ठाकुरबाबा नगरपालिकाले माग्यो १२ जना नगर प्रहरी
भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले करार सेवामा १२ जना नगर प्रहरी माग गरेको छ । नगरपालिकाले साउन ९ गते मंगलबार सूचना निकालेर नगर प्रहरी माग गरेको हो । नगरपालिकाले नगर प्रहरी नायव निरीक्षक, नगर प्रहरी सहायक निरीक्षक, नगर प्रहरी हवल्दार र नगर प्रहरी जवान गरी १२ जना नगर प्रहरी माग गरेको छ ।
नगर प्रहरी नायव निरीक्षक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने अथवा नेपाल प्रहरीमा बहाल हुँदाको समयमा निरीक्षक, सो सरह वा सोभन्दा माथिको पदमा कार्य गरी सेवा निवृत्त भएको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ । नगर प्रहरी सहायक निरीक्षक र नगर प्रहरी हवल्दार पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने अथवा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी मध्य कुनैमा बहाल हुँदाको समयमा सहायक निरीक्षक अथवा सो सरह वा सोभन्दा माथिको पदमा कार्य गरी सेवा निवृत्त भएको हुनुपर्ने छ ।
यस्तै नगर प्रहरी जवान पदका लागि भने मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.ई.ई. वा सो सरहको परिक्षा उत्तीर्ण गरेको हुनुपर्ने योग्यता तोकिएको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिनुभयो । नगर प्रहरी ननायव निरीक्षक, नगर प्रहरी सहायक निरीक्षक र नगर प्रहरी हवल्दारको हकमा २१ वर्ष पुराभई ४५ वर्ष ननाघेको र नगर प्रहरी जवानको हकमा २१ वर्ष पुरा भई २४ वर्ष ननाघेको नेपाली नागरिकहरुले साउन २३ गते मंगलबार कार्यालय समयभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।
सम्पूर्ण पदहरुका लागि पुरुष आवेदकको हकमा उचाई कम्तीमा ५ फिट, छाती ३१ देखि ३३ इन्च र तौल कम्तिमा ५० किलोग्राम हुनुपर्नेछ भने महिलाको हकमा उचाई घटिमा ४ फिट १० इन्च र तौल कम्तिमा ४२ किलोग्राम हुनुपर्ने बताइएको छ । पदपूर्ती गर्दा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा काम गरी सेवा निवृत्तहरुलाई विशेष प्राथमिकता दिइने जनाइएको छ ।
योग्यता पुगेका तथा नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा सजाय नपाएका व्यक्तिहरुले आफ्नो व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता तथा अनुभवका प्रमाणपत्र, हालको स्थायी ठेगाना खुल्ने कागजात र मान्यता प्राप्त चिकित्सकबाट प्रमाणित गरिएको निरोगिताको प्रमाणपत्र संलग्न गरी ठाकुरबाबा नगरपालिकाको कार्यालयमा बुझाउन प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालद्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस् सूचना :