बर्दियामा ‘स्काई ब्रिज’ बनाउन १ अर्ब रकम छुट्याउँछु : लुम्बिनी प्रदेश मुख्यमन्त्री चौधरी

बर्दिया : लुम्बिनी प्रदेशको पर्यटकिय जिल्लाका रुपमा परिचित बर्दियालाई पर्यटकिय गन्तब्यका रुपमा थप अघि बढाउन नेपालकै सबैभन्दा लामो ‘स्काई ब्रिज’ निर्माण सुरु गर्नका लागि यसै आर्थिक वर्ष १ अर्ब रकम छुट्याइने लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रतिवद्धता जनाउनु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज रहेको ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकालाई प्रत्यक्ष जोड्न र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षासहित हात्तिसार–मनाउ क्षेत्रको झण्डै ३ हजार ५०० मिटर दुरिमा पर्ने नदी र वन क्षेत्र माथिबाट नयाँ डिजाइनको नेपालकै नमुना स्काई ब्रिज निर्माण गर्नका लागि लुम्बिनी प्रदेश सरकारबाट १ अर्ब रकम छुट्याइने मुख्यमन्त्री चौधरीले प्रतिवद्धता जनाउनु भएको हो ।
लुम्बिनी प्रदेशको राजधानी दाङमा ठाकुरबाबा नगरपालिकाले आयोजना गरेको खानेपानी सरसफाई र स्वच्छता सम्बन्धी प्रदेशस्तरिय अनुभव आदानप्रदान एवम् पैरवी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले पर्यटकिय गन्तब्यका रुपमा अघि बढिरहेको बर्दिया राष्ट्रिय निकुञ्ज नजिक क्षेत्रमा स्काई ब्रिज सुरु गर्न प्रदेशबाट १ अर्ब रकम छुट्याएर यसै आर्थिक वर्षदेखि काम अघि बढाउने बताउनु भएको हो ।
“बर्दिया जिल्ला मेरो आधा घर हो, बाल्यकालदेखि बर्दियामै हुर्किएँ, अन्य जिल्लाको तुलनामा विकासका पुर्वाधारमा सबैभन्दा पछाडि परेको र पर्यटकिय गन्तब्य बढि भएको बर्दियामा आगामी दिनमा आन्तरिक तथा वाह्य पर्यटकहरुको संख्या उल्लेखीय मात्रामा वृद्धि गर्न आफै छिमेकी मुलुक भारत लगायतका अन्य देशहरुसंग सहकार्य गर्दै प्रचारप्रसारमा सहयोग पुर्याउन लागि पर्छु” उहाँले भन्नुभयो । “हामीले साना साना कुरामा ध्यान दिएका हुँदैनौँ, तर खासगरि सरसफाइमा ध्यान दिन सकिएन भने जनधनको क्षती धेरै हुन्छ” मुख्य मन्त्रि चौधरीले भन्नुभयो । तसर्थ ठाकुरबाबा नगरपालिकाले गेरुवा ग्रामिण जागरण संघसंग सहकार्य गरेर सुरु गरेको सरसफाई र स्वच्छताका लागि पुर्ण हात धुने अभियानको प्रशंसा गर्दै सबै पालिकाहरुले यो अभियान सुरु गर्नुपर्ने मुख्यमन्त्री चौधरीले बताउनुभयो ।
मुख्यमन्त्री चौधरीले दाङ, बाँके र बर्दिया जिल्लासहित लुम्बिनी प्रदेश भित्रका अन्य जिल्लामा बसोबास गर्ने स्थानीय थारु, गुरुङ, मगर लगायतका केहि जनजाती समुदायले परम्परागत रुपमा घरमै बनाउने लोकल रक्सीलाई ब्राण्डिङ गरेर बिक्रि गरि स्थानीयबासीको आयआर्जन तथा जिविकोपार्जनमा टेवा पुग्ने खालका विषेश योजना ल्याउने समेत बताउनुभयो । उहाँले आफ्नै गाउँठाउँमा स्थानीलाई रोजगार दिन सक्ने खालका योजना बनाउन आग्रह गर्दै मानव र वन्यजन्तुबीच द्वन्द्व रहेको बर्दियामा घाँस, दाउराका लागि वन जंगलमा आश्रित परिवारलाई ग्याँस वा विद्युतिय चुल्होे दिएर द्वन्द्व घट्न सक्ने हुन्छ भने लुम्बिनी प्रदेशले विषेश बजेट ल्याउने बताउनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्जसंग जोडिएका ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाको बीचमा पर्ने हात्तिसारको खौराह खोलादेखि गेरुवा नदि किनारमा रहेको गेरुवा गाउँपालिकाको मनाउबाट आउजाउ गर्न सकिने र पर्यटकिय गतिविधी संचालन गर्ने उद्देश्यका साथ झोलुङ्गे पुलको नयाँ डिजाईनमा स्काई ब्रिज निर्माणका लागि आफुले पटकपटक आग्रह गरेपछि मुख्यमन्त्रिले १ अर्ब रकम छुट्याउने प्रतिवद्धता जनाएकोमा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले प्रदेश सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
दाङको भालुबाङमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्यद्वय जन्मजय तिमिल्सीना, कृष्णा कुष्मा थारु, ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, उपप्रमुख बिना कुमारी भट्टराई, प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजाल, गेरुवा ग्रमिण जागरण संघका अध्यक्ष कृष्णजंग शाह, कार्यक्रम प्रमुख हरि सुवेदी लगायत प्रदेश अन्तरगत विभिन्न मन्त्रालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।