त्रिभुवन नमूना विद्यालय कन्चनपुरको वार्षिक समिक्षा सम्पन्न
नगरले शिक्षामा लगानी गरेजति सिकाई उपलब्धी भएन : नगर प्रमुख लम्साल

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा रहेको त्रिभुवन नमूना माध्यमिक विद्यालयको वार्षिक समिक्षा तथा नव निर्मित भवनको उद्घाटन गरिएको छ । त्रिभुवन नमूना माध्यमिक विद्यालयको आर्थिक वर्ष २०७९/८० को वार्षिक समिक्षा तथा नव निर्मित १२ कोठे भवनको एक कार्यक्रमका बिच उद्घाटन गगरिएको हो ।
आर्थिक वर्ष २०७९/८० को समिक्षा कार्यक्रममा विद्यालयको आर्थिक, भौतिक, शैक्षिक लगायत विविध पक्षमा विद्यालयका प्रधानाध्यापक वामदेव ढकालले जानकारी गराउनु भयो । नेपाल सरकारको नमूना विद्यालय विकास कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७९/८० को बजेट मार्फते त्रिभुवन नमूना माध्यमिक विद्यालय भुरीगाँउ (कन्चनपुर)ले १२ कोठे भवन निर्माण गरेको छ । समिक्षा कार्यक्रमको अवसरमा ठाकुरबाबा नगर प्रमुख तिलकराम लम्सालले सो नव निर्मित भवनको उद्घाटन समेत गर्नु भएको छ ।
समिक्षा कार्यक्रममा विद्यालयको सम्पूर्ण पक्षको विषयका बारेमा प्रष्ट पार्दै विद्यालयको आर्थिक वर्ष २०७९/८० को वार्षिक खर्च विवरण १ करोड ७७ लाख ८७ हजार २७७ रहेको जनाइएको छ । विभिन्न जनशक्ति व्यवस्थापन, विज्ञान प्रयोगशाला, खानेपानी तथा शौचालयको व्यवस्था, सूचना प्रविधिको व्यवस्था लगायत १८ वटा प्रस्तावित कार्यक्रमको सन्दर्भमा पनि छलफल गरिएको छ । जिल्ला भरीका ११९ माध्यमिक विद्यालय मध्ये सबैभन्दा बढि विद्यार्थी संख्या रहेको विद्यालय अन्तरगत त्रिभुवन नमूना माध्यमिक विद्यालय रहेको छ ।
समिक्षा कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तिहरुले विद्यालयमा भएका गतिविधीहरुलाई थप सुधार गर्नुपर्ने विषयमा जोड दिँदै सल्लाह, सुझाव, आशा र अपेक्षा राखेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लम्सालले नगरपालिकाले शिक्षामा जति लगानी गरेको छ त्यति मात्रामा सिकाई उपलब्धीमा सुधार नभएको बताउनु भयो । नगरपालिकाले सबैभन्दा बढि शिक्षामा लागानी गरेको तर लागनी अनुसारको उपलब्धी नभएको बताउँदै अभिभावक, शिक्षक, विद्यार्थी सबैको साथ र सहयोग उत्तिकै मात्रामा हुनुपर्नेमा जोड दिनुभयो । उहाँले “भन्नुभयो जबसम्म शिक्षामा प्रगती हुन सक्दैन तबसम्म मानवपूँजी निर्माण गर्न नसकिने भएकाले मानवपूँजी निर्माणमा विशेष जोड दिनुपर्छ ।”
नगर उपप्रमुख बिना कुमारी भट्टराईले अबदेखि माध्यमिक तहमा हप्तामा एक दिन जीवन उपयोगी सिपका कक्षा सञ्चालन गर्ने बताउनुभयो । जीवन उपयोगी कक्षा सञ्चालनले गर्दा व्यवहारिक शिक्षा पनि लागु हुने भट्टराईले बताउनुभयो । सहभागिहरुले विद्यालयको समस्याहरुलाई समाधान गर्न र आगामी दिनहरुमा शिक्षालाई थप प्रभावकारी रुपमा लैजान सुझाव दिएका छन् ।