onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बबई नदिले बगाउँदा गुलरियामा दुई जना बेपत्ता

Sambad ADD long

बर्दिया : बबई नदिमा आएको बाढीले बगाएर दुई जना बेपत्ता भएका छन् । लगातारको अविरल वर्षाका कारण बबई नदीमा आएको बाढीमा परेर दुई जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेहरुमा गुलरिया नगरपालिका वडा नम्बर १२ भैंसाहीका अन्दाजी ३० वर्षिय बालकृष्ण थारु र वडा नम्बर ८ थपुवा गाउँका अन्दाजी २३ वर्षिय अक्षय थारु रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मल बहादुर बोहोराले जानकारी दिनुभयो । बेपत्ता भएकाहरुको नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी सहितको टोलिले खोजी भई रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

लगातारको वर्षात्ले बर्दियाको धेरै गाउँहरु डुबानमा परेका छन् । शनिबारदेखि परेको अविरल वर्षापछि नदि तथा खोलाहरुमा पानीको सतह बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा बर्दियामा अति भारी वर्षा मापन गरिएको छ । विभागले बर्दियाको रम्भापुरमा २४ घण्टामा २२६.४ मिलिमिटर वर्षा रेकर्ड गरेको छ । यो अति भारी वर्षा हो । यस्तै बर्दियाकै रानी जरुवा नर्सरीमा १७२.८ मिलिमिटर वर्षा मापन भएको छ भने सानो श्रीचेपाङमा १७४.२ मिलिमिटर वर्षा भएको छ । यी दुई ठाउँको वर्षा पनि अति भारी वर्षा नजिक छ ।

बर्दियाका सडक र सम्म परेका ठाउँहरू जलमग्न भइसकेका छन् । स्थानीय खोलामा आएको बाढीले बारबर्दिया नगरपालिकाको वडा नम्बर ८ का सबै गाउँहरू डुबानमा परेका छन् । वडा नन्म्बर ८ का वडाध्यक्ष नरबहादुर चन्दका अनुसार बाढी पसेपछि बिहानैदेखि गाउँ डुबानमा परेको छ । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा डुबान क्षेत्रका स्थानीयहरुलाई उद्दार गरेर स्थानीय युवक माध्यमिक विद्यालय र जनज्योती विद्यालयमा राखिएको उहाँले बताउनुभयो । अहिले डुबान भएका ठाउँहरुको पानी घट्दो क्रममा रहेको भए पनि पानी लगातार परि रहेकाले सतर्कता अपनाइएको वडाअध्यक्ष चन्दले जानकारी दिनुभयो ।

लगातारको अविरल वर्षाका कारण बबई नदीमा पानीको सतह पुनः बढ्न थालेको छ । हिजोदेखि लगातार परेको पानीले बबई नदीमा पानीको सतह बढाएको हो । नदीमा पानीको सतह बढेसंगै नदी तटियक्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बर्दियामा कर्णाली, बबईलगायत स्थानीय साना खोलाहरू पनि रहेका छन् । ती नदी र खोलामा आकस्मिक बाढी आउने भएकाले आसपासका बस्तीलाई सतर्क रहन सरोकारवालाले सूचना जारी गरेका छन् ।

Leave A Reply

Your email address will not be published.