
बर्दिया : बालविवाह न्यूनीकरणका लागि किशोर किशोरीहरु तथा युवाहरुमा जानकारी गराृने उद्देश्यले बर्दिया जिल्लाका बारबर्दिया, मधुवन, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाका स्थानीय तहसंगको समन्वय तथा सहकार्यमा र प्लान इन्टरनेशनल नेपाल तथा भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेसंगको साझेदारिमा टेलिथनः बालिका दुलही होइनन् परियोजना सञ्चानल गरिएको छ ।
बालविवाहको बारेमा नियम, कानुन सम्बन्धी ज्ञानको अभिवृद्धि गरी बालबालिकाहरुका अधिकारबारे जनचेतना जगाउनका लागि परियोजना मार्फत् २० वटा विद्यालयमा अभिभावक सत्र सञ्चालन गरिएको छ । उक्त सत्रमा अभिभावकहरुलाई बालमनोविज्ञानमा आधारित सिकाई, बालबालिकालाई असल, जिम्मेवार र सफल बनाउन अभिभावकले निभाउनुपर्ने भूमिका, घरायसी वातावरण र सामाजिक वातावरणले बालबालिकालाई पार्ने असर र त्यसबाट बचाउन अभिभावकले निभाउनुपर्ने भूमिका, बालबालिकाको रुची, क्षमता पहिचान लगायतका बारेमा जानकारी गराएको छ ।
कार्यक्रममा अभिभावकहरुलाई समय–समयमा विद्यालय गएर आफ्नो छोराछोरीको प्रगतिबारे शिक्षकहरूसंग परामर्श गर्न, उनीहरूको भावना बुझी आत्मविश्वास जगाउन, आफ्नो चाहनालाई जबरजस्ती छोराछोरीमाथि नलाद्न, छोराछोरीको कुरा ध्यानपूर्वक सुनिदिनु पर्ने लगायतका विषयमा अभिभावकहरुसंग अन्तरकृया तथा छलफल गरिएको छ । नेपालमा बालबालिका सम्बन्धी ऐन, २०७५ ले १८ वर्ष उमेर समूहका व्यक्तिहरुलाई बालबालिका मानेको छ । यस उमेर समूहका बालबालिकालाई सक्षम उमेर समूहका वयस्कहरुले संरक्षण गर्नुपर्ने हुन्छ र उनीहरुको सर्वाङ्गिण विकासका लागि सहयोग पुर्याउनु पर्दछ, तर नेपालमा विभिन्न रुढीवादी सोँच, विश्वास र हानीकारक सामाजिक अभ्यासले गर्दा बालविवाह जस्तो अमानविय व्यवहार विद्यमान रहेको छ ।
बालविवाहले बालिकाहरुलाई शारीरिक र मानसिक जोखिममा पारेको पाइएको छ । बालविवाहले बालिकाहरुलाई शिक्षाको अधिकारबाट बञ्चित गरिरहेको छ भने शारीरिक र मानसिक रुपमा कमोजर बनाएको छ । जसको परिणाम स्वरुप सामाजिक, साँस्कृतिक र आर्थिक रुपमा महिलाहरु पछाडि पारिएका छन् । नेपालको प्रचलित कानून मुलुकी फौजदारी संहिता, २०७४ ले बालविवाहलाई कानूनतः दण्डनीय मानेको छ । यसर्थ सामाजिक रुपमा निन्दनिय र कानूनी रुपमा दण्डनीय बालविवाहलाई समाजबाट हटाउनु बालबालिकाको सर्वाङ्गिण विकासमा टेवा पुर्याउनु पनि हो ।
महिलाहरुलाई समाजमा सेवा, सुविधा तथा अवसरहरुको उपयोग र निर्णायक भूमिकामा सहभागिताको हिसाबले पिछडिएको तथा पछाडि पारिएको छ । बालबालिकाको अधिकारको लागि सरकारी तहबाट योजना, वार्षिक कार्यक्रम तथा बजेटको विनियोजन गरी विभिन्न कार्यक्रमहरु कार्यान्वयन भई रहेका छन भने गैह्र सरकारी तहमा यस प्रकारका कार्यक्रमहरु सञ्चालन भई रहेको पाईन्छ । विभिन्न तालिम तथा गोष्ठी सञ्चालन हुने अन्य कार्यक्रमहरुमा बढ्दै गएको सक्रिय सहभागिताको कारणबाट विगतको तुलनामा कैयौं सुधार भई रहेको भए पनि अझै कैयौ समस्याहरु बिधमान रहेका छन् ।
अभिभावकहरुसंग अन्तरकृया तथा छलफल कार्यक्रममा सहभागि हुनु भएकी ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ की ४१ वर्षिय मथुरा थापा भन्नुहुन्छ “बालबालिकालाई घरको घरायसी काम भन्दा उनीहरुलाई पढ्नका लागि समय तथा अवसर दिँदा उनीहरुको पढ्ने बानीको विकास हुने रहेछ भन्ने ज्ञान भएको छ ।” उहाँले बालबालिकालाई पढ्ने अवसर सृजना गर्ने प्रतिवद्दता समेत जनाउनु भएको छ । उता ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ की राम कुमारी थारूले आफ्ना बालबालिकाहरुलाई हरेक दिन विद्यालयबाट घर फर्किएपछि सरासर पढाइ कुना भएकै कोठामा गएर गृहकार्य गर्न लगाउने र घरमा अध्ययनका लागि छुटै कोठामा सिकाई कुनाको व्यवस्थापन गरेको बताउनु भयो ।
अभिभावक शिक्षा सञ्चालनले विद्यालयको पठन र घरमा बालबालिकाको हेरचाह तथा घरमा बुबाआमाले पनि नियमित पढे, नपढेको विषयमा सोधखोज गर्ने गरेको खण्डमा नियमित गृहकार्य गर्ने, पढ्ने बानीको विकास हुनाका साथै शैक्षिक सामग्रीको सुरक्षा र व्यक्तिगत सरसफाइमा निकै सुधार भएर जाने टाकुरबाबा नगरपालिका–६ मा रहेको जनता आधारभूत विद्यालयका प्रधानाध्यापक मदन चुनाराले बताउनु भयो । अभिभावक शिक्षा परियोजना अन्तरगत विद्यालयका कक्षा ६ देखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीका अभिभावकहरुको सहभागितामा बारबर्दिया नगरपालिकामा ५, मधुवन नगरपालिकामा ५, ठाकुरवावा नगरपालिकामा ५ तथा गेरुवा गाउँपालिकामा ५ गरि जम्मा २० वटा विद्यालयमा अभिभावक शिक्षा अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेका छन् ।