बर्दिया : गिद्ध संरक्षणका लागि डाइक्लाफेनाक औषधिको प्रयोग पूर्णरुपमा प्रतिबन्ध गर्न आग्रह गरिएको छ । गिद्ध मांशहारी भए पनि आफैँले शिकार भने गर्दैन र मरेको सिनो खाएर प्रकृतिलाई सफा राख्न सहयोग पुर्याउने हुनाले गिद्धलाई प्रकृतिको कुचिकार भनिएको चरा विज्ञ रामबहादुर शाहीले बताउनुभयो ।
गिद्धले एक वर्षमा झण्डै एक हजार एक सय डलर बराबरको फोहर अर्थात नेपाली रुपैँया एक लाख ४५ हजार दुई सय बरारबरको फोहर खाएर व्यवस्थापन गर्ने गरेको उहाँले बताउनुभयो । पशु चौपायको उपचारमा डाइक्लोफेनाक सोडियमको प्रयोगले गिद्धहरुको विनास हुने भएकाले डाइक्लाफेनाक प्रयोग पूर्णरुपमा प्रतिबन्ध गरी गिद्ध तथा वातावरणलाई पूर्ण रुपमा फाइदा पुर्याउनका लागि आग्रह गरिएको छ ।
गिद्धका बासस्थान सिमल, साजलगायत रुखको संरक्षण र मरेका पशुचौपायको सिनो समुदायलाई असर नपर्ने गरी गिद्धले सजिलै भेट्न सक्ने खुला ठाँउमा फाल्न बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष एवम् चरा विज्ञ शाहीले आग्रह गर्नुभयो । विगतका वर्षको तुलनामा गिद्धको संख्या क्रमिक रुपमा वृद्धि भइरहेको बर्दिया प्रकृति संरक्षण क्लबले जनाएको छ । पछिल्लो समय गिद्ध लोप हुनुमा आहराको कमी, जनचेतनाको कमी र मरेको सिनोमा समेत विषादी प्रयोग गर्नुले गिद्ध संरक्षणमा चुनौती थपिएको छ ।
१५ औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस बर्दियाको ठाकुद्वारामा विविध कार्यक्रम गरी हिजो मनाइएको छ । बर्दिया प्रकृति संरक्षण क्लबको आयोजना तथा नेपाल पक्षी संरक्षण कोष, बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायत विभिन्न संघसंस्थाको आर्थिक सहयोगमा कार्यक्रम गरी मनाइएको हो ।
गिद्ध सचेतना दिवस हरेक वर्ष सेप्टेम्बर पहिलो हप्ता अर्थात भदौ महिनामा मनाइन्छ । गिद्ध सचेतना कार्यक्रममा गिद्धको अवलोकनका क्रममा ४७ प्रजातिका तीन सय चार वटा चरा अवलोकन गरिएको बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष एवम् वरिष्ठ प्रकृति पथ प्रर्दशक चरा विज्ञ शाहीले बताउनुभयो।