भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाको बगनाहा र ठाकुरद्वारामा बजार अनुगमन गरिएको छ । एकिकृत कृषि तथा पशुपंछी विकास कार्यालय बर्दियाको आयोजनामा जिल्ला प्रशासन कार्यालय र ठाकुरबाबा नगरपालिकाको समन्वयमा संयुक्त अनुगमन गरिएको हो ।
बजार अनुगमनका क्रममा फ्रेस हाउस तथा किराना पसल, कोल्ड स्टोर, एग्रोभेट पसलको अनुगमन गरिएको छ । अनुगमनमा आधिकांश फ्रेस हाउसमा उचित तरिकाले सरसफाई नगरेको पाइएको छ । कतिपय फ्रेस हाउस दर्ता नै नभएर सञ्चालनमा रहेका छन्, भने केहि दर्ता भए पनि नविकरण नगरिएको पाइएको छ । ठाकुरबाबा नगरपालिका–९, ठाकुरद्वारामा सञ्चालनमा रहेको हाम्रो फ्रेस हाउस र अब्दुल फ्रेस हाउसले कानुनी प्रकृया नै पुरा नगरी पसल सञ्चालन गरेको पाइएको र प्रकृया पुरा गर्न एक महिनाको लागि म्याद दिइएको ठाकुरबाबा नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख ओम रानाक्षेत्रीले जानकारी दिनुभयो ।
नविकरण नगरिएका पसलहरुलाई एक हप्ताभित्र नविकरण गर्न समय दिइएको छ । धेरैजसो फ्रेस हाउसहरु पुर्वाधार नबनाई सञ्चालन गरेको भेटिएका छन् । व्यवसाय सञ्चालनका लागि आवश्यक पुर्वाधार बिनानै व्यवसाय सञ्चालन गरेकाहरुलाई आगामी दिनहरुमा नियमको पालना नगरेको पाइएमा कानुन बमोजिम कारबाही हुने चेतावनी सहित एक पटकका लागि मौका दिइएको जनाइएको छ । एग्रोभेटहरुबाट म्याद गुज्रिएको सामानहरु जफत गरिएको छ भने मूल्यसुचि र बील व्यवस्थापन गर्न समेत निर्देशन दिइएको छ । अर्को पटक हुुने अनुगमनका क्रममा पुनः सोहि गल्ति दोहोरीएमा कानुन बमोजिम कारबाही गरिने नगरपालिका प्रशासनले जनाएको छ ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय बर्दियाका लोक प्रसाद ढकाल, एकिकृत कृषि तथा पशुपंछी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकाल, ठाकुरबाबा उद्योग बाणिज्य संघका अध्यक्ष गोविन्द प्रसाद आचार्य, ठाकुरबाबा नगरपालिका कृषि शाखा प्रमुख ध्रुबराज बम, ठाकुरबाबा नगरपालिका पशु शाखा प्रमुख अमर बहादुर शाही, प्रहरी र पत्रकार लगायतको टोलीको सहभागिता रहेको थियो ।