onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

लाखेनाचको संरक्षणमा ठाकुरबाबाका नेवार समुदाय सक्रिय बन्दै

"पुस्तान्तरण गर्दै लैजानुपर्ने आवश्यकता छ" : नेवाः देय् दबू नगर सचिव श्रेष्ठ

Sambad ADD long

बगनाहा, बर्दिया : पछिल्लो केही वर्षयता हराउँदै गएको लाखेनाचको संरक्षणमा ठाकुरबाबा नगरपालिकामा बसोबास गर्ने नेवार समुदायले सक्रियता देखाउन थालेका छन् । हराउँदै गएको लाखेनाचको संरक्षणमा नेवाः देय् दबूको ठाकुरबाबा नगर समिति सक्रिए भएको हो । लाखे नेपालभर नचाइने एक मात्र सर्वप्रिय परम्परागत नाच समेत हो ।

जनैपूर्णिमा, कृष्ण जन्माष्टमी तथा तीजका अवसरमा ठाकुरबाबा नगरपालिकाको विभिन्न स्थानहरुमा लाखेनाच देखाउने तयारी गरिएको नेवाः देय् दबू ठाकुरबाबा नगर समितिका अध्यक्ष भोल प्रसाद श्रेष्ठले बताउनुभयो । नेवार समुदायमा विभिन्न प्रकारका नाचहरु नाचिने गरेको र यसरी नाचिने नाचहरु प्राय देवीदेवतासंग जोडिने गरेको उहाँले बताउनुभयो । नेवारको जात र स्थान अनुसार लाखेनाच फरक–फरक तरिकाले नचाइने गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

ढोलक र झ्याम्टाको जिउनै थर्किने आवाजमा डरलाग्दा ठूला अनुहार र झ्याप्प परेको बाक्लो कपाल भएका रातो जामा र लुगा लगाएर घँगलाको आवाज निकाल्दै लाखेनाच नाच्ने गरिन्छ । जनैपूर्णिमाको अवसरमा ठाकुरबाबा नगरपालिकाको बगनाहा बजारमा आज नेवाः देय् दबू, ठाकुरबाबा नगर समितिले लाखेनाच प्रदर्शन गरेको छ । नेवार समुदायको धार्मिक तथा सांस्कृतिक उत्सवमा महत्वपूर्ण मानिने लाखेनाच कलाको संरक्षण र निरन्तरताका लागि पुस्तान्तरण गर्दै लैजानुपर्ने आवश्यकता भएकाले यो वर्षदेखि लाखेनाचको प्रदर्शन गर्न सुरुवात गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

नेपालका मौलिक नाचहरुमध्ये लाखेनाच लोकप्रिय नाचको रुपमा रहे पनि युवापुस्तामा रुचि नहुँदा यो संस्कृति हराउँदै जान थालेकाले आफुहरु यसको संरक्षणमा लागेको नेवाः देय् दबूका ठाकुरबाबा नगर सचिव सौगात श्रेष्ठले बताउनुभयो । जात्रा वा विशेष अवसरमा नेवार समुदायले प्रदर्शन गर्दै आएको लाखेनाच केही वर्षअघिसम्म विभिन्न अवसरमा देख्न पाइन्थ्यो । तर, पछिल्लो समय लाखेनाच देख्न मुस्किल हुन थालेको र युवापुस्ताले यसलाई महत्व नदिँदा संस्कृती हराउँदै गएको श्रेष्ठले बताउनुभयो ।

लाखेनाच नृत्य मात्रै नभई नेवार समुदायको सांस्कृतिक पहिचान र कलात्मक अभिव्यक्तिको मूर्त रुप भएकाले यसको निरन्तरता र संरक्षणमा ध्यान दिइएको सचिव श्रेष्ठले बताउनुभयो । आज बगनाहा बजारमा पहिलो पटक लाखेनाच प्रदर्शन गरिएको जानकारी दिँदै सचिव श्रेष्ठले कृष्ण जन्माष्टमीको अवसरमा भुरीगाउँ बजार तथा तीजको अवसरमा बगनाहा तथा भुरीगाउँ बजारमा लाखेनाच प्रदर्शन गरिने जानकारी दिनुभयो ।


Leave A Reply

Your email address will not be published.