मैनापोखर, बर्दिया : बढैयाताल गाउँपालिकामा एक निजि विद्यालयको शौचालयको पर्खाल भत्किँदा घाइते भएकी बालिकाको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका-७, तिलकानामा रहेको रिभर क्विन्स स्कुलको शौचालयको पर्खाल भत्किँदा घाइते भएकी कक्षा ३ मा अध्ययनरत ९ वर्षीया मेरिना थारूको उपचारका क्रममा मृत्यु भएको हो ।
बुधबार दिउँसो करिब पौने ३ बजेको समयमा शौचालय गएका बेला छात्र-छात्रा छुट्याउन बनाइएको पर्खाल भत्किएपछि बालिकाको पेट तथा चिउँडोमा चोट लागेको थियो । घाइते बालिकाकाे बाँकेको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा हिजो शुक्रबार दिउँसो निधन भएको बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ढकालले जानकारी दिनुभयो ।
भौतिक पूर्वाधार अपर्याप्त रहेको विद्यालयहरुलाई अनुगमनका क्रममा भौतिक पूर्वाधार सुधार्न पालिकाले पटक पटक सुझाव दिँदै आएको ढकालले बताउनु भयो । उहाँले भन्नुभयो “घटनाले साह्रै दु:खि बनाएको छ । अब विद्यालयहरूलाई कडाइका साथ नियमन गर्छौँ ।
मृतक बालिकाका ठूलोबुवा बिर बहादुर चौधरीले विद्यालयको लापरबाहीका कारण आफ्नो भतिजीको ज्यान गएको बताउनुभयो । “भतिजीको पेटमा पर्खाल पल्टिएर ठूलै चोट लागेको रहेछ। स्कूलले सुरुमा घटना गुपचुप राख्ने प्रयास गर्यो, छरछिमेकीबाट घटना थाहा पायौँ” उहाँले भन्नुभयो ।
पर्खाल भत्किएर च्यापिँदा बालिकाको आन्द्रा तथा हिपको मांसपेसीहरु फुटेको थियो । अप्रेशनबाट आन्द्रा जोडेको भएपनि लामो समयसम्म बालिकाको होस नआएपछि चिकित्सकले मृत घोषणा हुन् । मृतक बालिकाको परिवारले राहत तथा न्याय नदिएसम्म बालिकाको शव अस्पतालबाट नउठाउने बताएका छन् ।
विद्यालयमा अचानक घटना भएको सहायक प्रधानाध्यापक सुजाता राईले बताउनुभयाे । पीडित परिवारलाई नियम अनुसारको क्षतिपूर्ति दिने उहाँले बताउनुभयो ।