बर्दिया : र्याली र अन्तरक्रिया गरेर मनाइयो बाघ दिवस
भुरीगाउँ, बर्दिया : ‘मानव–बाघ सहअस्तित्व’ नारा सहित आज विश्व बाघ दिवस मनाइएको छ । सन् २०१० देखि अन्तर्राष्ट्रियस्तरमा मनाउन थालिएको बाघ दिवसका अवसरमा आज शनिबार देशैभरी बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । बाघ अवलोकनका लागि पर्यटकहरुको रोजाईसंगै पश्चिम नेपालको पर्यटकीय गन्तब्यको रुपमा परिचित रहेको बर्दिया राष्ट्रिय निकुञ्जले पनि विश्व बाघ दिवसको अवसरमा निकुञ्ज मुख्यालय रहेको ठाकुरद्वारामा विविध कार्यक्रमको आयोजना गरेको हो ।
ठाकुरबाबा नगरपालिका–९, ठाकुरद्वारास्थित ठाकुरद्वारा मन्दिरको प्रवेशद्वार अगाडि निर्माण गरिएको बाघको सालिकमा पूजा गरेर कार्यक्रमको सुरुवात गरिएको हो । बाघ चोकमा रहेकोको सालिकमा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारी, निकुञ्जका कर्मचारी लगायतले पूजा गरेका हुन् । बाघ चोकबाट सुरु भएर बजार परिक्रमा गर्दै निकुञ्जको मुख्यालय प्रवेशद्वारमा गएर समापन भएको र्यालीमा स्थानीय विद्यालयका विद्यार्थीहरु, निकुञ्ज तथा संरक्षणमा सकृय संघसंस्थाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
बाघ दिवसको अवसरमा निकुञ्ज प्रशासनले सञ्चारकर्मी र संरक्षणकर्मीसंग बाघ संरक्षण र यसको चुनौती विषयमा अन्तरक्रिया गरेको छ । बाघको सङ्ख्या वृद्धि भएसंगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्नेसम्बन्धी विषयमा समेत छलफल गरिएको छ । छलफलका क्रममा बाघ संरक्षणका लागि मुख्य चुनौती चोरी सिकारी भए पनि पछिल्लो समय मानव र वन्यजन्तुबीच हुने द्वन्द्व पनि चुनौतीको रूपमा थपिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बताउनुभयो । बिरामी तथा बूढो भएको बाघ जंगल क्षेत्रबाट बाहिर निस्किएको अवस्थामा सिकार गर्न नसक्ने भएकाले बाघले द्वन्द्व बढाउने गरेको समेत उहाँले बताउनुभयो । बाघ र मानवबीच द्वन्द्व न्यूनिकरण गर्न रणनीतिक योजना बनाएर अघि बढेको प्रमुख संरक्षण अधिकृत भण्डारीले जानकारी दिनुभयो ।
छलफलमा सहभागी वक्ताहरुले लोपोन्मुख अवस्थामा रहेको पाटेबाघले राष्ट्रिय निकुञ्जसंगै सामुदायिक वनहरूमा समेत बासस्थान बनाएकाले चौतर्फी त्रास बढ्न थालेको बताएका छन् । निकुञ्जको क्षेत्राधिकारमा संरक्षण कार्यक्रम प्रभावकारी भएकोमा खुशी लाग्ने गरेको भए पनी मानव र वन्यजन्तुबीच द्वन्द्व मौलाउँदा स्थानीयहरुमा त्रासको वातावरण सिर्जना भएको प्रती सहभागीहरुले चिन्ता ब्यक्त गरेका हुन् । मानव र वन्यजन्तुबिच सहअस्तित्व कायम राख्न निकुञ्ज भित्र पर्ने राजमार्ग क्षेत्रमा र संरक्षित जैविक मार्गक्षेत्रमा पर्ने हुलाकी सडकमा पनि वन्यजन्तुमैत्रि संरचनाहरु निर्माण गरिनु पर्ने धारणा राखेका छन् ।
चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यले राज्यले मानव र वन्यजन्तुबिचको द्वन्दको दीगो समाधानका लागि उचित कार्यक्रमहरुको ब्यवस्था गर्नुपर्ने बताउनुभयो । साथै दीर्घकालीन समाधानका लागि स्थानीयको आयआर्जनमा वृद्धि हुने कार्यक्रमहरु संचालन गर्नुपर्ने र निकुञ्ज, मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनको छेउछाउमा बसोबास गर्ने स्थानीयहरुले आफ्नो व्यवहारमा पनि परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो ।
लामो समयदेखि ठाकुरद्वारामा पर्यटन व्यवसाय संचालन गर्दै आउनुभएका पर्यटन व्यवसायी कृष्ण प्रसाद भट्टराईले पर्यटन क्षेत्रलाई कृषिसंग जोड्न सके मात्रै पनि स्थानीयहरुको जिविकोपार्जनमा थप सहजता हुने बताउनुभयो । स्थानीयहरुले उत्पादन गरेका कृषि उपज, मासुजन्य वस्तुहरु पर्यटन व्यवसायले स्थानीयस्तरमा नै खपत गर्न सक्ने धारणा उहाँले राख्नुभयो ।
करिब सय वर्षअघि विश्वमा बाघको संख्या १ लाखको हारहारीमा थियो । एक दशक अघिसम्म बाघको संख्या ३ हजार २ सयमा सीमित भएपछि विश्वमा यस्को संख्या दोब्बर बनाउने लक्ष्यसहित सन् २०१० नोभेम्बरमा रुसको सेन्ट पिटर्सबर्गमा भएको भेलाले निर्णय गरेको थियो । सोही अनुसार नेपालले बाघको संख्या दोब्बर बनाउन सफल भएको छ । हाल बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रलगायत मध्यवर्ती बाहिरका सामुदायिक वनहरूमा समेत बाघको संख्या वृद्धि भएको छ। बर्दियामा गत वर्षको गणनामा ८७ बाट बढेर बाघको संख्या १२५ पुगेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा बाघलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।
पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले जुलाई २९ मा बाघ दिवस मनाउने घोषणा गरेको हो । पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।