र बैज्ञानिक बर्गिकरण गरिएको पाइन्छ, बिबिध कारणवश हरेक १ दिनमा झण्डै १५० प्रजातीका जीवहरु उप्रान्त कहिलै नफर्किने गरि यो पृथ्वीबाट लोप भएर जान्छन् । प्रकृतीको क्रम विकास एक निरन्तर गतिशिल प्रक्रिया हो । कुनै एक ब्यक्ति, बिरुवा, जनावर वा जीव जन्मिनु, वयस्क हुनु र अन्ततः मृत्यु हुनु पनि एक सामान्य प्रक्रिया मानिन्छ । तर बिज्ञानले अड्कल गरेका ती ५० लाख भन्दा बढी फरक प्रजाती मध्ये कुनै एक प्रजातीकै लोप हुनु यो सारा सृष्ट्किै लागि एक अपूरणिय क्षति हो । किन भने यहाँ रहेका चाहे कुरुप देखिने एक निर्जीव बस्तु होस् या खतरनाक मानिने सजीव प्राणी होस् वातावरणिय रुपमा एक अर्काका परिपुरक नै मानिन्छन् ।
पारिस्थकीय प्रणालीमा चाहे जानलेवा बिषालु नागराज होस् चाहे बाली परागसेचन गराउने भमरा होस् आ-आफनो ठाँउमा उत्तिकै महत्वपुर्ण मानिन्छन् । हामी सुन्छौं, देख्छौं, पढ्छौं, र अनुभव गछौं ”परिवर्तन” परिवर्तन हरेक बस्तु र पद्धार्थमा । परिवर्तनको सबल र दुर्बल दुबै पक्षहरु हुन सक्छन् । यो अदभुत र बिशाल पृथ्बी जुन मानव लगायत लाखौं प्रजातीका जीवहरुको सुन्दर र मनोरम साझा घर हो, र मानवकै अड्कल अनुसार यहाँ एउटा सियोको टुप्पामा १३ लाख वटासम्म अटन सक्ने जस्ता महाशुक्ष्म जीवहरु देखि १३० वटा हात्ती बराबर हुन सक्ने एउटै ह्वेल जस्ता महा बिशाल जीवहरु पनि पाइन्छन् । तर यहाँ यस्को बावजुद मध्यम बर्गिय यो मानव प्रजाती आफुलाइ पृथ्वीकै सर्बश्रेष्ठ र चेतनशिल प्राणी भएको दाबी गर्दछ । हुन पनि हो आज मानवले आफनो गहन अध्ययन र खोजले उक्त शुक्ष्म होस् या बिशाल प्रणालीलाइ सजिलै आफनो नियन्त्रणमा लिन सक्छ । अथवा मानिसद्धारा प्राणी बिशेष मात्रै नभएर सारा पारिस्थीकिय प्रणाी नै प्रभावित भएको देखिन्छ । कुनै प्रजाती लोप हुनु वा अस्तित्वमा रहनुमा प्राकृतिक प्रक्रियाको साथै मानविय प्रभाव दुबै कारणहरु पर्दछन् ।
आजको यो पृथ्वीमा मानिसलाइ बिधाताले दोश्रो संचालकको रुपमा खटाइएको भन्दा अतिशयुक्ति नहोला, मानिसले आफना गल्तिले ठुलाठुला प्राकृतीक प्रकोपहरु निम्त्याउछ, जस्को शिकार आफु लगायत सारा पृथ्बी र पृथ्वीबासीलाइ बनाउँछ, यस्को समाधानको उपाय खोज्न थाल्दछ । जबकि यो पहिने नै बिलम्ब भइसकेको हुन्छ र मानिसलाइ उक्त गल्तिको भागेदारी बन्नु र प्रायश्चित्त गर्नु बाहेक अरु उपाय नै हुदैन । तसर्थ हरेक काम थाल्न पूर्व नै बिशेष अध्ययन र सावधानीको आवश्यकता देखिन्छ । प्रसंग छ, प्रकृतीको कुचीकारको संज्ञाले चिनिने चरा जटायु “गिद्ध” को संरक्षण दिवस बारे ।
“15th International Vulture Awareness day Sep 5th” अर्थात १५ औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवश । गिद्ध बिना सारा वातावरणमा नै नकरात्मक असर पर्ने भएकोले र यो महान कार्य कुनै ब्यक्ति बिशेष वा संस्था मात्रले गरेर नहुने भएकोले यसलाई बिश्वब्यापी अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवशको रुपमा मनाउन थालिएको हो ।
क्रम विकासको लाखौं बर्षको उत्पादन, आकाशका अभिनेता, प्रकृतीकै सबैभन्दा शक्तिशाली प्राकृतीक बिच्छेदक, खाद्य श्रृङलाको महत्वपुर्ण सदस्य, बिबिध संस्कृती र परम्पराका धरोहर अति शंकटापन्न, गिद्धहरु आज मानिससंग आफनो अस्तित्वको लागि युद्ध गर्दै र पराजीत हुदैछन । सन् १९८० को दशकमा भारत, नेपाल र पाकिस्तानमा मात्रै ८ करोड ५० लाखको संख्यामा पाइने गिद्ध जुन बिश्वकै सबैभन्दा ठुलो संख्या थियो, आज ९९.९ प्रतिशतले विनाश भएका छन् । संसारमा २३ प्रजातीका गिद्धहरु एन्टार्कटीका र अस्ट्रलिया बाहेक सबै तीर पाइन्छन् । गिद्धहरुमा मानिस भन्दा ८ गुणा बढी देख्ने शक्ति हुन्छ । एशिया, अफ्रिका र युरोपमा पाइने गिद्धहरुलाइ पुरानो संसारको गिद्धहरु भनिन्छ र यि गिद्धले आफ्नो खानालाइ देखेर पत्ता लगाउँछन् । अमेरिकामा पाइने गिद्धहरुलाई नयाँ संसारका गिद्धहरु भनिन्छ, र यि गिद्धहरुले आफ्नो खाना सुंघेर पत्ता लगाउँछन् । नेपाल लगायत दक्षिण एशियामा ९ प्रजातीका गिद्धहरु पाइन्छन् । सानो खैरो गिद्ध, डंगर गिद्ध, सुन गिद्ध, सेतोे गिद्ध, राज गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध, हाडफोर गिद्ध, लामो ठुँडे गिद्ध गरि नेपालमा पाइने ९ प्रजातीका गिद्धहरु मध्ये डंगर गिद्ध, सुन गिद्ध, सानो खैरो गरि ३ प्रजातीका गिद्धहरु अति संकटापन्न प्रजातीमा पर्दछन् ।
गिद्धलाइ धर्मशास्त्रनुसार शनि देवताको बाहनको रुपमा लिईन्छ, दक्षिण अफ्रिकामा गिद्धलाई पवित्र प्रेमको प्रतीकको रुपमा लिईन्छ, त्यसैगरि रामायणमा सितालाई रावणले हरण गर्दा रावणसंग लडेर सितालाई बचाउन खोज्ने महावीर जटायु पनि यि गिद्ध नै मानिन्छन् । गिद्ध अत्यन्तै हानिकारक रहित पंक्षी हो । यहाँसम्म की गिद्धले आफनो आहारा पनि आफैले मार्दैन, खान्छ त केवल अन्य जनावर अथवा माध्यमद्धारा मारिएका जीवको सिनो मात्र खान्छ । पास्थिकिय प्रणालीको सबैभन्दा महत्वपुर्ण सदस्य गिद्धको यसरी अचानक र अतिशीघ्र नाश हुनु सारा प्रकृतीकै लागि एक खतरनाक संकेतको रुपमा देखियो र चरा संरक्षण सम्बन्धि काम गर्ने बिबिध संस्था तथा ब्यक्तिहरुद्धारा खोज र अनुसन्धान गर्न थालियो । कोहिले खानाको कमिले त कोहिले बासस्थानको विनाशले गिद्धहरुको संख्यामा कमि आएको जस्ता बिबिध अनुमान गरे । तर अन्ततः पशु पिडा नाशक तथा सुन्निएको उपचारमा प्रयोग गरिने डाइक्लोफेनाक औषधी भएको तीतो सत्य पत्ता लाग्यो ।
गिद्ध बिनाशको कारण त पत्ता लाग्यो, तर अब कुरो रह्यो त्यो खतरनाक औषधीको पूर्ण निर्मुलिकरण र यसको पुनस्थापनामा अर्को बैकल्पिक औषधीको खोजी र यि दुबैको पुर्ण कार्यन्वयन । किनकी डाइक्लोफेनाक यति बिशाल र ब्यापक थियो, कि यस्को मुल्याङकन गर्दा बार्षिक भारतिय झण्डै २० करोड रुपैया बराबरको भयो । बैकल्पिक औषधी मेलोक्सिक्यामको पनि उत्पादन गरीएपछि अब गिद्ध संरक्षकहरुको सामु डाइक्लोफेनाक (Diclofenac)को प्रतिबन्ध अथवा रोकावट र मेलोक्सिक्याम (Meloxicam)को लोकप्रियता प्रयोगको वकालतको चुनौती रह्यो ।
यसरी मानव लगायत लाखौं प्रजातीका जन्तु रहने वातावरणमा रहेका विभिन्न हानीकारक किटाणुहरु भएको सडेगलेका मासु खाई गिद्धले हाम्रो वातावरण स्वच्छ र सफा राख्न सहयोग गर्दछन् । त्यसैले गिद्धको उपस्थिती हुनु भनेको वातावरण स्वच्छ हुनु हो । हामी पृथ्वीको उत्पत्ति र यसको इतिहासको कुरा पढ्छौं । र बिबिध घत लाग्दा तथ्यहरु सुनि आश्चर्यचकित पर्दछौं । तर जहाँसम्म कुरो छ, मानव निर्मित कारणले गिद्ध विनाशको । यो विशुद्ध रुपमा मानिसले आफनो चौपाया उपचारको क्रममा भएको कारणले जुन प्रकृतीका सबैभन्दा शक्तिशाली बिच्छेदक गिद्धहररुको अतिशिघ्र विनाश बन्यो । मानव समुदायमा बनेका हरेक देशका कानुन अनुसार अपराधीले सजाय पाउनै पर्छ भन्ने हुन्छ । अब कुरो रहयो निर्दोष र निमुखा प्रकृतीका कूचीकार गिद्धहरुको जीवन अस्तित्वको वकालत र अपराधी यि मानवलाई सजायका कुरो……। सायद पृथ्वी संचालन प्रणाली पुर्ण निष्पक्ष भएको भए मानिसले आफनो भयंकर गल्तिको सजाय भोग्नै पथ्र्यो तर यहां के नै पुर्ण निष्पक्ष र भेदभाव रहित छ र ? जे भए पनि आफु सर्वश्रेष्ठ प्राणी र आफनो गल्तिको कारणले पनि मानिसले यि गिद्धहरुको पुनःर्उत्थान र बृद्धिको लागि हर संभव प्रयास गर्नै पर्छ ।
मानिसले आफनो यो भयंकर गल्तिको प्रायश्चित्त नगरेको पनि होइन । किनकी सन् २००६ मा भेटनरीमा प्रयोग हुने डाइक्लोफेनाक औषधी गिद्धको लागि खतरनाक हुने प्रमाणित भए लगत्तै डाइक्लोफेनाक कानुनी रुपमै पुर्ण तया प्रतिबन्धित गरायो, अब यसरी डाइकलोफेनाक नै गिद्ध बिनाशको प्रमुख कारण भएपछि डाइकलोफेनाक प्रयोग बन्द गर्न नेपाल पंक्षी संरक्षण संघको अगुवाइ, नेपाल सरकारको संयोजकत्वमा तथा बिबिध राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ संस्थाको समन्वयमा गिद्धको प्रमुख बासस्थान तथा डाइक्लोफेनाक आयात निर्यातको रुपमा चिनिएका तराइका २२ वटा जिल्लाहरुमा जिल्ला स्तरिय डाइक्लोफेनाक अनुगमन समिती गठन गरि विविध कार्यक्रम संचालनपछि उक्त जिल्लाहरुमा डाइक्लोफेनाक पुर्णरुपमा नपाइए पछि ति जिल्लाहरुलाइ डाइक्लोफेनाक मुक्त क्षेत्र भनि घोषणा गरियो । विभिन्न किसिमका जनचेतनाका कार्यक्रमहरु, लेख रचनाहरु प्रकाशन गरियो । तर यस्को बावजुद बिगतको तुलनामा प्राकृतीक रुपमा गिद्धको आहार कमिको महसुश भएकोले गिद्धलाई सुलभ र डाइक्लोफेनाक रहित सुरक्षित खाना उपलब्ध गराउनका लागि समुदायबाट संचालित नवलपरासीको पिठौलीमा, लुम्बिनीको गैंडहवामा, कास्कीको घासचोकमा, दाङ्गको लालमटिया र बिजौरीमा, र कैलालीको खुटीयामा र यसैगरि गिद्ध प्रजनन् केन्द्र चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको छ ।
नेपाल सरकारले सन् २००९ देखि २०१३ मा गिद्ध कार्य योजना बनायो र यसलाई कार्यन्वयन गराउन बिबिध कार्यक्रमहरु संचालन गरायो । यि बिबिध जनचेतना, वकालतको बावजुद पनि कसैले पशु उपचारका लागि डाइक्लोफेनाक बिक्री बितरण आयात निर्यात वा भण्डारण गरिएको पाइएमा औषधी ऐन २०३५ बमोजिम रु. ५ हजार वा ३ बर्ष कैद वा दुबै सजाय हुनसक्ने कानुनी प्रावधान छ । जे भएपनि गिद्ध पनि यसै प्रकृतीका महत्वपुर्ण सदस्य हुन् । गिद्ध बिनाको प्रकृती साच्चिकै अपुरो, अधुरो र अस्वस्थ पक्कै रहनेछ । अथवा मानवको जीवनमा प्रत्यक्ष प्रतिकुल असर पर्नेछ । साच्चै नै भन्ने हो भने भविष्यमा गएर गिद्ध एउटा किंबदन्ति तथा एकादेशमा गिद्ध भन्ने चरा थियो रे भन्ने भनाइ मात्र रहनेछ । तसर्थ तपाई हामी सबै आजैदेखि यि निर्दोष गिद्धहरुको जीवन अस्तित्वको लागि आआफनो ठाउँबाट भरमग्दुर प्रयास गर्नै पर्छ । अन्यथा वातावरणमा प्रतिकुल असर सहन, प्रकृतीका सुन्दर रचना गिद्धलाइ गुमाउन र भावी सन्ततीबाट गाली खानु बाहेक अन्य उपाय रहने छैन । त्यसैले गिद्धहरुलाइ जीवन अस्तित्व दिन आजै देखि डाइक्लोफेनाक बन्द मेलोक्सिक्याम प्रयोग र गिद्धका बासस्थान सिमल, साज, लगायत बनजंगलको संरक्षण, आफ्ना मरेका गाइवस्तुको सिनो समुदायलाइ असर नपर्ने गरेर गिद्धले सजिलै भेटन सक्ने खुल्ला ठाउँमा लगि फाली दिउँ ।
बर्दियामा गिद्ध लगायत विभिन्न चरा संरक्षण सम्बन्धि काम र समन्वय गर्दै आईरहेको बर्दिया प्रकृती संरक्षण क्लबले हरेक वर्ष विभिन्न संघ संस्थाहरुसंग समन्वय गर्दै गिद्ध लगायत विभिन्न प्रजातीका चरा संरक्षण गर्न सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । अहिले बर्दियाको सन्दर्भमा गिद्ध संरक्षण सम्बन्धि समन्वयको कार्य बर्दिया प्रकृती संरक्षण क्लब र नेपाल पंक्षी संरक्षण संघ तथा राष्ट्रिय प्रकृती संरक्षण कोषको आर्थिक सहयोगमा गिद्ध संरक्षणको काम भईरहेको छ । बिगत केहि वर्षको तुलनामा हाल गिद्धको संख्या क्रमिक रुपमा बृद्धि भइरहेको बर्दिया प्रकृती संरक्षण क्लबले जनाएको छ । त्यसैले तपाई हाम्रो सानो प्रयासले प्रकृतीका कुचीकार गिद्धले पुर्नजीवन पाउन सक्छन् । याद राखौँ गिद्ध तपाई हाम्रै कारणले बिनाश हुँदैछन् र यदि तपाई हामी सबै मिलेर काम गर्ने हो भने यो निकै सरल, सहज र नितान्त आवश्यक काम हो । त्यसैले तपाईँ हामी सबै मिली गिद्ध लगायत चरा संरक्षणमा जुटौँ ।
(बर्दिया प्रकृती संरक्षण क्लबका सचिव तथा वरिष्ट प्रकृती पथ प्रर्दशक राजन चौधरीको सहयोगमा)