online-aama-surachhya-sandesh

विश्व हात्ती दिवस : बर्दियामा घरपालुवा हात्तीलाई फलफूल खुवाएर मनाइयो

Sambad ADD long

भुरीगाउँ, बर्दिया : आज विश्व हात्ती दिवसको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जकाे हात्ती प्रजनन केन्द्र हात्तिसार ठाकुरद्वारामा रहेका हात्तीलाई मनपर्ने फलफूल खुवाएर विश्व हात्ती दिवस मनाइएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण काेषसंग सहकार्य गरि निकुञ्जको जैविक विविधता तथा वन्यजन्तु संरक्षण अभियनमा जुटेका चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका युवाहरुले आयाेजना गरेकाे विश्व हात्ती दिवसमा हात्तीलाई फलफूल खुवाएर दिवस मनाईएकाे निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत बद्रि विनाेद दाहलले जानकारी दिनुभयो ।

बर्दिया निकुञ्जमा रहेकाे एसियाकै सबैभन्दा ठूलो हात्ती राजगजको सम्झनामा हात्तीसारमा राजस्तम्भ (खमारी) गाडीएको छ । थारु समुदायको परम्परा र हिन्दु धर्म परम्परा अनुसार हात्तीको पूजा गरिन्छ, हात्तीलाई फलफुल खुवाएर दिवस मनाईन्छ चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाका अध्यक्ष हेमन्त आचार्यले भन्नुभयो ।

क्यानडाकि प्याट्रीसिया सिम्स र थाइल्यान्डकि रानी सिराकितको पहलमा झन्डै ११ वर्ष अघि १२ अगस्ट २०१२ देखि हात्ती दिवस शुरुवात भएको बर्दिया राष्ट्रिय निकुञ्जका पुर्व वार्डेन रमेश कुमार थापाले बताउनुभयो ।

विश्व हात्ती दिवस विशेषगरी हात्ती संरक्षणमा लागेका संसारभरिका संघसंस्था, समूह र ब्यक्तिहरु एकसाथ सहभागी भई हात्ती विरुद्धका मुद्दाहरुको बारेमा आवाज उठान गर्ने एउटा मञ्च हो उहाँले भन्नुभयाे ।

निकुञ्जका पुर्व वार्डेन रमेश कुमार थापाले हात्ती संरक्षणकै लागि निकुञ्ज, वन तथा आरक्ष र हात्ती संरक्षण अभियानमा आवद्ध विदेशी संस्थासंग सहकार्य गरि मानव हात्ती संरक्षण एवं सहअस्तित्व कायम राख्नकै लागि उज्यालो नेपाल संस्थाबाट हात्ती प्रभावित क्षेत्र झाँपादेखि कञ्चनपुरसम्म हात्ती मेराे साथि अभियानसमेत चलाउनु भएकाे छ ।

विगत चार वर्षअघिदेखि जंगली हात्ती गाउँबस्ती आएकाे जानकारी साइरन बजाउने, माइकिङ गर्ने, एफ.एम रेडियोबाट तत्काल हात्ती खबर ब्रेकिङ न्युज, माेबाइल एसएमएस तथा फेसवुक ग्रुपबाट जानकारी दिइ निकुञ्जको हात्ती धपाउने टाेली खटाइ मानवीय क्षति हुनबाट राेक्ने अभियान थालिएको उज्यालो नेपालका रमेश थापाले बताउनुभयो ।

बर्दियामा शसस्त्र द्वन्द्वकाल अघि २०५६ सालसम्म बडा दशैँका दिन बेलुका हात्तीसारमा रहेका हात्तीकाे समुहद्वारा सुंगुरको पाठा कुल्चाउने खेल गरिन्थ्यो भने एउटा जिवबाट अर्को जीवको हत्या गरिनु उपयुक्त नभएकाले भन्दै हात्तीबाट सुंगुरको बच्चा कुल्चने परम्परागत खेललाई हटाएर हात्ती फुटबल खेल प्रतियोगिता पनि शुरु भएको थियो तर त्यसपछि पनि वन्यजन्तुलाई दुख नदिने अभिप्रायले हात्ती फुटबल प्रतियोगिता खेल खेलाउन पनि बन्द गरिएको चाेरी सिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यले बताउनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्जमा एशियाकै ठूलो हात्ती (राजागज) भाले हात्ती निकुञ्जबाट हराएको सम्झनामा हात्ती बाँध्ने स्तम्भ (खुमारी) स्थापना गरि हात्ती पूजासंगै विश्व हात्ती दिवस बर्दियामा शुरु भएको हो । हात्ती पृथ्वीको सबैभन्दा ठुलाे स्थलचर प्राणी हो भने शान्तिप्रिय जनावर पनि हो ।

नेपालमा तराई र भित्री मधेसका १९ जिल्लाहरुमा झन्डै २ सयदेखि २ सय २५ को संख्यामा जंगली हात्ती रहेको अनुमान छ । जंगली हात्ती झापाको बाहुनडाँगी, पर्साको ठोरी, बर्दियाको खाता र कर्णाली जैविक मार्ग तथा कंचनपुरको लालझाडी र ब्रह्मदेव जैविक मार्ग लगायतका क्षेत्रबाट नेपाल भारतको सिमाना वारपार गर्ने गरेको पाइन्छ ।

जङ्गली हात्तीको आक्रमणबाट निकुञ्ज वरपर बसोबास गर्ने स्थानीयबासिन्दा आतंकित भएपछि यसलाई कम गर्नका लागि भन्दै बर्दिया निकुञ्ज नजिक हात्तीसार ठाकुरद्वारामा धार्मिक विधि अनुसार झन्डै ८ वर्ष अघि हात्तीको पूजा गरिएको थियाे । बर्दिया निकुञ्ज मुख्यालय ठाकुरद्वाराको हात्ती प्रजनन केन्द्र नजिक हात्तीसार पिकनिक मैदानमा परम्परागत विधि अनुसार थारु तथा अन्य समुदायहरुबाट एसियाकै सबैभन्दा ठुलाे राजागज हात्तीको सम्झनामा हरेक वर्ष हात्ती पूजा गर्ने गरिन्छ ।

हात्ती प्रती सकारात्मक सोँचको विकाससंगै जैविक विविधता संरक्षण पर्यापर्यटन प्रवर्द्धनमा समेत टेवा पुगेको संरक्षणकर्मीकाे भनाइ छ । हात्तीलाई उखु, फलफूल लगायत मन पर्ने फलफूल खुवाएर विश्व हात्ती मनाइने गरिन्छ ।

यस प्रकारका कार्यले पर्यटन प्रवर्द्धन गर्दै संरक्षणमा समेत साथ मिल्ने र जंगली जनावरहरुको नकारात्मक गतिविधीलाई न्यूनकिरण गर्दै लैजान, मानव वन्यजन्तुबीच द्वन्द्व कम गर्न र मानव वन्यजन्तुबीच सहअस्तित्व कायम राख्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

Leave A Reply

Your email address will not be published.