बर्दिया : चोरी गरेर लुकाई राखेको अवैध काठ बर्दिया प्रहरीले बरामद गरेको छ । चोरी गरेर मकै बारीमा लुकाएर राखिएको काठ प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय ढोढरी र प्रहरी चौकी तारातालबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो मधुवन नगरपालिका-७, गंगाबस्ती स्थित गोपाल मगरको मकै बारीमा लुकाएर राखेको काठ नियन्त्रणमा लिएको हो । लुकाइ राखेको अवस्थामा अन्दाजी ६७ दशमलब ४१ क्युफिटको १४ वटा सालको गोलिया बरामद गरिएको हो । बरामद गरिएको काठको मूल्य अन्दाजी १ लाख ६८ हजार ५२५ रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले बताउनुभयो ।
काठ नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि शनिबार नै सव-डिभिजन वन कार्यालय सानोश्री बर्दियामा बुझाइएको प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिनुभयो ।