online-aama-surachhya-sandesh

भुरीगाउँ : सरसफाई तथा स्वच्छता तालिम सम्पन्न

Sambad ADD long

भुरीगाउँ, बर्दिया : खानेपानी, सरसफाई तथा स्वच्छता, किशोर किशोरी प्रजनन्, स्वास्थ्य अधिकार तथा बाल विवाह न्यूनिकरण सम्बन्धी क्षमता अभिवृद्धी तालिम सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावक संघका पदाधिकारीहरुको सहभागितामा सञ्चालित खानेपानी सरसफाई तथा स्वच्छता, किशोर किशोरी प्रजनन्, स्वास्थ्य अधिकार तथा बाल विवाह न्यूनिकरण सम्बन्धी २ दिने क्षमता अभिवृद्धी तालिम मंगलबार सम्पन्न भएको छ ।

भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेको आयोजना तथा प्लान इन्टरनेशनल नेपालको साझेदारी र ठाकुरबाबा नगरपालिकाको सहकार्यमा तालिम सञ्चालन भएको हो । जेष्ठ १ गते सोमबार र २ गते मंगलबार गरी दुई दिनसम्म सञ्चालन भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा खानेपानी, सरसफाई तथा स्वच्छता, किशोर किशोरी प्रजनन्, स्वास्थ्य अधिकार तथा बालविवाह न्यूनिकारणका विषयमा सहभागीहरु बिचमा छलफल भएको बी–ग्रुप बाँकेकी फिल्ड सुपरभाइजर माया खड्काले जानकारी दिनुभयो ।

कार्यक्रममा खाना सुरक्षित राख्नका लागि अपनाउनु पर्ने उपायहरुको विषयमा छलफल गर्नुका साथै पूर्ण सरसफाइका लागि आवश्यक मुख्य व्यवहारमा साबुन पानीले हात धुने बानी, सुरक्षित पानीको प्रयोग, सुरक्षित खानाको प्रयोग, चर्पिको उचित प्रयोग, बालबालिकाको दिशा पिसाबको उचित व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको खड्काले जानकारी दिनुभयो । कार्यक्रममा सफा घर–आँगन, विद्यालय, स्वास्थ्य संस्था एवम् अन्य कार्यालयको नियमित सरसफाई तथा वातावरणीय सरसफाइको विषयमा पनि वृहत रुपमा छलफल गरिएको छ ।

सोमबार भएको छलफलमा सरसफाइ र पोषण बिचको सम्बन्ध, सुरक्षित खानेपानी सरसफाइ र स्वच्छताको प्रयोग गर्दा हुने फाइदाहरु, प्रयोगकर्ता मैत्री शौचालयको महत्व, किशोर किशोरीहरुको शारीरिक तथा मानसिक वृद्धी र विकास अन्तरपुस्ता पोषण, पानी सुद्धीकरण गर्न गरीएका र सरसफाइका कार्यहरु व्यवहारमा लागु गराउने र सरसफाइका विभिन्न तरिका व्यवहारमा लागु गराउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो । फोहर हातका माध्यमबाट विभिन्न किसिमका सरुवा रोग झडापखला, आँउ, हैजा, जन्डीस जस्ता अन्य विभिन्न सर्ने तथा नसर्ने रोग लाग्ने भएकाले उचित तरिकाले हातधुने ६ तरिका अपनाएर साबुन पानीले सफासंग हात धोएर मात्र खानेकुरा खानु पर्ने कुरामा पनि विशेष जोड दिएर छलफल गरिएको छ ।

तालिमको अन्तिम दिन मंगलबार बालविवाह अन्त्यको रणनीतिक कार्यदिशा, पञ्चवर्षिय योजनाको सोँच, लक्ष्य तथा उद्देश्यहरु, बालविवाह न्यूनिकरणका लागि भएका प्रयास र चुनौती, बालविवाहले शिक्षा, स्वास्थ्य, आर्थिक विकास, रोजगारी तथा सम्मान आदरमा पुग्ने असरको बारेमा अन्तरक्रिया तथा छलफल भएको हो । यसैगरी विद्यालयमा किशोरीहरुमा हुने महिनावारी स्वच्छता तथा चुनौतीहरु, महिनावारी हुँदा प्याड तथा सफा कपडाको प्रयोग तथा यौनाङ्गको सरसफाइमा विषेश जोड दिनुपर्नेमा सहभागिहरुलाई आग्रह गरिएको थियो । कार्यक्रममा छलफल पश्चात् बबई शिशु माध्यमिक विद्यालयका शिक्षक शंकर आचार्यले बालविवाह न्यूनिकरण गर्न सके भविष्यमा राष्ट्रको महत्वपूर्ण मानव पूँजी निर्माण गर्न सकिने बताउनु भयो ।

यस्तै कार्यक्रमको समापनमा बोल्दै ठाकुरबाबा नगरपालिकाकी शिक्षा शाखा प्रमुख सिता भण्डारीले विद्यालय व्यवस्थापनका कुराहरुमा अतिरिक्त क्रियाकलाप, बालविवाह न्यूनिकरणका कार्यक्रम सञ्चालन तथा किशोरी शिक्षा, यौन तथा प्रजनन् शिक्षा लागु गर्नुपर्ने बताउनु भयो । शिक्षा शाखा प्रमुख भण्डारीले भन्नुभयो “तालिममा सिकाइएका कुराहरु तालिममा मात्त्रै सिमित नगराई व्यवहारमा लागू गर्नसकेमा समाज रुपान्तरणको मार्गमा अगाडी बढ्छ ।” विशेष गरी समाजमा शिक्षक, शिक्षिका, विद्यार्थी र अभिभावकहरुले यसको महत्व र आवश्यकता सबैलाई सिकाउन तथा जनचेतना जगाउन सक्ने भएकाले ठाकुरबाबा नगरपालिकाका १२ वटा विद्यालयका आधारभूत र माध्यमिक तहका शिक्षक, शिक्षिका, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितीका पदाधिकारीहरुको सहभागिमा कार्यक्रम सञ्चालन गरिएको हो ।

Leave A Reply

Your email address will not be published.