
भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाको ९ वटै वडाका कृषकहरुलाई भाँसको बेर्ना उपहार प्रदान गरिएको छ । ठाकुरबाबा नगरपालिकाको आर्थिक तथा प्रविधिक सहयोग, हेफर प्रोजेक्ट नेपाल र उज्यालो नेपालको साझेदारीमा सञ्चालित ‘आर्थिक सम्वृद्धिका लागि साझेदारी कार्यक्रम’ कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजनाद्वारा ठाकुरबाबा नगरपालिका अन्तरगतका सबै वडामा रहेका १८ वटा समूहका सदस्यहरुलाई ८ प्रकारको घाँसको बेर्ना उपहार प्रदान गरिएको हो ।
दानामा आधारित पशुपालन हुँदा दुध तथा मासु उत्पादनमा लागत बढ्ने तर उत्पादित कृषि उपजको मुल्य यथावतै रहने हुँदा किसानको आर्थिक वृद्धि हुन कठिन भएकाले घाँसमा आधारित पशुपालन गर्दा मासु तथा दुध उत्पादनमा लागत घटाउन सकिने भएकाले परियोजनाले किसानहरुलाई घाँसको बेर्ना उपलब्ध गराएको प्रविधिक संयोजक कमल खड्काले बताउनुभयो ।
ठाकुरबाबा नगरपालिका भित्रका ९ वटै वडाका १८ वटा मुल समूहका सदस्यहरुलाई घाँसको बेर्ना उपहार प्रदान गरिएको हो । कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजना मार्फत् किसानहरुको आयआर्जनमा वृद्धी गरी आर्थिक उपार्जन गराउने उद्देश्यका साथ विभिन्न किसिमका डाले तथा भुइँ घाँस, एक वर्षिय तथा बहुवर्षिय घाँस र पशु पोषणको लागि आवश्यक पर्ने घाँसका बिरुवा तथा बेर्नाहरु किम्बु, बोकाईनो, पासपलम, इन्दु, भट्मासे, इपिलिपी, रेडनिपियर लगायतका बेर्ना उपहार मोडेलमा वितरण गरिएको परियोजनाका संयोजक यम बहादुर थापाले जानकारी दिनुभयो ।
५५ हजार विभिन्न किसिमका डाले तथा भुइँ घाँस, एक वर्षिय तथा बहुवर्षीय घाँसको खरिदमा ४ लाख लागत खर्च लागेको परियोजनाले जनाएको छ । ठाकुरबाबा नगरपालिकाको ९ वटै वडामा गठन गरिएका मुल समूहलाई अभियानकै रुपमा लग्ने उद्देश्यले उपहार मोडेलमा घाँसको बेर्ना वितरण गरिएको हो । कृषकहरुले प्राप्त गरेका घाँसका बेर्नाहरु अन्य समूह तथा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा जोडिएका कृषकहरूलाई समेत वितरण गर्नुपर्ने गरि विभिन्न किसिमका घाँसहरुको बेर्ना उपहार प्रदान गरि कार्यक्रम सम्पन्न भएको छ ।