नेवार समुदायले आज गठेमंगल पर्व मनाउँदै
काठमाण्डौ : आज नेवार समुदायले गठेमंगल पर्व मनाउँदै छन् । साउन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई ‘घण्टाकर्ण चतुर्दशी’ पनि भनिन्छ । आज दिउँसोपछि चतुर्दशी तिथि लाग्ने भएकाले गठेमंगल अर्थात घण्टाकर्ण चतुर्दशी आजै मनाउन लागिएको हो ।
आजको दिन दुष्ट आत्मा र भूतप्रेत भगाउन भन्दै घर सरसफाइ गरी राक्षसी स्वरूपको घण्टाकर्ण दहन गर्ने चलन छ । ठड्याइएको नर्कटबाट बनाइएको गठेमंगल घाम अस्ताएपछि छ्वाली बालेर परिक्रमा गरेर ढालेपछि नदीमा लगेर विसर्जन गर्ने परम्परा छ । धान रोपी सकिएपछि घरभित्रका दूषित कीटाणु भगाउन धुप बालेर धुँवा पठाउने गरिन्छ । जसबाट कीटाणु भाग्ने जनविश्वास छ ।
यस्तै घरको ढोकामा भूतप्रेत र अरु डरत्रासबाट जोगिन भन्दै फलामको तीनखुट्टे ओदान पनि गाड्ने गरिन्छ, । विभिन्न ग्रह तथा भूतप्रेतबाट बच्न भन्दै फलामको औंठी लाउने चलन पनि रहेको छ ।