जयनगर, बर्दिया : बारबर्दिया नगरपालिकामा बालविवाह न्यूनिकरणका लागि पालिका स्तरका सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टिता समूह (बि-ग्रुप) बाँकेको सहयोगमा बारबर्दिया नगरपालिकाको समन्वय तथा बारबर्दिया नागरिक समाज सञ्जालको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
बालविवाह न्यूनिकरणका लागि समुदायमा सचेतना फैलाउने खालको कार्यक्रमहरु संचालन गर्नु पर्ने कार्यक्रमका सहभागिहरुले बताएका छन् । समुदायमा बालविवाह न्यूनिकरणका लागि वडा स्तरमा विभिन्न खालका निर्णयहरु भएको छ । बारबर्दिया नगरपालिकाका नगर उप–प्रमुख रत्न कुमारी पाण्डेले बाल विवाह न्यूनिकरणका लागि वडा तथा समुदायस्तरमा कार्यक्रम गर्ने योजनाहरु बनाएको बताउनु भएको छ । बालविवाह न्यूनिकरणका लागि विद्यालयमा युवा तथा किशोरकिशोरीहरुको सहभागितामा सडक नाटक, सचेतनामुलक कार्यक्रम गर्ने तयारी गरिरहेको समेत उप–प्रमुख पाण्डेले बताउनुभयो ।
अन्तरक्रिउा कार्यक्रममा समुदाय स्तरमा बालविवाह न्यूनिकरणको बारेमा युवाहरुलाई सक्रिय गराउनु पर्ने र बडघरहरु पनि आ–आफ्नो क्षेत्रमा क्रियाशिल हुनुपर्ने कुरामा जोड दिइएको छ । बारबर्दिया नगरपालिका महिला बालबालिका शाखा प्रमुख उषा पुनले बारबर्दिया नगरपालिकालाई २०८३ सालसम्ममा बालविवाह मुक्त पालिका बनाउने लक्ष्यका साथ कामहरु भइरहेको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालयका बरिष्ठ प्रहरी नायव निरिक्षक राजेश धामीले बालविवाह न्यूनिकरणका लागि समुदाय नै सचेत हुनु पर्ने बताउनु भएको छ ।
कानुनी कारबाहीसंगै सचेतनाका कार्यक्रमहरु गरे बालविवाह न्यूनिकरण गर्न सकिने उहाँले बताउनुभयो । बडघर संजाल बारबर्दियाका अध्यक्ष कालिराम थारुले कार्यक्रम बारे जानकारीसंगै बालविवाह न्यूनिकरणमा बडघरहरुको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ । वडा स्तरीय बडघर, नागरिक समाज संजालका सदस्यहरुले आफ्नो समुदायमा बालविवाह न्यूनिकरणको क्षेत्रमा खेलेको भूमिका र चुनौती तथा अबका योजनाको विषयमा आ–आफ्नो धारणा राख्नु भएको थियो । पालिकालेनै बालविवाह न्यूनिकरणका लागि रणनीतिक योजना बनाएर नै काम गनुृ पर्ने सहभागिहरुले माग गरेका छन् ।
बारबर्दिया नागरिक समाज संजालका संयोजक शंकर थारुको सभाध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बारबर्दिया नगरपालिकाका नगर उप–प्रमुख रत्न कुमारी पाण्डे रहनु भएको थियो ।