onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबामा महिला विशेष रक्तदान, २०७ पिन्ट रगत संकलन

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ‘रक्तदान जीवनदान’ नारासहित नवौं बृहत तथा बर्दिया जिल्ला स्तरीय महिला विशेष प्रथम रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिका, सैनवार र नेपाल स्वयम्सेवी रक्तदाता समाज, जिल्ला शाखा बर्दियाको आयोजना तथा तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र नेपालगञ्ज, बाँकेको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको हो ।

उपचारको समयमा महिलाहरुका लागि बढि रगतको आवश्यकता पर्ने भएकाले महिला विशेष रक्तदान कार्यक्रमको आयोजना गरिएको ठाकुरबाबा नगरपालिकाकी नगर उपप्रमुख बिना कुमारी भट्टराई बताउनुभयो । महिलाहरुलाई बढि रगतको आवश्यकता पर्ने तर रक्तदान गर्ने महिलाहरुको संख्या न्यूनहुनुले पनि विभिन्न स्वास्थ्य संस्थाहरुमा रगत अभाव हुने गरेको भट्टराईले बताउनुभयो । महिलाहरुले आफुलाई आफै कमजोर सम्झिएर रक्तदान गनए हिच्किचाउने प्रवृतिलाई अन्त्य गर्नुपर्ने बताउँदै भट्टराईले रक्तदान गर्दा चेकजाँच गरेर सक्षम भएमा मात्रै रगत दिन मिल्ने कुरा सबैका लागि जानकारी हुन आवश्यक रहेको बताउनुभयो । १८ वर्ष पुरा भई शारीरिक रुपमा स्वस्थ रहेका व्यक्तिले हरेक ३ महिनाको फरकमा रक्तदान गर्न सकिने र एक जनाको रगतले ३ जनासम्म विरामीको ज्यान बचाउन सकिने भएकाले रक्तदान कार्यक्रमको आयोजना भएको समयमा रक्तदान गरी जीवनदान गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

नवौं बृहत तथा बर्दिया जिल्ला स्तरीय महिला विशेष प्रथम रक्तदान कार्यक्रममा बरिष्ट रक्तदाता तथा नेपाल स्वयम्सेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेम प्रसाद कर्माचार्यले १७५औं पटक रक्तदान गर्नुभयो । यस्तै बाँकेका बरिष्ट रक्तदाता तथा केन्द्रिय सदस्य पवन जैसवालले ९६औं पटक, कर्णाली प्रदेशका सर्वाधिक रक्तदान गर्ने रक्तदाता प्रवास कुमार शाक्यले ७९औं पटक रक्तदान गर्नुभएको छ । यस्तै बर्दियाका बरिष्ट रक्तदाता तथा नेपाल स्वयम्सेवी रक्तदाता समाज बर्दिया शाखाका अध्यक्ष प्रेम प्रसाद लम्सालले ६५औं पटक रक्तदान गर्नुभएको छ भने बर्दिया जिल्लाकी बरिष्ट महिला रक्तदाता तथा नेपाल स्वयम्सेवी रक्तदाता समाज बर्दिया शाखाकी कोषाध्यक्ष उमा कुमारी मल्लले ३१औं पटक रक्तदान गर्नु भएको छ ।

शरीरमा हरेक ३ महिनामा नयाँ रगत उत्पादन हुने र शरीरमा आवश्यकता भन्दा बढि भएको रगत आफै नष्ट भएर जाने हुँदा रक्तदान गरि आर्थिक अवस्था कमजोर भएका कारण जीवन र मृत्युसंग लडिरहेका बिरामीहरुलाई नयाँ जीवन दिन बर्दियाका बरिष्ट रक्तदाता प्रेम प्रसाद लम्सालले सबैलाई आग्रह गर्नुभयो ।

पछिल्लो समय थारु समुदायमा बढी देखिएको सिकलसेल ऐनिमिया तथा थालेसेमियाका बिरामीहरुलाई रगतको बढि आवश्यकता हुने भएकाले पनि रक्तदान गरी जीवनदान गर्न आवश्यक रहेको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले बताउनुभयो । रक्तदान कार्यक्रमका अवसरमा रक्तदान गरी जीवनदानमा सहयोग पुर्‍याउनुहुने रक्तदाताहरुलाई सम्मानपत्र सहित सम्मान गरिएको छ । नवौं बृहत तथा बर्दिया जिल्ला स्तरीय महिला विशेष प्रथम रक्तदान कार्यक्रममा ४४ जना महिला र १६३ जना पुरुष गरि जम्मा २०७ जनाले रक्तदान गरेको नगर प्रमुख तिलकराम लम्सालको सचिवालयले जनाएको छ ।

बडरहरुसंग छलफल तथा आग्रह

ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले बडघर सञ्जालका नगर अध्यक्ष माघुराम चौधरी सहितका बडघरहरुसंग रक्तदान स्थलमा गाउँघरमा रक्तदान गर्न अभिप्रेरित गर्न तथा सर्पदंशका बिरामी भएमा गुरुवासंग नलिएर तत्काल अस्पतालमा लैजान स्थानीयलाई आग्रह गर्न समेत सुझाव दिनुभएको छ । ठाकुरबाबा नगरपालिकाका सबै बडघर तथा चौकिदाहरुलाई पनि आगामी दिनमा रक्तदानको आवश्यकता र महत्वबारे छलफल गरि रक्तदान गर्न अग्रसरता जनाउन आग्रह गर्नु भएको छ ।

यस्तै कार्यक्रममा बोल्दै ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिना कुमारी भट्टराईले यसभन्दा पहिला त्रैेमासिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्ने गरिएकोमा यस वर्षदेखि रक्तदाताहरुको सहजताका लागि चौमासिक रुपमा सञ्चालन गरिएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.