onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दियामा खसीको मासुमा मिसावट, भुरीगाउँमा बाख्राको मासुलाई खसी भनेर बिक्री गर्न तयार १६ किलो मासु बरामद

Sambad ADD long

भुरीगाउँ, बर्दिया : आजभोली बजारमा धेरै बिक्री हुने वस्तुमा पर्छ माछा र मासु । अधिकाँशले मन पराउने मासु, त्यसैमा पनि खसीको मासु, खसीको मासुको न बिक्री घट्छ छ, न त भाउ नै । तपाइँले खसीको भनेर लैजाने गरेको मासु खसीको मात्रै नहुन पनि सक्छ । खसीको मासु भनेर खसीको मासुमा बाख्राको मासु, भेडाको मासु र राँगाको मासु पनि मिसाएर बिक्री भइरहेको भन्ने गुनासो दिनप्रतिदिन बढिरहेको छ । खसीको मासुमा बाख्रीको, भेडाको वा राँगाको मासु मिसावट गरि बेच्न लागेको प्रमाणसहित फेला पारेमा उनिहरु कारबाहिमा त पर्छन् तर कस्तो ठाउँमा र कतिबेला खसी काटिन्छ, कहाँ काटिन्छ कतिबेला खसीको मासुमा मिसावट हुन्छ अत्तोपत्तो हुँदैन र अनुगमन नहुँदा प्रमाण पनि फेला पर्दैन ।

बर्दियाका ८ ओटै पालिका भित्रका मुख्य बजारहरुमा खसीको मासुमा मिसावट गरि बेच्ने क्रम बढेको जनगुनासो आएको छ । मासु पसलहरुले कसैले नदेख्ने गरि बन्द कोठामा लुकाएर बाख्री काट्ने गरेको सूचना पाए पनि पुष्टि हुन सकेको थिएन । तर जनगुनासो पश्चात धेरैपछि गरिएको अनुगमनबाट खसीको मासुमा व्यापारीहरुले बाख्रीको मासु मिसाएर बेच्ने गरेको खुलासा भएको छ । बर्दियाको गुलरिया, बाँसगढी, भुरिगाउँ, सानोश्री, राजापुरसहितका अधिकाँश बजार क्षेत्रमा बन्द कोठा भित्र कसैले नदेख्ने ठाउँमा बाख्री र खसी काटेर खसीको मासुमा मिसावट गरेर बेच्ने क्रम बढेको आशंका गर्दै जनगुनासो बढेपछि भुरिगाउँ बजारका मासु पसलहरुमा जिल्ला प्रशासन कार्यालयबाट खटिएको टोलीले अनुगमन गर्दा प्रमाणसहित फेला पारेपछि खुलासा भएको हो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका १ भुरिगाउँ बजारमा बाख्रीको मासुलाई खसीको मासु भनि बेच्न तयार पार्दै गरेको अवस्थामा अनुगमनमा खटिएको टोलीले प्रमाणसहित १६ किलो बाख्रीको मासु फेला पारेको छ । जिल्ला प्रशासन कार्यालयबाट विहानै ५ बजे भुरिगाउँ बजारमा पुगेको अनुगमन टोलीले बाख्रीको मासुलाई खसीको मासु भनेर बिक्री गर्न ठिक्क पार्दै गरेको अवस्थामा १६ किलो बाख्रीको मासु बरामद गरेको हो । खसीको मासु मात्रै बेच्ने प्रयोजनका लागि खोलिएका भुरिगाउँ बजारका मासु पसलहरुमा बाख्रीको मासु मिसावट गरि बिक्री भइरहेको भन्ने जनगुनासोका आधारमा जिल्ला प्रशासन कार्यालयबाट विहानै खटिएको अनुगमन टोलीले बाख्री काटेर खसीको मासु भनेपछि बरामद गरिएको हो । बरामद गरिएको मासु जमिनमा गाडिएको उद्योण बाणिज्य संघका अध्यक्ष गोविन्द प्रसाद आचार्यले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्याल, एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख सागर ढकाल, उद्योग बाणिज्य संघ ठाकुरबाबाका अध्यक्ष गोविन्द प्रसाद आचार्य, इलाका प्रहरी कार्यालय भुरिगाउँका इनिस्पेक्टर पवन पछाईसहित खटिएको टोलीले भुरिगाउँ बजारको नेपाल टेलिकम कार्यालयको टावर नजिक घरडेरा भई गुलरिया रोडमा पर्ने बसपार्क नजिक शेर अली कुरेसी मासु पसलमा बाख्री काटेर खसीको मासु भनी बेच्न तयार १६ किलो मासु बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालले जानकारी दिनुभयो । पसलभन्दा टाढा शेर अलिको घरडेरामा ३ वटा खसी र १३ वटा बाख्री खोरमा थिए । विहानै बाख्री काटेर खसीको मासु भनेर पसलमा बेच्न लैजान तयार बनाईरहेको अवस्थामा अनुगमन टोलीले फेला पारेको हो । उनले खसीको मासु भनेर दावी गर्दै थिए, अनुगमन टोलीले खसी हो भने खसीको अंग जस्तै अण्डकोष खै भनेर प्रश्न गर्दा बाख्रीको छाला भित्र बोसो भरेर डल्लो बनाएर देखाउन थालेपछि प्रमाण फेला परेको उद्योग बाणिज्य संघ ठाकुरबाबाका अध्यक्ष गोविन्द प्रसाद आचार्यले भन्नुभयो ।

भुरिगाउँका मासु पसल सञ्चालक शेर अली कुरेसीले बाख्रीको मासुलाई खसीको मासु भनेर झुटो बोलेका कारण १६ किलो मासु बरामद गरि खाल्डो खनेर गाडिएको हो । उनलाई सोमवार जिल्ला प्रशासन कार्यालय गुलरियामा तारेखमा बोलाईएको र पहिलो चरणका लागि १० देखि २० हजार रुपैँयासम्म न्युनतम जरिवाना हुनसक्ने सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालले बताउनुभयो ।
यस्तै अर्का मासु पसल संचालक दिनेश बिकले दिनेश भाई समिक्षा फ्रेस हाउसमा खसीको मासु र बाख्रीको मासु पनि आफुले बेच्ने गरेको खुलासा गरेका छन् । खसीको मासुमा बाख्रीको मासु मिसावट गरि बेच्ने गरेको प्रमाण भने फेला परेन । दिनेश भाई समिक्षा फ्रेस मासु पसलका संचालक दिनेश बिकका अनुसार खसीको मासु चाहियो भने खसीको मासु दिन्छु बाख्रीको मासु चाहियो भनेमा बाख्रीको मासु दिन्छु भनेपनि खसीको मासु र बाख्रीको मासुको मुल्यसुची राखिएको पाईएन र उनले सधैँजसो खसीको मासु भनेर नै बिक्री गर्दै आइरहेका अनुगमन टोलीले जनाएको छ । मासु पसल संचालक बिकले सरसफाईमा ध्यान नदिएको र बाख्रीको मासु पनि पाईन्छ भनेर खुलस्त नपारेको, खसीको मासु र बाख्रीको मासुको मुल्यसुची नटासिँएकाले पहिलो पटकका लागि सचेत गराईएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालले जानकारी दिनुभयो ।

खसीको मासु भनी बाख्रीको मासु मिसाएर बेच्ने गरेको भन्ने विशेष सूचनाको आधारमा अनुगमन टोली बिहान ६ बजे पसलमा पुग्दा बाख्रीको पहिचान खुल्ने अंगहरु लुकाएर खसीको मासु भनेर पसलमा लैजान तयार पार्दापार्दै मासु पसल संचालकलाई सोधपुछ गर्दा बाख्रीका अंगमा बोसो राखेर खसीको अंग भनी ढाँट्न थालेपछि प्रमाण खुलेको हो । उनले झण्डै ७ वर्षअघिदेखि पसलभन्दा टाढा घरडेराबाट बाख्री काटेर खसीको मासुमा मिसावट गरि बजार क्षेत्रका विभिन्न होटल तथा रेष्टुरेन्टहरुमा डेलिभरी गदैं आएका थिए । राति नै बाख्री काटेर अंग लुकाउँदै खसीको मासुमा मिसाउने गरेको खुलेको छ ।
विषेश गरि चाडपर्वको समयमा खसीको मासु अत्याधिक बिक्री हुने गरेको मौकाको फाइदा उठाउँदै मिसावट हुने गरेकोसमेत गुनासो छ । मासु काट्नु भन्दा पहिले पशुको स्वास्थ्य परिक्षण गर्नुपर्ने, काटेको मासु चिस्यान ‘डिप फ्रिज’मा राखेर मात्र बिक्री वितरण गर्न पाइने कानुनी व्यवस्था छ । उपभोक्तालाई खसीको भन्दै बाख्रीका मासु बेच्ने मासु पसल संचालकलाई कडा कारबाही हुनुपर्ने स्थानीयको माग छ ।
पहिले पहिले बजार क्षेत्रमा मासु पसलहरुमा सबैले देख्नेगरि सफा सुग्घर ठाउँमा खसी काटिन्थ्यो अहिले त्यस्तो छैन, खसी काटेको कसैले नदेख्ने गरि बन्द कोठामा विहानै खसी काट्छन्, कस्तो ठाउँमा काट्छन्, कस्तो पानीले धुन्छन् सफा हुन्छ की हुँदैन हेर्न पनि दिँदैनन् स्थानीय पुष्पराज देवकोटाले भन्नुभयो । आँखीर किन लुकाएर काटिन्छ त खसी ? खसीको मासुमा बाख्रीको मासु पनि मिसाउँनलाई ? त्यसो हो भने सम्बन्धीत निकायले मासु पसलका खोरहरुमा अब अनुगमन गर्नुपर्ने उहाँको माग छ ।
खसीको मासु पाइने पसलमा किन लुकाएर खसी काटिन्छ ? खुलेआम किन खसी काटिदैन ? उनिहरुको खोरमा खसी मात्रै हुन्छन् कि बाख्री पनि ? किन हुन्छन् त खसीसंगै बाख्री ? उनिहरुले बाख्री काटेर बाख्रीको मासु पनि बेच्छन् भने कहिले र कहाँ बाख्रीको मासु भनेर बेचेका छन् ? मिसावट बारे न त खसीको मासु खाने उपभोक्तालाई थाहा छ, न त खसीको मासुका परिकार बनाएर बेच्ने होटल तथा रेष्टुरेन्ट संचालकलाई । त्यसैले मासु पसलको अनुगमन गर्न र मिसावट गर्नेलाई कारबाही गर्न जरुरी छ स्थानीयले जिवन शाहीले भन्नुभयो ।
व्यावसायिक रुपमा खसीको मासु होस् अथवा कुखुरा, बंगुर, राँगा वा माछा बेच्नका लागि होस् निश्चित मापदण्ड पूरा गर्नुपर्ने भएपनि बर्दियाका मुख्य बजार क्षेत्रका मासु पसलहरुले स्वास्थ्यलाई प्रतिकूल असर गर्ने गरी खुला रुपमा माछा र मासु बिक्री गर्दै आइरहेका छन् । फ्रेस हाउसका लागि कोल्ड स्टोर, सरसफाइ तथा पशुपन्छीको क्वारेन्टाइन गरेको हुनुपर्नेमा बर्दियाका मुख्य बजारहरुमा सञ्चालित अधिकांश मासु पसलहरुले मापदण्ड पूरा गरेका छैनन् ।
मापदण्ड विपरीत खसी, कुखुरा, राँगा, बंगुर र माछा खुल्मखुल्ला बिक्री वितरण हुँदा उपभोक्ता अस्वस्थ मासु खान बाध्य छन् । बजार क्षेत्रमा छुट्टै बधशालासहितका मासु पसलहरु छैनन् । अधिकाँश मासु पसल नजिकै फोहोर हँुदा मासुमा झिंगा बसेको सजिलै देख्न सकिन्छ । मासुलाई स्वस्थ राख्न कुनै पनि उपायको प्रयोग नगरी धूवाँ र धूलो मिसिने गरी खुला रुपमा बिक्री भइरहेको छ । मासु पसल अगाडि पशु बध गर्न नपाइने र हेर्न चाहेमा सबैले देख्ने सफा ठाउँमा बध गर्नुपर्ने कानुनी प्रावधान भएपनि त्यसको उल्लंघन गरिएको छ ।
पसल सञ्चालनका लागि पर्याप्त क्षेत्रफल हुुनुपर्ने, सजिलै फोहोर देख्न मिल्ने गरी सेतो मार्बल तथा टायल लगाउनुपर्ने, निकासी तथा फोहोर व्यवस्थापनको उचित व्यवस्था हुनुपर्ने, स्वच्छ र सफा पानीको व्यवस्था हुनुपर्ने, मासु बिक्रेताले छुट्टै पोसाक लगाउनुपर्ने, स्टिलको हुकको व्यवस्था, चिस्याउनका लागि डिप फ्रिज हुनुपर्ने, मुल्यसुची हुनुपर्ने नियम भएपनि अधिकांश मासु पसलहरुले पालना गरेको पाइँदैन ।
बिहानै ४ देखि ५ बजे मासुमा मिसावट गरेर खसीको मासु भनेर पसलमा ल्याइसक्छन् पसलमा पुग्दा पहिचान खुल्ने अंगहरु फेला पर्दैन । उनीहरुले राति नै बाख्री, भेंडा काटेर विहान खसीको मासुमा मिसाउने गरेकोसमेत खुलेको छ । यसतर्फ सम्बन्धित निकायको बेलैमा ध्यान जान जरुरी देखिन्छ ।
बर्दियाका अधिकाँश पालिकाका गाउँघरमा परम्परागत रुपमा बध गरी बिक्री हुने खसीको मासुका पारखीहरु अहिले पनि धेरै छन् । गाउँघरमा खुला स्थानमा देख्ने गरी खसी बध गरी बिक्री गर्ने मासु अधिकाँश उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको छ ।
विषेशगरि चार्डपर्वका बेला परम्परागत रुपमा दैनिक बध गरिएका खसीका मासु गाउँघरमा धेरै बिक्री हुँदै आएको छ । गाउँघरमा खुल्ला रुपमा बध गरेको खसीको मासु उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । यसरी गाउँघरमा बध गरिएको मासु लिँदा मिसावटको जोखिम नहुने जनाएका छन् ।
खसीको मासु मन मराउनेहरु खसी काटेर खान्छन् बाख्रीको मासु मन पराउनेहरु बाख्री काटेर खान्छन् । खसीको मासु र बाख्रीको मासुको मुल्य पनि फरक छ । मासुका पारखीहरु पनि फरक छन् तर गाउँघरमा मिसावट भने नहुने स्थानीयबासीन्दा बताउँछन् ।
गाउँघरमा आफ्नै आँखा अगाडि बध गरेको खसीको मासु ताजा हुने र बासी तथा भेंडाबाख्राको मासुको मिसावट नहुने भएकाले बजारबाट खसीको मासु पसलबाट भन्दा गाउँघरमा बध गरेको मासु नै खरिद गरेर ल्याउने गरेको नेउलापुर गाउँका सीताराम विष्टले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.