
नेपालगञ्ज, बाँके : नेपालगञ्जका बरिष्ठ पत्रकार झलक गैरे नाईस अवार्डबाट सम्मानित हुनु भएको छ । नाईस नेपालगञ्जको चौंथो वार्षिकोत्सव तथा साधारणसभाको अवसरमा पत्रकार गैरेलाई नाईस अवार्ड २०२३द्वारा सम्मान गरिएको हो । सकारात्मक समाज निर्माणमा योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरिने अवार्ड यस वर्ष नेपालगञ्जमा रहेर पत्रकारिताका माध्ययमबाट समाज रुपान्तरणमा योगदान पुर्याउनु भएका नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष समेत रहनु भएका पत्रकार गैरेलाई प्रदान गरिएको हो ।
नाईस नेपालगञ्जको अयोजनामा आज (मंगलबार) नेपालगञ्जमा आयोजित कार्यक्रममा प्रतिनिधीसभा सदस्य डा. धवल शमशेर राणा, गैर सरकारी संस्था महासंघका केन्द्रिय सदस्य तथा नाईस नेपालगञ्जका संस्थापक अध्यक्ष नमस्कार शाह र नाईस नेपालगञ्जका अध्यक्ष हेमराज भट्टले संयुक्त रुपमा गैरेलाई नाईस अवार्ड २०२३ संस्करण प्रदान गर्नुभएको हो । पत्रकारितामा तिन दशक लामो समयदेखि निरन्तर रुपमा क्रियाशिल रहेर समाजका विकृती, विसंगतीलाई उजागर गर्दे समाज रुपान्तरणमा उल्लेखनिय योगदान पुर्याए बापत् पत्रकार गैरेलाई अवार्डद्वारा सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।
अवार्ड प्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधीसभा सदस्य डा. धवल शमशेर राणाले नाईस अवार्ड समाजमा राम्रो काम गरिरहेका ब्यक्तिहरुका लागि प्रेरणा भएको बताउनु भयो । उहाँले असल कार्य गर्ने र नेपालगञ्जको विकासमा अग्रणी भूमिकामा रहनु भएका पत्रकार गैरे सम्मानित हुनुभएकोमा बधाई ज्ञापन गर्दै संस्थाले अवार्डका लागि उत्कृष्ठ ब्यक्तिलाई छनौट गरेको प्रतिक्रिया दिनुभयो । गैर सरकारी संस्था महासंघका केन्द्रिय सदस्य तथा नाईस नेपालगञ्जका संस्थापक अध्यक्ष नमस्कार शाहले राम्रो काम गर्ने ब्यक्ति र राम्रा कामहरुको प्रोत्साहन गर्ने उद्देश्यले नाईस अवार्डको सुरुवात गरिएको बताउँदै पत्रकारिताको माध्यमबाट सामाजिक रुपान्तरणमा उत्कृष्ठ काम गर्नु भएका ब्यक्तिलाई गरिएको सम्मानले राम्रा काम गर्ने ब्यक्तिहरुलाई हौसला थपिने बताउनुभयो ।
नाईस अवार्ड २०२३ ग्रहण पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार झलक गैरेले भन्नुभयो “ग्रेटर नेपालगञ्जको परिकल्पनाका साथ पत्रकारिताको माध्यमबाट अगाडी बढीरहेका बेला नाईस अवार्डले गरेको सम्मानले थप जिम्मेवार बनाएको छ ।” कर्म गर फलको आशा नगर भन्ने भावनाका साथ काम गर्ने बताउदै नाईस अवार्डले पत्रकारितामा गरेको संघर्षको स्मरण गराएको उहाँले बताउनुभयो । आफूले गरिरहेको काममा रमाउन सकेमा सम्मान तथा पुरस्कार आफै प्राप्त हुने भन्दै सबैलाई सत्कर्ममा लाग्न समेत पत्रकार गैरेले आग्रह गर्नुभयो । पत्रकारिता समाजको ऐना मात्रै नभएर मार्ग निर्देशक भएको समेत उहाँले बताउनुभयो ।