onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बाघ बढेसंगै मानव-वन्यजन्तुबीचको द्वन्द्व चुनौतीपूर्ण बन्दै

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ‘मानव-बाघ सहअस्तित्व’ नारा सहित आज विश्व बाघ दिवस मनाइएको छ । सन् २०१० देखि अन्तर्राष्ट्रियस्तरमा मनाउन थालिएको बाघ दिवसका अवसरमा आज शनिबार देशैभरी बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

बाघ अवलोकनका लागि पर्यटकहरुको रोजाईसंगै पश्चिम नेपालको पर्यटकीय गन्तब्यको रुपमा परिचित रहेको बर्दिया राष्ट्रिय निकुञ्जले पनि विश्व बाघ दिवसको अवसरमा निकुञ्ज मुख्यालय रहेको ठाकुरद्वारामा विविध कार्यक्रमको आयोजना गरेको छ ।

ठाकुरबाबा नगरपालिका-९, ठाकुरद्वारास्थित ठाकुरद्वारा मन्दिरको प्रवेशद्वार अगाडि निर्माण गरिएको बाघको सालिकमा पूजा गरेर कार्यक्रमको सुरुवात गरिएको हो । बाघ चोकमा रहेकोको सालिकमा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारी, निकुञ्जका कर्मचारी लगायतले पूजा गरेका हुन् । बाघ चोकबाट सुरु भएर बजार परिक्रमा गर्दै निकुञ्जको मुख्यालय प्रवेशद्वारमा गएर समापन भएको र्‍यालीमा स्थानीय विद्यालयका विद्यार्थीहरु, निकुञ्ज तथा संरक्षणमा सकृय संघसंस्थाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

बाघ दिवसको अवसरमा निकुञ्ज प्रशासनले सञ्चारकर्मी र संरक्षणकर्मीसंग बाघ संरक्षण र यसको चुनौती विषयमा अन्तरक्रिया गरेको छ । बाघको सङ्ख्या वृद्धि भएसंगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्नेसम्बन्धी विषयमा समेत छलफल गरिएको छ ।

छलफलका क्रममा बाघ संरक्षणका लागि मुख्य चुनौती चोरी सिकारी भए पनि पछिल्लो समय मानव र वन्यजन्तुबीच हुने द्वन्द्व पनि चुनौतीको रूपमा थपिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बताउनुभयो । बिरामी तथा बूढो भएको बाघ जंगल क्षेत्रबाट बाहिर निस्किएको अवस्थामा सिकार गर्न नसक्ने भएकाले बाघले द्वन्द्व बढाउने गरेको समेत उहाँले बताउनुभयो । बाघ र मानवबीच द्वन्द्व न्यूनिकरण गर्न रणनीतिक योजना बनाएर अघि बढेको प्रमुख संरक्षण अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

बाघ र मानवबीच सहअस्तित्व काय हुने विषेश कार्यक्रम ल्याएर पाटे बाघ लगायतका वन्यजन्तुबाट हुने क्षती कम गर्न दिगो व्यवस्थानका लागि सरकारले बैकल्पीक उपाय खोज्नुपर्ने अथवा वन्यजन्तुमैत्री संरचना बनाउनु पर्ने निकुञ्जका पूर्व संरक्षण अधिकृत रमेश थापाले बताउनुभयो ।

छलफलमा सहभागी वक्ताहरुले लोपोन्मुख अवस्थामा रहेको पाटेबाघले राष्ट्रिय निकुञ्जसंगै सामुदायिक वनहरूमा समेत बासस्थान बनाएकाले चौतर्फी त्रास बढ्न थालेको बताएका छन् । निकुञ्जको क्षेत्राधिकारमा संरक्षण कार्यक्रम प्रभावकारी भएकोमा खुशी लाग्ने गरेको भए पनी मानव र वन्यजन्तुबीच द्वन्द्व मौलाउँदा स्थानीयहरुमा त्रासको वातावरण सिर्जना भएको प्रती सहभागीहरुले चिन्ता ब्यक्त गरेका हुन् । मानव र वन्यजन्तुबिच सहअस्तित्व कायम राख्न निकुञ्ज भित्र पर्ने राजमार्ग क्षेत्रमा र संरक्षित जैविक मार्गक्षेत्रमा पर्ने हुलाकी सडकमा पनि वन्यजन्तुमैत्रि संरचनाहरु निर्माण गरिनु पर्ने धारणा राखेका छन् ।

चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यले राज्यले मानव र वन्यजन्तुबिचको द्वन्दको दीगो समाधानका लागि उचित कार्यक्रमहरुको ब्यवस्था गर्नुपर्ने बताउनुभयो । साथै दीर्घकालीन समाधानका लागि स्थानीयको आयआर्जनमा वृद्धि हुने कार्यक्रमहरु संचालन गर्नुपर्ने र निकुञ्ज, मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनको छेउछाउमा बसोबास गर्ने स्थानीयहरुले आफ्नो व्यवहारमा पनि परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो ।

लामो समयदेखि ठाकुरद्वारामा पर्यटन व्यवसाय संचालन गर्दै आउनुभएका पर्यटन व्यवसायी कृष्ण प्रसाद भट्टराईले पर्यटन क्षेत्रलाई कृषिसंग जोड्न सके मात्रै पनि स्थानीयहरुको जिविकोपार्जनमा थप सहजता हुने बताउनुभयो । स्थानीयहरुले उत्पादन गरेका कृषि उपज, मासुजन्य वस्तुहरु पर्यटन व्यवसायले स्थानीयस्तरमा नै खपत गर्न सक्ने धारणा उहाँले राख्नुभयो ।

करिब सय वर्षअघि विश्वमा बाघको संख्या १ लाखको हारहारीमा थियो । एक दशक अघिसम्म बाघको संख्या ३ हजार २ सयमा सीमित भएपछि विश्वमा यस्को संख्या दोब्बर बनाउने लक्ष्यसहित सन् २०१० नोभेम्बरमा रुसको सेन्ट पिटर्सबर्गमा भएको भेलाले निर्णय गरेको थियो । सोही अनुसार नेपालले बाघको संख्या दोब्बर बनाउन सफल भएको छ ।

हाल बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रलगायत मध्यवर्ती बाहिरका सामुदायिक वनहरूमा समेत बाघको संख्या वृद्धि भएको छ। बर्दियामा गत वर्षको गणनामा ८७ बाट बढेर बाघको संख्या १२५ पुगेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा बाघलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।

पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले जुलाई २९ मा बाघ दिवस मनाउने घोषणा गरेको हो । पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

Leave A Reply

Your email address will not be published.