onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

२४औं मुक्त कमैया पुनःस्थापना दिवस, कमैया मुक्ति घोषणाको २३ वर्ष

मुक्त कमैयाको जग्गाधनी पुर्जा किनबेच तथा धितो राख्न मिल्ने निर्णय गर्ने लुम्बिनी प्रदेश मुख्य मन्त्री डिल्ली बहादुर चौधरीको प्रतिबद्धता

Sambad ADD long

बर्दिया : आज २४ औं मुक्त कमैया पुनस्स्थापना दिवश नेपाल सरकारले कमैया मुक्तिको घोषणा गरेको २३ वर्ष पुगेको छ । २०५७ साल साउन २ गते नेपाल सरकारले कमैया मुक्तिको घोषणा गरेको हो ।

पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने मुख्यतः थारु समुदायले जमिन्दारको घरमा कमैया भएर काम गर्ने प्रथालाई अन्त्य गर्न सुरु भएको आन्दोलनका अभियन्ता मुक्त कमैयाको हकहितका लागि आवाज उठाउने लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीसहितको उपस्थितिमा बर्दियाको राजापुरमा दिवस मनाइएको हो ।

आज २४ औं मुक्त कमैया पुनःस्थापना दिवसको अवसरमा मुक्त कमैया मुल समारोह समितीको आयोजनामा भएको कार्यक्रममा मुख्य मन्त्री डील्ली बहादुर चौधरीले सबै मुक्त कमैयाहरुको स्वास्थ्य विमा गर्ने, जग्गा फुकुवा गर्ने र जग्गा बेच्न पाउने निर्णय गर्ने प्रतिवद्धा ब्यक्त गर्नुभयो ।

पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा कमैया र कम्लहरी प्रचलन कायम थियो । साँझ बिहानको छाक टार्न अरुको घरमा श्रम गर्ने एक प्रकारको प्रथा थियो कमैया र कम्लहरीको । जमिन्दारको घरमा काम गर्ने कमैया र कम्लहरीको नत भूमिमा स्वामित्व थियो न त घरबास नै । उक्त अवस्थाको अन्त्य गर्ने उद्देश्यले नेपाल सरकारले कमैया मुक्तिको घोषणा गरेको आज ठ्याक्कै २३ वर्ष पूरा भएको छ । तर यति लामो समयसम्म पनि बर्दियामा मुक्त कमैयाको पुनःस्थापना टुंगिएको छैन ।

सरकारले मुक्त कमैया छैनन् भनी घोषणा गरेको यति समय भइसक्यो तर उनीहरुको अवस्था त्योभन्दा माथि उठ्न भने सकेको छैन । ‘हाम्रा माग पूरा नहोलान्, अनि सुखी नेपाली समृद्ध नेपाल कसरी सम्भव हुन्छ’ भनी मुक्त कमैयाहरुले सरकारसँग प्रश्न समेत गर्न थालेका छन् ।

जसको मुद्धा उसको लडाई, जसको लडाई उसको अगुवाई भन्ने नारा सहित मनाइएको हो । विभिन्न कारणले अझै पनि मुक्त कमैयाहरु पुनःस्थापना हुन बाँकी रहेकाले तत्काल पुनःस्थापना गर्नुपर्ने, घर निर्माणका लागि काठ बापतको अनुदान रकम पाउन नसकेको उल्लेख गर्दै स्थानीय तह मार्फत बाँकी रहेका कमैयालाई तत्काल पुनस्स्थापना गर्न माग हुने गरेको छ । पुनःस्थापना गरेर बासको व्यवस्था गरिएपनि शिक्षा स्वास्थ्य लगाएतका क्षेत्रमा सरकारले चासो नदिएको मुक्तकमैयाहरुको भनाई छ ।

तत्कालीन सरकारले मुक्तकमैया घोषणा गरेयता बर्दियामा हालसम्म १० हजार ७ सय ३२ जना पुनःस्थापित, मुक्तकमैयाका छोराछोरी काम नपाएर स्वदेश र विदेशमा ज्याला मजदुरी गर्न बाध्य छन् । तत्कालीन सरकारले ०५७ साल साउन २ गते मुक्तकमैया घोषणा गरेयता बर्दियामा हालसम्म १० हजार ७३२ जनालाई पुनःस्थापित गरिएको छ । ०७६ सालमा कुल १० हजार ७ सय ९७ जनाले मुक्तकमैया परिचयपत्र प्राप्त गरेका थिए ।

त्यस समय सम्पर्कमा नआएका ६५ जना मुक्त कमैयालाई पुनःस्थापना गर्न सकिएको थिएन । पुनःस्थापनाको जिम्मा लिएको साबिकको भूमिसुधार कार्यालयलाई सरकारले ०७६ बाट काम नगर्न निर्देशन दिएको थियो । सरकारले यसको जिम्मा पालिकालाई दिएको थियो । पालिकाले जिम्मा लिएपछि ५३ जना सम्पर्क बाहिर रहेको भूमिसुधार तथा मालपोत कार्यालयका कम्प्युटर अपरेटर रामजी चौधरीले बताउनुभयो । ‘६५ जनामध्ये आठै पालिकाले १२ जना पुनःस्थापना गराएका थिए,’ उहाँले भन्नुभयो ‘अन्य कस्तो अवस्थामा कहाँ छन् अत्तोपत्तो छैन ।’

बर्दिया जिल्लामा १६ हजार २६२ जना मुक्तकमैयाको संख्या रहेको दाबी अगुवाले गर्दे आएका छन् । गैरसरकारी संघ÷संस्थामा आवद्ध मुक्तकमैयाले सरकारले लगत ठीक नभएको बताउँदै आएका छन् । मुक्तकमैयाका अगुवा दुखराम थारुले ५ हजार बढी मुक्तकमैयाले अझै परिचयपत्र नपाएको गुनासो पोख्नुभयो ।

साबिकको भूमिसुधार कार्यालयले वास्तविक लगत अनुसार १० हजार ७९७ रहेको जनाएको छ । ‘मुक्तकमैया घोषणा भएको २४ औं वर्ष प्रवेश गर्दा सरकारले रोजगारी, शिक्षा, स्वास्थ्यमा अझै ध्यान पुगेको छैन । मुक्तकमैयाका लागि सरकारले भने अनुसारका माग अझै पूरा गर्न सकेको छैन ।’ मुक्तकमैयाका छोरा, छोरी काम नपाएर स्वदेश र विदेशमा ज्याला मजदुरी गर्न बाध्य भएका छन् । सरकारले ५ कट्ठा जग्गा दिने भने पनि १० धुरदेखि ३ कट्ठा जग्गाधनी पुर्जा वितरण गरेकोले आम्दानीको स्रोत नभएकोले ज्याला मजदुरी गर्न बाध्य रहेको गुलरिया ८ का जयराम थारु बताउनुहुन्छ । ‘सरकारले कम्तिमा एक घर एक रोजगारको व्यवस्था गरोस्, अनि मात्र समस्याको केही समाधान हुने थियो उहाँले भन्नुभयो ।

मुक्ति भएको २४ वर्षमा प्रवेश गर्दा पनि बर्दियाका मुक्तकमैयाको समस्या समाधान हुन सकेको छैन । मुक्त भएको खुशीयाली भएपनि आयस्रोतदेखि स्वास्थ्य, शिक्षा लगायत आयमूलक काम नपाउँदा उत्सवको अर्थ नहुने मुक्तकमैया शंकर थारुले बताउनुभयो ।

कैयौंले प्राप्त गरेको जगगाधनी पुर्जा नदीको तटीय क्षेत्र, बालुटे, उब्जनी नहुने र अपायक भन्दै सट्टा भर्नाका लागि माग गरेपनि समस्याको समाधान हुन सकेको छैन । कतिपय त्यहाँ बस्न नसकेर पुरानै ठाउँमा जग्गाधनीको जग्गा बटैया गरी जीविकोपार्जन गर्दै आएको गुनासो गरेका छन् । मुक्तकमैया विन्तीराम थारुले पटकपटक समस्या समाधानका लागि माग गरेपनि सम्बन्धित निकायले वास्ता नगरेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.