
काठमाण्डौ : मौसममा तत्काल उल्लेख्य सुधार नहुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज (बुधबार) र भोलि पनि देशभर सामान्यदेखि पूर्ण बदली हुने सम्भावना रहेको छ । मौसमविद सन्जिव अधिकारीका अनुसार मौसममा उल्लेख्य सुधार छैन । आज पनि सामान्यदेखि पूर्ण बदली छ भने भोलि पनि बदली सुधार हुने अवस्था देखिएको छैन । काठमाण्डौमा अहिले पानी पर्न रोकिए पनि दिउँसो मध्यम खालको वर्षाको सम्भावना रहेको अधिकारीले बताउनुभयो ।
मौसमविदहरुले ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम भन्ने गरेका छन् । काठमाण्डौमा मंगलबार २४ घण्टाको अवधिमा ८४ मिलिमिटर वर्षा भएको थियो । सामान्य खालको वर्षामै काठमाडौं उपत्यकामा बाढी र डुबानको समस्या थियो । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालतर्फ) सरेकाले त्यसको प्रभावले देशभर वर्षा भएको छ । नेपालमा बंगलादेशको उत्तरी भूभाग आसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव छ । त्यसैले मौसम सुधारको सम्भावना तत्काल नरहेको पूर्वानुमान गरिएको हो ।
आगामी २४ घण्टा पनि नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय तथा हावा हुरी जस्ता प्रकोप हुन सक्ने जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ । त्यसबाट जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने क्षतिबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
पछिल्लो १२ घण्टामा बर्दियामा सबैभन्दा धेरै वर्षा
नेपालमा यस वर्षको मनसुन १४ जुनमा भित्रिएको थियो । मनसुन मित्रिएको पहिलो साता पूर्वी नेपालमा अत्यधिक वर्षा भएको थियो भने तराई मधेश र पश्चिम नेपाल सुक्खा थियो । लामो समयसम्म खण्ड खण्डमा मात्र वर्षा भए पनि दुई दिनयता देशका अधिकांश भूभाग ओगट्ने गरी पहिलो पटक वर्षा भएको छ । यो वर्षासंगै आएको बाढी पहिरोमा परी देशभर चार जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता भएको गृह मन्त्रालय अन्तरगतको आपतकालीन कार्यसन्चालन केन्द्रले जनाएको छ । यद्यपि क्षतिको विवरण संकलनको काम जारी रहेको जनाइएको छ ।
गत १२ घण्टाको अवधिमा बर्दियाको रम्भापुर केन्द्रमा सबैभन्दा बढी १०४ मिलिमिटर वर्षा भएको रेकर्ड छ । गएराति लुम्बिनी र गण्डकी प्रदेशको आकाशमा भारी वर्षा गराउने बादल जम्मा भएको थियो । मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा लेखिएअनुसार आज पनि देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ ।
मौसमविदहरुले २४ घण्टाको अवधिमा १० मिलिमिटरभन्दा कम वर्षा भएकोलाई ‘हल्का वर्षा’ र १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कमलाई ‘मध्यम वर्षा’ भन्ने गरेका छन् । यसैगरी ५० मिलिमिटर वा त्योभन्दा धेरै र १०० मिलिमिटरभन्दा कम वर्षालाई ‘भारी वर्षा’ भन्ने गरिएको छ । १०० मिलिमिटर वा त्योभन्दा धेरै र २०० मिलिमिटरभन्दा कम वर्षालाई ‘धेरै भारी’ र २०० मिलिमिटर वा त्योभन्दा बढी वर्षालाई ‘अति भारी वर्षा’ भन्ने गरेका छन् ।