विश्व रेञ्जर दिवसका अवसरमा वर-पिपल चौतारी बनाउन वृक्षारोपण

भुरीगाउँ, बर्दिया : विश्व रेञ्जर दिवसका अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने खुल्ला स्थानमा वृक्षारोपण गरिएको छ । मध्यवर्ती क्षेत्रमा पर्ने अम्रेनी पोष्ट नजिकको खुल्ला स्थानमा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले वरको बिरुवा र बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाका कर्णेल हिमालय थापाले पिपलको बिरुवा रोपण गरि वृक्षारोपण कार्यक्रम सुरुवात गरिएको हो ।
‘सन् २०३० भित्र ३० प्रतिशत क्षेत्र संरक्षण र व्यवस्थापन गर्न हामी संसारभरका रेञ्जरहरु उभिएका छौँ’ भन्ने नाराका साथ यस वर्ष बर्दिया निकुञ्जको खुल्ला क्षेत्रमा वृक्षारोपण गरि दिवस मनाइएको बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत रमेश थापाले जानकारी दिनुभयो । हरेक वर्ष जुलाई ३१ तारिखलाई विश्व रेञ्जर दिवसका रुपमा संसारभरका विभिन्न देशहरुमा कार्यक्रम गरेर मनाउने प्रचलन छ ।
ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेनाका कर्णेल हिमालय थापा, निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रि विनोद दाहाल, डिभिजन वन कार्यालयका सहायक डिभिजन प्रमुख टंक गुरुङ, मध्यवर्ती क्षेत्र अन्तरगत उपभोक्ता समिति, राष्ट्रिय प्रकृती संरक्षण कोष, जेडएसएल, उज्यालो नेपाल लगायतका संस्थाका प्रतिनिधिहरुको सहभागितमा वृक्षारोपण गरिएको हो ।
पर्यटकहरु आउजाउ गर्ने बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार पूर्व–पश्चिम राजमार्ग किनारमा रहेको अम्रेनी पोष्टको औराही खोला नजिकको खुल्ला ठाँउमा परम्परागत रुपमा वर–पिपल चौतारी र पिकनिक स्थल बनाउनका लागि वर, पिपल, छतिवन, रुद्राक्ष, हात्ति स्याउ लगायतका झण्डै २ सय बिरुवा वृक्षारोपण गरिएको श्रीरामनगर उपभोक्ता समितिका अध्यक्ष जनार्दन योगीले बताउनुभयो । पश्चिम क्षेत्रको प्रमुख पर्यटकीय स्थल बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनका लागि आएका पर्यटकलाई अझ आकर्षित गर्न र ’पिकनिक’ स्थलको रुपमा विकसित गर्न थप बिरुवाहरु वृक्षारोपण गरि परम्परागत वर–विपल चौतारीसमेत बनाईने निकुञ्जका पूर्व संरक्षण अधिकृत रमेश कुमार थापाले बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख तिलकराम लम्सालले वृक्षारोपण गरिएका बिरुवाहरूलाई छाडा गाइवस्तुबाट जोगाउन तारजाली गरेर हेरचाह र संरक्षण गर्न आग्रह गर्दै वृक्षारोपण गरिएका बिरुवाको संरक्षण सबैभन्दा महत्वपूर्ण भएकाले संरक्षण गर्न विशेष ध्यान दिन पनि आग्रह गर्नुभयो । प्रमुख लम्सालले वरपिपल जस्ता बिरुवाहरु अघिल्ला वर्षहरुमा काटिँदै गएको बताउँदै अब आगामि दिनमा वर–पिपल जस्ता बिरुवा वृक्षारोपण गरि परम्परागत चौतारी निर्माण गर्न नगरपालिका लागि पर्ने समेत बताउनुभयो ।
प्रकृति को संरक्षकत्व गर्नु हामी मानिस को प्रमुख कर्तव्य हो तर बर्दिया को समग्रबिकास को बाधक त निकुञ्ज हो भन्छन त जानकार हरु निकुञ्ज स्थापना हुनु पुर्प चालू तेलपानी सुर्खेत बाटो निकुञ्ज कै कारण बन्द जस्तै छ यो बाटो बनाउदा त निकुञ्ज लाई नै फाइदा हुने थियो आफू बुझ्ने भय देखि तेलपानी बाटो बन्छ र भुरिगाउ बजार को बिकास हुन्छ भन्दा भन्दै ४० कटियो तर बिकास को बाधक सबै ले निकुन्ज लाई नै देखाउन्छ्न