जब्दीघाटमा पुल बनाउन माग राख्दै सांसद गौतम आमरण अनशनमा
बर्दिया : बबई नदीको जब्दीघाटमा भाँसिएको पुलको स्पान हटाउनु पर्ने र तत्काल नयाँ पुल निर्माण गर्नुपर्ने लगायतका माग राख्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य संजय कुमार गौतम भत्किएको पुलमै आमरण अनशनमा बस्नुभएको छ ।
बबई नदीको जब्दीघाटमा भाँसिएको पुलको स्पान हटाएर तत्काल नयाँ पुल निर्माण गर्नुपर्ने, बबई नदीमा तटबन्ध निर्माण गर्नुपर्ने, बबई सिंचाई आयोजनामा बजेट थप्नुपर्ने, बर्दियाको भुरीगाउँदेखि तेलपानी हुँदै सुर्खेतसम्म सडक निर्माण यसै वर्षदेखि सुरु गर्नुपर्ने लगायतका १५ बुँदे माग राख्दै हिजो शनिबार बेलुका ७ बजेदेखि सासंद गौतम भत्किएको पुलमुनी आमरण अनशनमा बस्नुभएको हो । आफुले संसदमा धेरै पटक बाढीमा भत्किएको बबई नदीको जब्दीघाटमा पुल निर्माणका लागि आवाज उठाएपनि राज्यले बेवास्ता गरेकाले बाध्य भएर आमरण अनशनमा बस्नु परेको उहाँले बताउनुभयो । पप्पु कन्स्ट्रसनले निमार्ण कार्य सम्पन्न गरेको केहि महिनामै जब्दीघाटको पुल २०७४ साल साउनमा भाँसिएको थियो भने २०७९ साल असोज २० गते बबई नदीमा आएकोे बाढीले पुल बगाएको थियो ।
प्रतिनिधि सभा सदस्य गौतमले भन्नुभयो “पुल भाँसिएको ६ वर्ष भईसक्यो, अझैँसम्म पनि निर्माण गर्न तर्फ सरकारले चासो दिएको छैन, पुल नहुँदा सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिकाका झण्डै १ लाख स्थानीयबासिन्दा प्रभावित भएका छन् । आफ्नो क्षेत्रको जनप्रतिनिधि भएकाले पुल निर्माण लगायत जनतासंग प्रत्यक्ष सरोकार राख्ने विषय पूरा नभएसम्म अनशन जारी राख्ने छु ।” बाढीले आधा भत्किएको पुल बगाएपछि पूर्व पश्चिम राजमार्गमा जोड्ने सदरमुकाम गुलरियादेखि बारबर्दिया नगरपालिकाको रम्मापुर सडकखण्डमा सवारीसाधन आउजाउ बन्द छ । बबई नदीको जब्दीघाट पुलमुनी सांसद संजय गौतमसंगै लुम्बिनी प्रदेश सभा सदस्य भुवनेश्वर चौधरी पनि आमरण अनशनमा बस्नुभएको छ ।
सांसद संजय गौतमले भत्किएको पुलमुनी आमरण अनशन अर्थात् भोक हड्ताल गर्नाले सरकारले तत्काल सुनुवाई गर्ने र पुल निर्माण कार्य अघि बढ्नेमा आफु आशाबादी रहेको बारबर्दिया नगरपालिकाका नगर प्रमुख छबिलाल थारुले बताउनुभयो । सांसद गौतम आमरण अनशनमा बस्नुभएको छ भने स्थानीय पालिकाका जनप्रतिनिधी र स्थानीय कार्यकर्ताहरु पनि उहाँलाई साथ दिन रिले अनसनमा बसेका छन् ।