ठाकुरबाबा : विद्यालयलाई प्रविधि मैत्री बनाउन शिक्षकहरुलाई कम्प्युटर तालिम

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले नगरमा सञ्चालित सामुदायिक विद्यालयहरुलाई प्रविधि मैत्री बनाउने अभियान सुरुवात गरेको छ । विद्यालयहरुमा सूचना, प्रविधिको प्रयोगलाई बढाउन तथा शिक्षामा प्रविधि सहितको जनशक्ति तयार गर्न सुरुवात गरिएको हो ।
नगरमा सञ्चालित सामुदायिक विद्यालयहरुमा सूचना प्रविधिको प्रयोगलाई बढाउन र शिक्षामा प्रविधि सहितको जनशक्ति तयार गर्नका लागि १८ दिने आधारभूत कम्प्युटर तालिमको सञ्चालन गरिएको नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिनुभयो । वर्षे बिदाको समयमा बिदाको सदुपयोग गर्दै सामुदायिक विद्यालयका शिक्षकहरुलाई कम्प्युटर तालिमको व्यवस्था गरिएको नगर प्रमुख लम्सालले बताउनुभयो । सूचना र सञ्चार प्रविधिमा भएको तीव्र विकासले गर्दा अहिलेको आधुनिक विश्वनै एक गाउँमा रूपान्तरण भएको बताउँदै दिगो विकासका बृहत्तर लक्ष्य हासिल गर्न अवलम्बन गरिएका रणनीतिको केन्द्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग महत्वपूर्ण रहेको समेत नगर प्रमुख लम्सालले बताउनु भयो ।
विश्वव्यापी रूपमा सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगले सामाजिक अन्तरक्रिया तथा सेवा प्रवाह लगायतका सार्वजनिक महत्वका विषय सहज र सरल हुँदै गर्दा शिक्षामा प्रविधिको प्रयोग अनिवार्य भएको नगरपालिकाका शिक्षा सुपरिवेक्षक नन्दराम अधिकारीले बताउनु भयो । प्रविधिको प्रयोगले शिक्षण शिकाइमा पनि सहजता ल्याएको अनुभव सुनाउँदै शिक्षा सुपरिवेक्षक अधिकारीले भन्नुभयो “युगानुकूल प्रविधिको विकास तथा उपयोग गर्ने मुलुकको शैक्षिक, आर्थिक, सामाजिक लगायत विभिन्न क्षेत्रमा भएको प्रगति र उन्नति तथा प्रविधिमा पछाडि रहेका र कम पहुँच हुने मुलुकबीच ठूलो खाडल रहेको वर्तमान सन्दर्भमा शिक्षामा सूचना तथा सञ्चार प्रविधिको उपयोगमा देखिएको असमानता कम गर्दै प्रविधि प्रयोगको भविष्यलाई थप आशावादी बनाउनुपर्ने देखिन्छ । शिक्षा तथा सूचना र सञ्चार प्रविधिबीच अन्योन्याश्रित सम्बन्ध छ ।”

शिक्षामा सूचना, प्रविधिको प्रयोगबाट शैक्षिक अवसर विस्तारका साथै शैक्षिक गुणस्तर सुनिश्चित गर्ने, सिकाइलाई प्रभावकारी र दिगो बनाउनु तथा नवीनतम ज्ञानको संसारमा सहज प्रवेश गराउन सक्ने विषय प्रमाणित भइसकेको छ । यसका साथै प्रविधिको प्रयोगले शैक्षिक व्यवस्थापनमा प्रभावकारिता ल्याउन मूल्यांकन प्रणालीमा सुधार गर्ने, शैक्षिक सुशासनको प्रत्याभूति गर्नुका साथै शैक्षिक सेवा प्रवाहमा प्रभावकारिता ल्याउन सूचना तथा सञ्चार प्रविधिको प्रयोग अनिवार्य जस्तै भएको छ । त्यस्तै विद्यालय क्षेत्र सुधार कार्यक्रममा भएको व्यवस्था एवं राष्ट्रिय पाठ्यक्रम प्रारूपमा भएको व्यवस्थाले पनि आईसीटी प्रयोगको सान्दर्भिकतालाई थप पुष्टि गरेको छ ।