राजापुर, बर्दिया : विजुलीको पोल खसेर विद्युत् अवरुद्द भएको एकसाता वित्दा पनि सम्बन्धित निकायले विद्युत् सुचारु गर्न चासो नदेखाउँदा स्थानीयहरु पिडित भएका छन् । विद्युत् अवरुद्द भएको एकसाता बितिसक्दा पनि स्थानीय सरकार तथा विधुत प्राधिकरणले बिजुली सुचारु गर्न पहल नगर्दा राजापुर नगरपालिकाको वडा नम्बर ८ मा पर्ने नयाँ बस्तीका स्थानीय अध्यारोमा बस्न बाध्य भएका छन् ।
भोगपुरको नयाँ बस्तीमा गत माघ महिनामा प्रधानमन्त्री स्वरोजगार योजना अन्तरगत सडकको दुवैछेउमा नाली निर्माण गरिएको छ । नाली निर्माणसंगै सडकमा माटो पटान गरेर उच्चा बनाइएकोमा अहिले वर्षातको समयमा कटान भई विजुलीका पोलहरु ढलेर विद्युत् सेवा अवरुद्द भएको हो । गर्मीको समय तराई क्षेत्रमा सर्पको त्रास बढ्दो हुने भएकाले विद्युत् अवरुद्द हुँदा अँध्यारोले स्थानीयको दैनिकी समेत प्रभावित भएको छ ।
अवरुद्ध विद्युत् सेवा सुचारू गर्न प्रधानमन्त्री स्वरोजगार योजना, विद्युत् प्राधिकरण र स्थानीय सरकार कसैले पनि चासो नदेखाउँदा एकसातादेखि स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । सेवा सुचारू गर्न तदरुकता देखाउनु पर्ने निकायहरु भने एक-अर्कालाई दोषारोपण गर्दै बसेको स्थानीय वासिन्दाहरुको गुनासो छ ।
नयाँ बस्तीमा हाल दुईवटा पोल ढलेको छ भने कैयौं पोलहरु ढल्ने अवस्थामा रहेका छन् । गर्मीको समयमा विद्युत् नहुँदा स्थानीयहरु गर्मी छल्न चौतारी र पशुगोठमा बस्ने गरेका छन् । विद्युत् अवरुद्ध भएको सातादिनसम्म पनि मर्मतमा कसैले चासो नदेखाउनु र स्थानीय सरकार पनि मौन बस्नुले स्थानीय सरकार भएको महशुसनै नभएको राजापुर नगरपालिका वडा नम्बर ८ का गोविन्द चौधरीले बताउनुभयो ।
प्रधानमन्त्री स्वरोजगार योजनाका प्रमुख रमेश पोखरेलका अनुसार बाटो खन्दा विजुलीको पोलमुनी २ फिट छोडेर खनिएको र पोल ढल्नसक्ने अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेको जानकारी सहित वडा कार्यालयलाई ग्राभेल हाल्न भनिएको थियो । उहाँले भन्नुभयो “६ महिना पहिले भएको कामको प्रभावले अहिले नोक्सानी भयो भनेर हामीले कसरी जिम्मा लिने ?”
जनताका कुनैपनि समस्या भए र त्यसको समाधान नभेटिए गुनासो गर्ने निकाय स्थानीय सरकार हुनुपर्ने हो तर नयाँ बस्तीमा विद्युत् अवरुद्ध भएको विषयमा जनप्रतिनिधिलाई पटक पटक जानकारी गराउँदा पनि कुनै पहलकदमी भएको छैन । राजापुर नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष राजकिरण थारुले पोल ढलेको आफुहरुलाई जानकारी हुनसाथ विद्युत् प्राधिकरणलाई जानकारी गराएको भए पनि काम नभएको बताउनुभयो ।
यस विषयमा जानकारी लिन खोज्दा विद्युत् प्राधिकरण राजापुर वितरण केन्द्रका प्रमुख सुनिल पौडेलले भन्नुभयो “प्रधानमन्त्री स्वरोजगार योजनाले बाटो खन्दा लापरवाही गरेको कारण पोलहरु ढलेका हुन् । प्राविधिकले त्यहाँको माटो निकाल्दा भविष्यमा पोल खस्न सक्ने वा नसक्ले यकिन गरेर मात्र खन्नुपर्ने थियो । यद्यपी यो विषयमा आफुलाइ जानकारी प्राप्त भएसंगै सो ठाउँमा नयाँ पोल खसाइ सकेको तर पोल कहाँ गाड्ने भनेर अझसम्म पनि वडा कार्यालयबाट समन्वय नभएकाले काम हुन नसकेको हो ।”