बारबर्दिया : २० वर्ष मुनीका गर्भवतीको संख्या ३८ प्रतिशत
जयनगर, बर्दिया : बारबर्दिया नगरपालिकामा ३८ प्रतिशत गर्भवती महिला २० वर्ष मुनीका भएको तथ्याङ्कले देखाएको छ । बारबर्दिया नगरपालिकामा आयोजित पालिकास्तरको सरोकारवाला पक्षसंगको समन्वय बैठकमा बारबर्दिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माले दिनु भएको जानकारी अनुसार सो तथ्याङ्क देखिएको हो ।
भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा बारबर्दिया नगरपालिकाको समन्वयमा सञ्चालन गरेको बालविवाह न्यूनिकरण परियोजनाले आयोजना गरेको बारबर्दिया नगरपालिकामा पालिकास्तरको सरोकारवाला पक्षसंगको समन्वय बैठकमा स्वास्थ्य शाखा प्रमुख शर्माले बारबर्दिया नगरपालिकामा हाल ११५ जना महिला गर्भवती रहेकोमा २० वर्ष मुनिका ४३ जना रहेको जानकारी दिनुभयो । सो तथ्याङ्क बारबर्दिया नगरपालिकामा रहेका कुल गर्भवती महिलाको ३७.३९ प्रतिशत हो । स्वास्थ्य शाखा प्रमुख हर्माका अनुसार २० वर्ष मुनिका गर्भवती बालिकाले प्रजनन स्वास्थ्यका साधनहरु प्रयोग गरिरहेका छन् ।
कानुनले २० वर्षको विवाहमा प्रतिबन्ध लगाएपछि बालबालिकाहरुले भागेर विवाह गर्ने गरेको नगरपालिका प्रशासनले जनाएको छ । बैठकमा सरोकारवालाहरुले अझै पनि भागेर विवाह गर्ने, प्रजनन स्वास्थ्य, आर्थिक तथा सामाजिक कारणले विद्यालय नजाने बालबालिका, बालविवाह पछि विद्यालय छोड्ने जस्ता जटिल समस्या बालविवाह न्यूनिकरणका लागि चुनौतीपूर्ण रहेको औल्याएका छन् ।
बालविवाहको न्यूनिकरणकामा देखिएका चुनौतीहरु अन्त्यका लागि नगरपालिकाको विषयगत शाखा प्रमुखहरुले आ–आफ्नो धारणा प्रस्तुत गर्दै आफुहरु बालविवाह अन्त्यका लागि प्रयत्नशिल रहेको बताएका छन् । विद्यालय स्तरमा बालविवाहको बारेमा कार्यक्रम गर्ने, बालमैत्री तथा लैङ्गिक मैत्री आचारसंहिता निर्माण गर्ने, विद्यालयको गुनासो सुनवाइको संयन्त्रलाई नियमित सञ्चालनमा राख्ने, बाल संरक्षण नीति निर्माण गरी विद्यालय स्तरमा यसको संरचना तयार गर्ने लगायतका सुझावहरु कार्यक्रमका सहभागिहरुले दिएको बालविवाह न्यूनिकरण परियोजना प्राविधिक संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।
यस्तै बालमैत्री लैङ्गिक मैत्री भौतिक पूर्वाधारहरुको लागि संरचना तयार गर्ने, बालविवाह हुन नदिन उद्यमशीलताका तालिम तथा सहयोगका कार्यक्रम सञ्चालन गर्ने, विद्यालय तहमा अभिभावक शिक्षा कार्यक्रम, विद्यालयको प्रार्थना समयमा बालविवाह गर्नाले हुने समस्या तथा कानुनी प्रावधानबारे जानकारी गराउने, बालविवाह बारेमा समुदाय तथा विद्यालय स्तरमा बालक्लब, किशोरी क्लब गठन तथा पुनः गठन गरि उनीहरुकै सहभागितामा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको खण्डमा बालविवाह तथा बालबालिकामा शैक्षिक सुधार हुने सरोकारवालाहरुको सुझाव रहेको शर्माले बताउनु भयो ।
बैठकमा बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुले सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने योजना अनुसार पालिकाले कार्ययोजनामा विभिन्न सामाजिक संघसस्थासंग समन्वय र साझेदारी गरि अघि बढेको बताउनु भयो ।