ठाकुरबाबामा बाढीको प्रभाव, जनप्रतिनिधीसहितको टोली उद्दारमा (फोटो फिचर)
भुरीगाउँ, बर्दिया : सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण स्थानीय खोला नालामा आएको बाढि र बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको जंगलबाट आएको बाढिले ठाकुरबाबा नगरपालिकाको विभिन्न गाउँहरु डुबानमा परेको छ ।
आम्बासा गाउँका ३५ भन्दा बढि घर डुबानमा परेका वडा नम्बर २ का वडाअध्यक्ष कमल चपाईंले बताउनुभयो । नगरपालिकाबाट नगर प्रमुख तिलकराम लम्साल, उपप्रमुख बिना कुमारी भट्टराईसहित वडा अध्यक्ष, वडा सदस्य, स्थानीय समाजसेवी र स्थानीयबासिन्दाहरु पनि रबर बोटको सहायताले डुबानमा परेका घरबाट बालबालिका, बृद्धबृद्धा, महिलाहरुलाई उद्दार गरि सुरक्षित स्थानमा ल्याएर राख्न खटिएका छन् । वडा नम्बर ७ कर्मेला टोल र ८ भुडकैया, कालिगौडि आसपासका टोलमा पनि केही घर डुबानमा परेका उपप्रमुख बिना कुमारी भट्टराईले जानकारी दिनुभयो ।
यस्तै नगरपालिकाका विभिन्न वडाका गाउँका केही घरहरुमा पानी पसेको नगरपालिका प्रशासनले जनाएको छ । डुबान भएका र बाढि पस्ने क्षेत्रमा उद्दारका लागि नगरपालिकाबाट नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य, स्थानीय समाजसेवीसहित स्थानीयबासिन्दाहरु उद्दारका लागि खटिएका छन् । जनप्रतिनिधीहरुसंगै उद्दारका लागि जंगल हेवन रिसोर्टका सञ्चालक कृष्ण भट्टराई र बिएस प्लेस रिसोर्टका सञ्चालक बल बहादुर राना रबर बोटसहित खटिनु भएको थियो ।
आफुहरु निरन्तर उद्दार कार्यमा लागि रहेको बताउँदै अहिलेसम्म शिवसुन्दर माध्यमिक विद्यालयमा ५० जना राखिएको नगर उपप्रमुख भट्टराईले जानकारी दिनुभयो । सुन्दरपुर टोलका स्थानीयहरुलाई शिवसुन्दर प्रतिक्षालयमा व्यवस्थापन गरिने र वडा नम्बर ८ को मान प्रसाद थारूको घरमा खाना व्यवस्थापन गरिएको उहाँले बताउनु भयो । आम्बासामा करिव ४० घर डुवानमा परेको र पानी खोल्ने काम हुँदै गरेको भट्टराईले जानकारी दिनुभयो । डुबान घर र क्षतिको विवरण आउँन बाँकी छ ।
बाढीले ठाकुरबाबा नगरपालिकामा पारेको प्रभाव तस्वीरमा हेनुहोस् :