गाउँ सुन्दर शान्त र सफा थियो । गाउँमा सबैजना मिलेर बसेका हुन्थे । रक्सिको कारण लडाई झगडा भएका घटनाहरु गाउँमा सुन्न पर्थेन । केटाकेटी, भर्खर यौवन फक्रिन लागेका युवाहरु गाउँ नजिकैको चौरमा हरेक दिन साँझ ४ बजेपछी जम्मा हुन्थे । चौरमा फुटबल प्रतियोगिताहरु हुन्थे । चौरमा ढिला गरि पुग्नेहरु फुटबल खेल्न पालो पाउँथेनन् ।
गाउँमा हिन्दु परम्परा अनुसार नाग पन्चमी पर्वको दिनदेखि नै हरेक साँझ तिजको गीत गाउन दिदिबहिनीहरु जम्मा हुन्थे । आफ्ना दुख, सुख र बेदना गित मार्फत व्यक्त गर्थे । केटाकेटीहरु गाउँमा जम्मा भएर गुच्चा खेल्थे । हरेक विहान र साँझ नजिकैको जङ्गलमा घाँस दाउरा गर्नेको भिड हुन्थ्यो । बर्खाको समयमा जङ्गलमा पाक्ने जामुन र कुसुमका रुखहरुमा हरेक युवा एकपटक पुगेका नै हुन्थे । जङ्गलमा ठूला–ठूला रुखमा हुने जंगली माहुरीले बनाएको मह गाउँमा आउँथ्यो । हरेक परिवारले पशुपालन संगै खेतिपाती गर्थे । अहिले जस्तो तरकारी र दुधको बजार गाउँमा थिएन । गाउँमा हरेकका घरमा फलेका तरकारी बाढेर खाने प्रचलन थियो । मेलापर्म सामाजिक दायित्व सबैले बहन गर्थे । एक परिवारलाई अफ्ठ्यारो पर्दा अर्को परिवारले टेको लगाउँथे ।
यी सब कुरा अब हराउँदै गए । एकले अर्कालाई कसरी सक्ने कसरी सिध्याउने । कसले कसलाई कसरी कमजोर पार्ने । कसरी खुइल्याउने । प्रतिस्पर्धा चल्न थाल्यो । हरेक १०÷१२ वर्षका कलिला बालबालिका रक्सिको लतमा फस्न थाले । सरकारले घरै पिच्छे रक्सिका पसल दर्ता गरिदिँदा यो समस्याले बिकराल रुप लिन थाल्यो । २० वर्ष पहिला एउटा गाउँमा एउटासम्म रक्सीका पसल थिएनन् । अहिले घर घरमा रक्सीका पसल खुले । एक दुई जनाले रोजगारी त पाए तर त्यसको असर समाजमा दिन प्रतिदिन भुसको आगो झैँ फैलिँदै गइरहेको कसैले पत्तो पाउन सकेनन् ।
मानिसहरू आफूले रक्सी खाएको ठान्छन् तर समाजमा दिनैपिच्छे हुने घटना र उदाहरणले देखाउँछ कि वास्तवमा रक्सीले मानिसलाई खाइरहेको छ । दैनिकजसो अस्पतालमा आउने बिरामीको संख्या बढ्नुमा रक्सीको महत्वपूर्ण योगदान छ ।
२० वर्ष पहिले युवाहरु जम्मा भएर फुटबल खेल्ने चौरहरु अहिले झाडी र बुट्यानले भरिँदै गए । नजिकैका सामुदायिक जङ्गलका फाँटाहरु घना जङ्गलमा परिणत हुन थाले । हरेक दिन जस्तो गाउँमा चितुवा र बाघ प्रवेश गरी घरपालुवा पशु बस्तु मारेका घटना बढ्दै जान थाले । छोराले बाबुलाई मार्ने, ससुराले बुहारी कुट्ने घटना दिनदिनै बढ्न थाले । दाजुभाईमा विभिन्न कटुता पैदा हुन थाल्यो । रक्सी नखाने युवाले साथी पाउन छड्यो । धेरैले अकालमा ज्यान गुमाउन बाध्य भए । रक्सीले विभिन्न भोज भतेरमा समेत सहजै प्रवेश पाउन थाल्यो । महिला हिंसाका घटना दिनदिनै बढ्न थाले । अब मानिसले रक्सी खाने भन्दा धोक्ने संस्कार बढ्न थाल्यो । यसले समाजमा अझ बढी समस्या ल्याउदै गएको देखिन्छ ।
हो रक्सीसेवन कतिपय धार्मिक तथा सामाजिक कार्यसंग जोडिएको छ । कतिपय जातजातिले आफ्ना रितिरिवाज मनाउन रक्सी अनिवार्य छ । तर बजारमा अनियन्त्रीत खुलेका रक्सी पसलको नियमन र व्यवस्थापन गर्न नसके समाजले नराम्रो मुल्य चुकाउनु पर्ने निश्चित छ । मानिसहरू आफूले रक्सी खाएको ठान्छन् तर समाजमा दिनैपिच्छे हुने घटना र उदाहरणले देखाउँछ कि वास्तवमा रक्सीले मानिसलाई खाइरहेको छ । दैनिकजसो अस्पतालमा आउने बिरामीको संख्या बढ्नुमा रक्सीको महत्वपूर्ण योगदान छ ।
रक्सीको अनियन्त्रीत बिक्री रोक्न के गर्न सकिन्छ त ?
समाजमा रक्सीको अनियन्त्रीत बिक्री रोक्न सबैले हातेमालो गर्ने समय भएको छ । टोलटोलमा गठन भएका आमा समूहहरु, टोल सुधार समिति, मानव अधिकारबादी संघसंस्थाहरु समाज सुधारमा गम्भिरतापूर्वक लागिएन भने हाम्रा छोराछोरी पनी रक्सीको कुलतमा फस्ने निश्चित छ । समाजमा दिनदिनै हुने चोरी, डकैती, लुटपाट, वेश्यावृत्ति आत्महत्या लगाएतका घटना निम्ताउन समेत अहिले रक्सीले स्थान लिएको छ ।
सरकारको तर्फबाट बिभिन्न रोजगारीहरु सिर्जना गरेर, बिभिन्न सिपमुलक कार्यक्रम ल्याएर तथा बाबुआमाले आफ्ना सन्तानलाई यथेष्ट समय प्रदान गरेर, समाजमा युवामैत्री वातावरण तयार गरेर, युवाहरुलाई सामाजिक कार्यमा संलग्न गरेर उनिहरुलाई समाज प्रतिको दायित्व बुझाएर तथा टोलटोलमा कला संस्कृतिका कार्यक्रम सञ्चालन गरेमा युवा शक्तिलाई रक्सीको कुलतबाट बचाउन सकिन्छ ।