onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

विपीको स्मृतिमा वृक्षारोपण

Sambad ADD long

भुरीगाउँ, बर्दिया : नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको स्मरणमा शनिबार विपी स्मृति दिवस मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गरेका दूरदर्शी नेता कोइरालाको विक्रम संवत् २०३९ साल साउन ६ गते निधन भएको थियो । प्रत्येक वर्षको साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ ।

४१औं विपी स्मृति दिवसका अवसरमा शनिबार बर्दियामा पनि विभिन्न कार्याक्रम गरिएको छ । नेपाली काँग्रेस ठाकुरबाबा नगर कमिटीको आयोजनामा ठाकुरबाबा नगरपालिका वडा नम्बर २ मा नगर प्रमुख तिलकराम लम्साल सहितको उपस्थितीमा वृक्षारोपण गरिएको छ । ठाकुरबाबा नगर प्रमुख लम्साल सहित, नेपाली काँग्रेसबाट उम्मेदवार बनी विजयी वडा अध्यक्ष, वडा सदस्य र काँगेसका सकृय नेता तथा कार्यकर्ता लगायतको सहभागितामा वडा नम्बर २ को कार्यालय प्राङ्गणमा वृक्षारोपण गरिएको हो । विपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस ठाकुरबाबा नगर कमिटीले वृक्षारोपण तथा विचार गोष्ठीको आयोजना गरेको नेपाली काँग्रेस ठाकुरबाबा नगर सभापति पदम बहादुर खड्काले जानकारी दिनुभयो ।

विचार गोष्ठीलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य सञ्जय कुमार गौतमले महामानव विश्वेश्वर प्रसाद कोइरालाका विचारहरु आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस बर्दियाका पूर्व सचिव विद्या प्रसाद खनाल, नेपाल पत्रकार महासंघ बर्दियाका पूर्व अध्यक्ष राजेन्द्र प्रसाद धिताल लगायतका वक्ताहरुले विपीको जीवनी एवम् प्रजातान्त्रिक आन्दोलनमा विपीको योगदानको चर्चा गर्नुभयो । यस्तै विपी स्मृति दिवसको अवसरमा नेपाल प्रेस युनियन जिल्ला शाखा बर्दियाको आयोजनमा गुलरियामा आजको सन्दर्भमा विपि कोइरालाका विचारहरुको महत्त्व विषयक विचार गोष्ठी कार्यक्रम गरिएको नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष दिपकलाल श्रेष्ठले जानकारी दिनुभयो ।

विक्रम संवत् २००५ सालमा बनारस, २००९ सालमा जनकपुर र २०१७ सालमा काठमाण्डौमा भएको काँग्रेसको महाधिवेशनमा विपीले उक्त पार्टीको सभापतिको जिम्मेवारी प्राप्त गर्नु भएको थियो । २०१५ सालमा बहुदलीय व्यवस्थामा आधारित संसदको निर्वाचनमा विराटनगरबाट विजयी बन्नु भएका विश्वेश्वर प्रसाद कोइराला २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १ गतेसम्म नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नु भएको थियो ।

राजनीतिका साथै साहित्यका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याउनु भएका कोइरालाका तीन घुम्ती (२०२५), नरेन्द्र दाइ (२०२६), सुम्निमा (२०२७), मोदीआइन (२०३६), हिटलर र यहुदी (२०४०), बाबु, आमा र छोरा (२०४५), उपन्यास एवम् कथातर्फ – मेरो कथा (२०४०), दोषी चश्मा (२०३९) र श्वेत भैरवी (२०३९) प्रकाशित छन् । उहाँका साहित्यिक कृतिहरू विशेषतः यौन मनोविज्ञानमा आधारित छन् । विपी कोइरालाको तस्वीर अङ्कित पहिलो हुलाक टिकट २०४७ सालमा प्रकाशन भएको थियो ।

Leave A Reply

Your email address will not be published.