onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

सभामुखसहित तीन दलका प्रमुख सचेतकहरूको बैठक सुरु

Sambad ADD long

काठमाण्डौ : संसदमा जारी गतिरोध हटाउने विषयमा शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ । संसद खोल्ने प्रयास स्वरुप प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलको बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू उपस्थित छन् ।

सभामुख घिमिरेको आह्वानमा हिजो बसेको तीन दलका शीर्ष नेताको बैठक निश्कर्षमा पुग्न नसकेपछि आज बिहान बस्ने गरी स्थगित भएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले उच्चस्तरीय छानबिन आयोग गठनका प्राविधिक पक्ष, उद्देश्य तथा प्रभावकारिताबारे आफूले जानकारी लिएर निष्कर्ष दिने बताएपछि बैठक आज बस्ने गरी सकिएको थियो । सभामुख घिमिरेले नेताहरुबीच सकारात्मक छलफल भएकोले आज सहमति जुट्न सक्ने बताउनु भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भन्सार छलीको क्विन्टल सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ । हिजो दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर आज दिउँसो ३ बजेका लागि सारिएको थियो भने राष्ट्रियसभा बैठक एमाले सांसदहरुले नाराबाजी गरेपछि स्थगित गरिएको थियो ।

आज बैठक बसेमा सभामुख घिमिरेले प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने कार्यसूची छ । यस्तै शिक्षामन्त्री अशोक राईले नेपाल विश्वविद्यालय विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बिन्धत समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने लगायतका कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.