
राजापुर, बर्दिया : केहि दिन अघि प्रकाशन भएको माध्यमिक शिक्षा परिक्षा (एस.इ.ई.)को नतिजामा बर्दियाबाट अक्सिडेन्टल एकेडेमीले प्रथम स्थान प्राप्त गरेको छ । अक्सिडेन्टल एकेडेमीले एस.इ.ई.मा समावेश भएका जिल्लाका ११६ वटा विद्यालयलाई पछाडी पार्दै प्रथम हुन सफल भएको हो । यस वर्ष अक्सिडेन्टल एकेडेमीबाट २५ जना विद्याार्थीहरुले एस.इ.ई. दिएकोमा औषत ३.४२ जि.पि.ए. ल्याई जिल्लामै प्रथम भएको हो ।
उच्च शिक्षाका लागि खुल्ला आकाशमा उड्न र रमाउन तयार भएका विधार्थीहरु एस.इ.ई. परिक्षामा पास भएकोमा बाहिरबाट खुशी देखिए पनि आफुले वर्षौंदेखी अध्ययन गर्दै आएको विद्यालयबाट बिदाइको पिडा सजिलै अनुहारमा देख्न सकिन्थ्यो । विगतमा धेरै कठोर र आवश्यकता पर्दा थोरै कोमल भएर मार्गदर्शन गर्ने शिक्षकहरुको अनुहार पनि मलिन थियो ।
जिल्लामै प्रथम भएपछि विद्यालय प्रशासनले विद्यार्थी, शिक्षक, अभिभावक एवम् विद्यालय परिवार संगं खुशी साट्नका लागि बधाई एवम् शुभकामना कार्यक्रमको आयोजना गरेको हो । बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै भर्खरै एस.इ.ई. उत्तिर्ण छात्रा आशिका पौडेलले भन्नुभयो “सफलताको मुलमन्त्र लगनशिलता एवम् कठोर परिश्रम हो । लगनशिलता एवम् कठोर परिश्रमले नै आज हामीहरु एस.इ.ई.मा सफल भएका छौं ।” विगतका वर्षहरुमा पनि राम्रो परिणाम ल्याउने गरेको अक्सिडेन्टल एकेडेमीले यस वर्ष जिल्लामानै उत्कृष्ठ नतिजा प्राप्त गरेपछि नयाँ भर्ना गर्न आउने विद्यार्थीको सख्यामा बृद्दि हुने अनुमान अभिभावकहरुले गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरिराज आचार्यको सभापतित्वमा आयोजना भएकोे कार्यक्रममा बोल्दै विद्यालयका सस्थापक बलराम भण्डारीले अहिले प्राप्त भएको सफलतामा विद्यार्थी, अभिभावक, शिक्षक एवम् गैर शिक्षक, कर्मचारी सबैको योगदान रहेको स्मरण गर्नुभयो ।
हाल बर्दियामा ८७ वटा सामुदायिक र ३० वटा निजी विद्यालय गरी ११७ वटा विद्यालयले माध्यमिक शिक्षा परिक्षामा सहभागिता जनाएका थिए । विक्रम संवत् २०६४ सालमा स्थापना भएको अक्सिडेन्टल एकेडेमीले २०७० सालदेखी एस.इ.ई.मा सहभागिता जनाउँदै आएको छ । २०७४ सालमा जिल्लामा छैठौं र २०७५ सालमा जिल्लामा दोस्रो स्थान प्राप्त गरेको थियो । यसैगरी २०७० सालदेखी २०७९ सालसम्म राजापुर नगरपालिकामा नगरप्रथम हुँदै आएको छ ।