onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दियाको सदरमुकाम गुलरियाबाट रेडियो संवादको परिक्षण प्रसारण सुरु

Sambad ADD long

गुलरिया, बर्दिया : बर्दियाको सदरमुकाम गुलरियाबाट रेडियो संवाद एफ. एम.ले आज गणतन्त्र दिवसका दिनदेखि आफ्नो परिक्षण प्रसारण सुरु गरेको छ । “बर्दियाको समावेशी आवाज” नारासहित (बिबिसी एन) भावुक बर्दिया कम्युनिकेशन नेटवर्कद्वारा सञ्चालित रेडियो संवाद एफ. एम. ९८.३ मेगाहर्ज, गुलरिया नगरपालिका-४, तुलापुरको (कृष्णसार ताल) लेकसाइडबाट गणतन्त्र दिवसको अवसरमा रेडियोले आफ्नो परिक्षण प्रसारण शुभारम्भ गरेको हो ।

जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारि विहान ५:५१ बजेदेखि गुलरिया नगरपालिकाकी नगर उप-प्रमुख सावित्रा गौतमले रेडियोको ट्रान्समिटरको बटन थिचेर धार्मिक भजनका साथ शुभकामना दिँदै परिक्षण प्रसारण शुभारम्भ गर्नुभएको रेडियो संवाद एफ. एम.का प्रवन्ध निर्देशक भावुक योगीले बताउनुभयो । रेडियोको परिक्षण प्रसारण उद्घाटन कार्यक्रममा गुलरिया नगरपालिकाकी नगर सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, नेपाल प्रहरी उपरीक्षक सुधिरराज शाही, शसस्त्र प्रहरी उपरीक्षक शाही, वडाअध्यक्षहरु सुरेश गौतम, मुम बहादुर मल्ल, हरि प्रसाद पासी, लक्ष्मीनारायण लोध लगायतको सहभागीता रहेको थियो ।

गर्जन्छ सधैं… बाघ झैँ… नारासहित बर्दिया टाइगर नेटवर्कद्वारा सञ्चालित रेडियो टाइगर ९९.२ मेगाहर्ज ठाकुरबाबा नगरपालिका-१, भुरीगाउँमा स्थापना भएको ७ वर्षपछि बर्दियाको सदरमुकाम गुलरियाबाट पनि रेडियो टाइगरले शाखाको रुपमा रेडियो संवाद एफ. एम. सञ्चालनमा ल्याएको हो । बर्दियाको ठाकुरबाबा नगरपालिकासहित गुलरिया, मधुवन, बारबर्दिया, गेरुवा लगायत सबै पालिका र छिमेकी जिल्लाका रेडियोप्रेमी स्रोताहरु माझ रेडियोको प्रसारण अब झनै प्रष्ट रुपमा सुन्न सकिनेछ ।

रेडियो टाइगरसंग सहकार्य गर्दै अघि बढ्दै रेडियो संवादले परिक्षण प्रसारण पश्चात् असार मसान्तदेखि नियमित प्रसारण सुरु गर्ने कार्यक्रम संयोजक सौगात श्रेष्ठले बताउनुभयो । रेडियो टाइगरले कृषि, स्वास्थ्य, शिक्षा, वन वन्यजन्तु संरक्षण, संस्कृति, पर्यटन र विकास लगायतका विषयमा विभिन्न सुचनामुलक, जनचेतनामूलक कार्यक्रम एवम् समाचारका साथै मनोरन्जनात्मक कार्यक्रमहरु उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ ।

रेडियो संवाद एफ. एम.ले परिक्षण प्रसारण शुभारम्भ गरेको अवसरमा सम्पूर्ण रेडियोप्रमी स्रोताहरुमा आभारसहित शुभकामना व्यक्त गर्दै स्रोताले रुचाउने सुचना तथा समाचारमुलक, शन्देशमुलक र कार्यक्रमहरु प्रसारण गर्ने रेडियोका प्रवन्ध निर्देशक योगीले बताउनुभयो ।

रेडियोको परिक्षण प्रसारण समयावधि सकिए लगत्तै सम्भवतः असार मसान्तदेखि नियमित प्रसारण सुरु गरेपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुने समाचार कायाकैरन, नेपाल दर्पण र नेपाल खबरसहित बिबिसी नेपाली सेवाका समाचार तथा स्थानीय समाचार समेत सुरु गरिने योगीले बताउनुभयो । यसअघि उज्यालो रेडियो नेटवर्कबाट प्रशारण हुने कायाकैरन लगायतका समाचार सुन्नबाट सदरमुकाम गुलरियाबासी रेडियोप्रेमी स्रोताहरु बञ्चित थिए ।

रेडियो संवादको प्रसारण एफ. एम. ब्याण्डको ९८.३ मेगाहर्जसंगै अनलाइनमा onlinesambad.com/radio तथा मोबाइल एप्लिकेशन नेपाली पात्रो र हाम्रो पात्रोबाट सुन्न सकिन्छ । onlinesambad.com  बाट रेडियोको सम्पूर्ण कार्यक्रम प्रत्यक्ष सुन्न तथा समाचारहरु पढ्न सकिन्छ ।

Leave A Reply

Your email address will not be published.