
गेरुवा/बर्दिया : प्लान इन्टरनेशनल नेपाल तथा भेरी वातावरणीय विशिष्टता समूह (बि–ग्रुप)को साझेदारिमा सञ्चालित बालविवाह न्यूनिकरण परियोजना अन्तरगत गेरुवा गाउँपालिकाको दुई वटा विद्यालयहरुमा अनुगमन गरिएको छ । बालविवाह न्यूनिकरण परियोजना सञ्चालन भएका गेरुवा गाउँपालिका–४, जोगीगाउँको सरस्वती आधारभूत विद्यालय गेरुवा गाउँपालिका–३, बनकट्टीको सरस्वती आधारभूत विद्यालयमा गाउँपालिकाको समन्वय तथा जनप्रतिनिधि, विषयगत शाखाका शाखा प्रमुख, साझेदार संस्थाका पदाधिकारी र कर्मचारिहरुबाट संयुक्त रुपमा अनुगमन सहित निरिक्षण सम्पन्न भएको हो ।
अनुगमनका क्रममा परियोजना मार्फत् विद्यालयमा भएका कृयाकलाप र यसबाट प्राप्त अपेक्षित उपलब्धीका विषयमा छलफल गरिएको छ । अनुगमनका क्रममा … विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले प्लान इन्टरनेशनल नेपाल तथा भेरी वातावरणीय विशिष्टता समूह (बि–ग्रुप)को साझेदारिमा विद्यालय तहमा विद्यालयको आचारसंहीता र बाल संरक्षण नीति निर्माण गरिएको जानकारी दिनुभयो । निर्माण गरिएको नीतिलाई अधिकांश शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिती र शिक्षक अभिभावक समितीका सदस्यहरुलाई जानकारी गराई प्रभावकारी रुपमा कार्यान्वयन गरिएको जनाइएको छ ।
यस्तै विद्यालय र कक्षाकोठामा सकारात्मक र विभेद रहीत सिकाइको वातावरण सृजना गर्नका लागि बाल क्लव गठन गरिएको छ भने बाल क्लबले सक्रिय रुपमा काम गर्ने र वार्षिक कार्ययोजना निर्माण गरि बाल संरक्षणका मुद्दामा छलफल गर्ने कार्य गरि रहेको छ । बाल क्लब मार्फत् पैरवी अभियानका क्रियाकलापहरु सञ्चालनका लागि विद्यालयले नेतृत्वदायी भूमिका निर्वाह गरि रहेको विद्यालय स्रोतले जनाएको छ । परियोजना सञ्चालन भएका विद्यालयहरुमा बालबालिकाहरुको समस्या सुन्नका लागि फोकल शिक्षकको व्यवस्था गरी विद्यालयमा गुनासो पेटिकाको समेत व्यवस्था गरिएको छ । प्रधानाध्यापक पौडेलका अनुसार विद्यालयमा आधारित विपद् व्यवस्थापन योजना निर्माण गरी विद्यालय सुधार योजनामा अध्यावधिक गर्ने कार्यमा विद्यालय लागि परेको प्रधानाध्यापक पौडेलले जानकारी दिनुभयो ।
बालिकाहरु महिनावारी भएको बेला विद्यालयमा अनुपस्थित हुने दरलाइ घटाउनका लागि विद्यालयममा आराम गर्ने कोठा तथा स्यानेटरी प्याडको व्यवस्थापन गरिएको छ भने यस कार्यलाई थप व्यवस्थीत गर्नका लागि विद्यालयले आवश्यक पूर्वाधार तथा सामाग्रीहरुको उपलब्धताको लागि पैरवी गरि रहेको जनाइएको छ । अनुगमनका क्रममा गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह के.सी.ले बालविवाह न्यूनिकरणका लागि पालिकाले अनवरतरुपमा प्रयास गरि रहेको र आगामी दिनमा पनि बालविवाह अन्त्यका लागि पालिका लागि परेको बताउनु भयो ।