बस्तीमा पसेर मान्छे मार्ने बाघ निकुञ्जको नियन्त्रणमा
चितवन : चितवनको खैरहनीमा बस्ती पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक र नेपाली सेनाको टोलीले डार्ट गरेर बाघलाई खैरहनी नगरपालिका-१२, सहनपुरस्थित केरा घारीबाट नियन्त्रणमा लिएको हो ।
आइतबार सो बाघको आक्रमणबाट खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङ मृत्यु भएको थियो । बाघ केराघारीमा पसेको थाहा पाएपछि निकुञ्जको टोलीले आइतबार बिहानैदेखि बाघको खोजी गरिरहेको थियो । बाघ बस्तीमा पसेपछि आइतबार दिनभर गाउँमा त्रास फैलिएको थियो । मृतक तामाङको शव आइतबार साँझ केराघारीबाट निकालेर परिवारको जिम्मा लगाइएको छ । बाघको खोजीका लागि प्राविधिकसहित आइतबार १५ वटा र सोमबार १२ वटा हात्ती परिचालन गरिएको थियो ।
नियन्त्रणमा लिएको बाघ अन्दाजी चार वर्षको भाले बाघ रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँले प्राविधिक, कर्मचारी र नेपाली सेनाको ठूलो मेहिनतले बाघलाई नियन्त्रणमा लिन सफल भएको बताउनुभयो । नियन्त्रणमा लिएको बाघ सौराहामा रहेको खोरमा राखिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको कसरा र सौराहामा रहेका खोरमा विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएका पाँच वटा बाघ रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा १२८ बाघ रहेका छन् ।