बबई नदिमा बाढिले खतरा तह पार गर्यो, सतर्कता अपनाउन आग्रह

भुरीगाउँ, बर्दिया : गएरातिदेखि परेकाे अविरल वर्षाका कारण बर्दियाको बाढीले खतराको तह पार गरेकाे छ । बबई नदिमा बाढीले खतराकाे तह पार गरेकाले बबई नदी तटिय क्षेत्रमा जाेखिम रहेकाले स्थानीयबासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुरोध गरेको छ । बबई नदिकाे चेपाङबाट बर्दियाकाे नदि तटिय क्षेत्रसम्म बाढि पुग्न ६ देखि ८ घण्टा लाग्ने भएकाले नदिकाे तल्लाे क्षेत्रका नदि आसपासका स्थानीयलाई दिउँसो २ बजेसम्म सतर्कता अपनाउन अनुरोध गरेको हाे ।
यस्तै अविरल वर्षाका कारण स्थानीय खाेला नालामा आएको बाढि र निकुञ्ज भित्रकाे जंगलबाट आएकाे बाढिले ठाकुरबाबा नगरपालिकाकाे आम्बासा गाउँका केही घर डुबानमा परेका वडा नम्बर २ का वडाअध्यक्ष कमल चपाईँले बताउनुभयाे । वडा नम्बर ७ र ८ मा पनि केही घर डुबानमा परेका नगर उपप्रमुख बिना कुमारी भट्टराईले जानकारी दिनुभयो । भुरीगाउँ, शिवपुर, ठाकुरद्वारा लगायत गाउँका केही घरहरुमा पानी पसेको प्रहरीले जनाएको छ ।
डुबान भएका र बाढि पस्ने क्षेत्रमा उद्दारका लागि नगरपालिकाले उद्दार समूहलाई तयारी अवस्थामा राखेकाे जनाएको छ । गएरातिदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बर्दियाको बबई नदिमा, दाङको राप्ती नदी र बाँके क्षेत्रमा जलसतह बढेको जनाएको हाे । मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार बाढी सतर्कता तहदेखि खतरा तह आसपास पुग्ने पूर्वानुमान गरिएको छ । बाढीले होचा भूभाग र बबई नदि तटीय क्षेत्रमा क्षति पुर्याउन सक्ने सम्भावना रहेकाले जोखिम क्षेत्रका बासिन्दालाई एसएमएस पठाएर पनि सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।
आज बिहान ५:३० देखि ६ बजेसम्म बबई नदिकाे चेपाङमा रहेकाे बाढी मापन केन्द्रमा बबई नदीमा ७.५७ मिटर पुगेको र खतराकाे तह पार गरेको जनाएको छ । बबई नदिकाे चेपाङ मापन केन्द्रका अनुसार नदिमा पानीको सतह खतरा तह पार गरेकाले तल्लो तटीय तथा डुबान भइरहने ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका मधुवन नगरपालिका र गुलरिया नगरपालिका क्षेत्रका गाउँबस्तीमा आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन नेपाल रेडक्रस साेसाइटी बर्दिया शाखाले अनुरोध गरेको छ ।
बबई नदि किनारका स्थानीयका लागि अत्यन्त जरुरी सूचना निकालेर स्थानीय एफ.एम. रेडियोहरुबाट गएरातिदेखि परेको अविरल बर्षाका कारण बबई नदिको चेपाङमा पानीको सतह मापन केन्द्रका अनुसार आज बिहान साढे ५ बजेदेखि ६ बजेसम्म नदिमा पानीको सतह ७ दशमलव ५७ मिटर रहेको र खतरा तह पार गरेको हुनाले चेपाङबाट ठाकुरबाबा नगरपालिकाको बर्गदादेखि गुलरियासम्म पुग्न झन्डै ६ देखि ८ घण्टा लाग्ने भएकालेे अहिले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बबई नदि किनार आसपासका गाउँबस्तीका स्थानीयलाई उच्च सतर्कता अपनाउन नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा बर्दियाले अनुरोध गरेकाे छ । तस्वीर सौजन्य : मुकुन्द सुवेदी र शंकर गौतम