ठाकुरबाबा आधारभूत नगर अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाद्वारा सञ्चालित आधारभूत नगर अस्पतालमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु उद्घाटन भएको छ । नगर प्रमुख तिलकराम लम्सालले ज्येष्ठ नागरिक टोप बहादुर अधिकारीलाई बीमा पर्चा प्रदान गरी स्वास्थ्य बीमा सेवाको उद्घाटन गर्नु भएको होे । सेवा शुभारम्भ गर्दै नगर प्रमुख लम्सालले स्वास्थ्य बीमाको सेवालाई झन्झटरहित र सहज बनाउँदै स्थानीयस्तरमा नै गुणस्तरिय सेवा प्रदान गरिने बताउनुभयो ।
ठाकुरबाबा नगरपालिकाले जेठ १७ गते स्वास्थ्य बीमा बोर्डसंग स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ अनुसार सेवा प्रदान सम्बन्धी सम्झौता गरेको थियो । बीमितलाई सेवा प्राप्त गर्न सहज होस भनि आधारभूत नगर अस्पतालमा सेवा सुरु गरिएको नगर उपप्रमुख बिना कुमारी भट्टराईले जानकारी दिनुभयो । अब आधारभूत नगर अस्पताललाई प्रथम सेवा विन्दु उल्लेख गरेर स्वास्थ्य बीमा गरेका नगरबासीले बीमा वापत पाइने निःशुल्क उपचार, ल्याब परीक्षण र औषधिहरु ठाकुरबाबा आधारभूत नगर अस्पतालबाटै पाउने भएका छन् ।
बीमा कार्यक्रम लागु भएपछि नगरवासीले आधारभूत नगर अस्पतालमा ल्याब परीक्षण, भिडियो एक्सरे, एक्सरे र १ हजार १३३ थरीका मध्य उपलब्ध भएसम्मका औषधि निःशुल्क पाउने छन् । यसबाहेक आधारभूत नगर अस्पतालमा उपलब्ध नभएका सिटी स्क्यान, एमआरआई, शल्यक्रिया लगायतका सेवाका लागि अन्य अस्पतालमा रिफर हुने भएकाले सेवा पाउन सहज हुनेछ । नगर अस्पतालमा बीमा कार्यक्रम लागु हुँदा ठूला अस्पतालमा बीमा सेवाका लागि हुने चाप घट्ने र स्थानीयस्तरमा उपलब्ध हुने सेवाका लागि टाढा जानुपर्ने बाध्यता हट्ने उपप्रमुख भट्टराईले बताउनुभयो ।
ठाकुरबाबा आधारभूत नगर अस्पतालमा स्वास्थ्य बीमाको सेवा सुरु भएपछि स्वास्थ्य बीमा गरेका बीमितले बीमाले उपलब्ध गराउने निःशुल्क स्वास्थ्य सेवा स्थानीयस्तरमा नै उपभोग गर्न पाउने नगर प्रमुख तिलकराम लम्सालले बताउनुभयो । ठाकुरबाबा नगरपालिकाद्वारा सञ्चालित आधारभूत नगर अस्पतालमा सेवा सुरु भएसंगै नजिकै सेवा प्रदायक स्वास्थ्य संस्था नहुँदा महंगो खर्चमा सेवा लिनुपर्ने अवस्थाको अन्त्य भएको छ । यसअघि ठाकुरबाबा नगरपालिकाका बीमितहरु सेवा लिन बर्दिया अस्पताल गुलरिया र बाँकेको भेरी अस्पताल नेपालगञ्ज पुग्ने गरेका थिए ।