
काठमाण्डौ : सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकर खड्काले प्रयोग गर्ने पेस्तोल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलका अनुसार दुई जनालाई पक्राउ गरी पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद गरिएको छ ।
गएको असार ३० गते चोरी भएको पेस्तोलसहित बौद्धबाट सिन्धुपाल्चोक घर भएका वासुदेव थामी र सिन्धुलीका मेघबहादुर तामाङलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । शुरुमा मेघबहादुरको कोठाबाटै पेस्तोल बरामद गरी उनलाई पक्राउ गरिएको र उनको बयानका आधारमा चोरीमा संलग्न देखिएपछि थामी पक्राउ परेका थिए । घरको कोठामा पेस्तोल राखिएको झोलासहित झ्यालबाट अङ्कुसे लगाएर चोरी भएको थियो ।
त्यसलगत्तै खड्काले पेस्तोल चोरी भएको भनी प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए । त्यही आधारमा खोजतलासका क्रममा पेस्तोल बरामद गरी उनीहरुलाई पक्राउ गरिएको ढुङ्गेलले बताउनुभयो । उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।