बर्दियामा अति भारी वर्षा, जिल्लाका धेरै ठाउँ डुबानमा
काठमाण्डौ : बर्दियामा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले बर्दियाका विभिन्न ठाउँमा भारी वर्षा भएको जानकारी दिएको हो । विभागले बर्दियाको रम्भापुरमा २४ घण्टामा २२६.४ मिलिमिटर वर्षा रेकर्ड गरेको छ । यो अति भारी वर्षा हो । यस्तै बर्दियाकै रानी जरुवा नर्सरीमा १७२.८ मिलिमिटर वर्षा मापन भएको छ भने सानो श्रीचेपाङमा १७४.२ मिलिमिटर वर्षा भएको छ । यी दुई ठाउँको वर्षा पनि अति भारी वर्षा नजिक छ ।
२४ घण्टामा १४० मिलिमिटर पानी पर्नु नै खतरा मानिन्छ । ५० देखि १०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई ‘भारी वर्षा’, १०० भन्दा बढी तर २०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई ‘धेरै भारी वर्षा’ र २०० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई ‘अति भारी वर्षा’ भएको मानिन्छ । बर्दियाको रम्भापुरमा २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।
अति भारी वर्षा भएकाले बर्दिया बाढीको उच्च जोखिममा परेको छ । बर्दियाका सडक र सम्म परेका ठाउँहरू जलमग्न भइसकेका छन् । स्थानीय खोलामा आएको बाढीले बारबर्दिया नगरपालिकाको वडा नम्बर ८ का सबै गाउँहरू डुबानमा परेका छन् । वडा नन्म्बर ८ का वडाध्यक्ष नरबहादुर चन्दका अनुसार बाढी पसेपछि बिहानैदेखि गाउँ डुबानमा परेको छ । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको वडा अध्यक्ष चन्दले जानकारी दिनुभयो ।
लगातारको अविरल वर्षाका कारण बबई नदीमा पानीको सतह पुनः बढ्न थालेको छ । हिजोदेखि लगातार परेको पानीले बबई नदीमा पानीको सतह बढाएको हो । नदीमा पानीको सतह बढेसंगै नदी तटियक्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बर्दियामा कर्णाली, बबईलगायत स्थानीय साना खोलाहरू पनि रहेका छन् । ती नदी र खोलामा आकस्मिक बाढी आउने भएकाले आसपासका बस्तीलाई सतर्क रहन सरोकारवालाले सूचना जारी गरेका छन् ।
बर्दियासंगै सिन्धुलीको मरिनखोला स्टेशन, मकवानपुरको मकवानपुरगढी, हेटौंडा स्टेशनमा पनि धेरै वर्षा मापन भएको छ । मरिनखोलामा १८१.६, मकवानपुरगढीमा १५५.८ र हेटौंडामा १६७.२ मिलिमिटर वर्षा मापन भएको छ ।