नागरिक समाजको भुमिका विषयक २ दिने तालिम सम्पन्न
ओम प्रकाश बिष्टको संयोजकत्वमा नागरिक समाज - ठाकुरबाबा गठन

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा नागरिक समाजको भुमिका विषयक २ दिने तालिम सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिकाको समन्वयमा बालविवाह न्यूनिकरण परियोजना अन्तरगतको बाल विवाह, छिटो हुने विवाह र दवावमा हुने विवाह न्यूनिकरणका लागि नागरिक समाजको भुमिका विषयक २ दिने तालिम सम्पन्न भएको हो ।
बालविवाह न्यूनीकरणको लागि स्थानीय नीति निर्माणको आवश्यकताको बारेमा नागरिक समाजका सदस्यहरुलाई सचेत गराउने तथाबालविवाह रोकथाममा नागरिक समाजलाई क्रियाशील बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजक संस्थाले जनाएको छ । वैशाख २७ गते र २८ गते गरि दुई दिनसम्म संचालन भएको तालिममा नागरिक समाजले खेल्नुपर्ने भुमिका, समयको महत्व, एक अर्काको सम्मान, समान सहभागिता, संजाल, सहकार्य र नेतृत्व निर्माण, कार्य योजना निर्माणको विषयमा छलफल गरिएको छ ।
कार्यक्रममा सक्रिय नागरिकले समाजमा पार्न सक्ने प्रभावकारिताको विषयमा समेत छलफल गरिएको जनाइएको छ । तालिमको प्रशिक्षण प्रकाश उपाध्यायले गर्नु भएको हो । यस्तै ठाकुरबाबा नगरपालिकामा पुन: नागरिक समाजको गठन गरिएको छ । समाजमा रहेका सामाजिक हानिकारक अभ्यास र मुल्यमान्यता हटाउने तथा बालविवाह न्यूनीकरणको लागि स्थानीय नीति निर्माणमा नागरिक समाजको भूमिकाको लागि ओम प्रकाश बिष्टको संयोजकत्वमा नागरिक समाज – ठाकुरबाबा गठन गरिएको छ ।
भेरी वातावरणीय विशिष्टता समूह (बि-ग्रुप) बाँके र प्लान इन्टरनेशनल नेपालको सक्रियता तथा ठाकुबाबा नगरपालिकाको समन्वयमा ठाकुरबाबामा रहेका सामाजिक संस्थाका व्यक्ति, महिला स्वास्थ्य स्वयमसेविका, बडघर, गुरुवा तथा सामाजिक अभियन्ताहरुको सहभागितामा नागरिक समाज ठाकुरबाबा गठन गरिएको हो । समुदायमा रहेका विभिन्न किसिमका बिकृतिलाई बदल्न , नगर स्तरिय बाल क्लव गठन गर्ने एवम् बाल विवाह रोकथाम तथा स्थानीय सरकारलाई सचेत गराउने, कार्य योजना निर्माण गर्ने उद्देश्यले नागरिक समाज गठन गरिएको जनाइएको छ ।
तालिममा सामाजिक क्षेत्रमा काम गरि रहेका व्यक्ति, महिला स्वास्थ्य स्वयमसेविका, बडघर तथा सामाजिक अभियान्ताहरु, विभिन्न संघ संस्थामा आवद्ध रहेका प्रतिनिधिहरुको सहभागिता रहेको भेरी वातावरणीय विशिष्टता समूह (बि-ग्रुप) बाँकेकी सुपरभाइजर सृजना चौधरीले जानकारी दिनुभयो ।