
नेपालगन्ज, बाँके : शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक सुरेश कुमार जोशीले देश संघीयतामा गए पश्चात केन्द्रले ७५३ वटै स्थानीयतहहरूमा वित्तीय हस्तान्तरण मार्फत् विद्यालय शिक्षाको विकासमा सहयोग गरी रहेको बताउनु भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरद्वारा नेपालगन्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रमको अवसरमा निर्देशक जोशीले नेपाल सरकार शिक्षा मन्त्रालयको स्वीकृत कार्यक्रम अन्तरगत केन्द्रले हाल ४२२ वटा नमूना विद्यालय, ५३७ वटा प्राविधिक धारका विद्यालय लगायत देशभरका ३६ हजार ३२ विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि नि:शुल्क पाठ्यपुस्तक, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत् भवन निर्माण, आइसिटी ल्याब, बालिकाहरुका लागि सेनिटरी प्याड, छात्रवृति एवम् बालविकासदेखि कक्षा ६ सम्मका बालबालिकाहरूलाई दिवा खाजाका लागि आवश्यक रकम उपलब्ध गराउँदै आइरहेको जानकारी दिनुभयो ।
साथै दिवाखाजा कार्यक्रम आगामी आर्थिक वर्षमा कक्षा ७ मा थप गरी कक्षा ८ सम्म पुर्याउने योजना रहेको समेत शर्माले बताउनु भयो । विगतका वर्षहरुदेखी नै सरकारले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी बनाउँदै यस कार्यक्रममा सहभागी विद्यार्थीले उत्पादन गरेका खाद्यान्नलाई दिवा खाजा कार्यक्रमसंग जोड्नु पर्ने धारणा शर्माले राख्नुभयो ।
बर्दिया र बाँके जिल्लामा कार्यरत संचारकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा शिक्षा तथा मानवस्रोत केन्द्रका निर्देशक सुरेश कुमार जोशी, शाखा अधिकृत चन्द्रप्रसाद शर्मा र शिक्षा विकास तथा समन्वय ईकाई बाँकेका प्रमुख भगवान पौडेलले संचारकर्मीले राखेका जिज्ञासाको जवाफ दिनु भएको थियो ।
यसैगरी केन्द्रले बिहिवार पढ्दै कमाउँदै कार्यक्रम संचालन गरेका कर्णाली प्रदेश सहित लुम्बिनी प्रदेशका बाँके र बर्दियाका विद्यालयहरुका सिकाई अनुभव आदान प्रदान कार्यक्रम समेत नेपालगन्जमा आयोजना गरेको केन्द्रका शाखा अधिकृत चन्द्र प्रसाद शर्माले जानकारी गराउनु भयो ।
यस अघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक सुरेशकुमार जोशी, शाखा अधिकृत चन्द्रप्रसाद शर्मा र कम्प्यूटर अपरेटर निर्मला धितालको टिमले बाँके र बर्दियाका विभिन्न विद्यालयको अनुगमन समेत गरेको थियो ।