बर्दिया निकुञ्ज भित्र लागेको आगो नियन्त्रणमा लिने प्रयास जारी
धुँवाले गाउँबस्ती ढपक्कै, आँखा पोल्ने समस्या र श्वास फेर्नसमेत गाह्रो

बर्दिया : झण्डै दुइ साता यता बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका जंगल भित्र आगो लागेका कारण जंगल आसपासका स्थानीयबासीलाई समस्या भएको छ । बर्दिया निकुञ्ज भित्र जंगलमा लागेको आगोको धुँवाले निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका गाउँबस्तीमा बसोबास गर्ने स्थानीबासीन्दालाई समस्या भएको हो ।
धुवाँका कारण आँखा पोल्ने, श्वास फेर्न गाह्रो हुने, निकुञ्ज भित्र रहेको पुर्व पश्चिम राजमार्ग क्षेत्रमा सवारीसाधन चलाउन गाह्रो हुने लगायतका समस्या देखा परेको स्थानियले बताएका छन् । बर्दिया निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने चुरे पहाडबाट सल्किएको आगो निकुञ्जको पश्चिम तथा दक्षिण क्षेत्रमा समेत फैलिदै गएको छ ।
निकुञ्ज भित्रको जंगलमा लागेको आगोको धुँवाले निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँबस्ती ढाकेको छ । पुष र माघ महिनामा कुहिरोले ढाके झैँ यतिबेला धुँवाले गाउँबस्ती ढाकेको छ । बर्दिया निकुञ्ज मध्यवर्ती क्षेत्रमा पर्ने भुरीगाउँ, रानीपुर, कर्मला, प्रतापुर, डुम्रेनी, सैनवार, मैनवार, बर्गदा, रम्मापुर, औँरी, ठाकुरद्धारा लगायतका अधिकाँश गाउँहरु केही दिनयता धुँवाले ढपक्कै ढाकिएको छ । निकुञ्ज आसपासमा पर्ने गाउँबस्तीका स्थानीयबासीन्दाहरुलाई हिँडडुल गर्नसमेत धुँवाले प्रभावित बनाएको छ ।
निकुञ्जको चुरे पहाडदेखि फैलिएको आगलागी केही दिन यता तराइ क्षेत्रको जंगलमा समेत फैलिएको छ । आगलागीका कारण निकुञ्ज नजिकका गाउँबस्ती धुँवाले ढपक्कै ढाकिँदा हिँडडुल गर्न निकै समस्या परेको बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीय केशव खनालले बताउनुभयो । बर्दिया निकुञ्ज आसपासका गाउँबस्तीका स्थानीयबासिन्दाहरु वन जंगल भित्र लागेको आगोको धुँवाबाट वर्षौदेखि पीडित हुँदै आएका छन् । ‘झण्डै एक महिनासम्म धुँवाको समस्या हुन्छ, गाउँबस्तीमा धुँवा दिउँसोको तुलनामा राती र विहानमा अझैँ बढी हुने गर्छ,’ खनालले भन्नुभयो ।
‘दिउँसो हावा चल्ने हुनाले धुँवाको प्रभाव धेरै नभएपनि साँझ पर्नासाथ धुँवाले गाउँबस्ती ढाकिन्छ,’ कर्मला गाउँका फिरु थारुले भन्नुभयो । ‘धुँवाका कारण यस क्षेत्रमा हिँडडुल गर्नेलाई समस्या छ, विहान बेलुका घर बाहिर निस्कनसमेत गाह्रो हुने गरेको छ,’ थारुले बताउनुभयो । धुँवाले बालबालिका र बृद्धहरुलाई अझैँ बढी श्वासप्रश्वास सम्बन्धि समस्या देखिन थालेको छ । धुँवाले गर्दा निकुञ्ज र सामुदायिक वन आसपासका मानिसमा आखा पोल्ने, श्वास फेर्न अप्ठ्यारो हुने, खोकी लाग्ने समस्या देखा परेको छ । ‘धुँवाका कारण निकै समस्या भएको छ, विहान त हिड्डुल गर्नै मुस्किल पर्छ, धुँवाले रातदिन आँखा पोल्छ,’ निकुञ्ज नजिक डुम्रेनी गाउँका बद्री कठायतले बताउनुभयो ।
निकुञ्ज क्षेत्रमा पर्ने बारबर्दिया नगरपालिकाको रम्मापुरदेखि ठाकुरबाबा नगरपालिकाको सैनवार, भुरीगाउँ, आम्बासा हुँदै कर्णाली चिसापानीसम्मको क्षेत्रमा साँझ परेपछि राजमार्गमा गाडी चलाउन पनि समस्या हुने गरेको छ । जती साँझ पर्दै गयो, उती नै धुवाले समस्या पार्छ । साँझ ७ बजेदेखि विहान ९ बजेसम्म धुँवाका कारण राजमार्गमा सवारीसाधन चलाउनसमेत गाह्रो हुने गरेको सवारी चालक गोपाल रानामगरले बताउनुभयो ।
निकुञ्ज भित्र सेनाका दर्जन बढी सुरक्षा पोष्टहरु छन् । धुँवाले निकुञ्ज सुरक्षार्थ खटिएका सेना र कर्मचारी पनि प्रभावित भएका छन् । गर्मी याममा पश्चिमी वायुसँगै चल्ने हावाका कारण निकुञ्ज भित्र सल्केको आगो फैलिँदै गएको निकुञ्जले जनाएको छ । ‘आगो नियन्त्रमा लिने प्रयास जारी छ, नेपाली सेना र कर्मचारीको आगो नियन्त्रण गर्ने र्यापिड टिम बनाएर खटाएका छौँ, निकुञ्ज भित्रको लालमाटी र राजमार्ग आसपासका क्षेत्रमा खटाएका छौँ, धेरै ठाउँमा आगो लागेका कारण र पानी नपरेका कारणले पनि आगो निभाउन नसकिएको हो’ बर्दिया निकुञ्जका सुचना अधिकारी आषिश न्यौपानेले भन्नुभयो ।
निकुञ्जमा लागेको आगोका कारण हरेक वर्ष चराचुरुङ्गीका अण्डा, बच्चा, गुँड र नयाँ वोटविरुवा तथा जडीबुटीहरु जलेर नष्ट हुने गरेको संरक्षणकर्मीको भनाइ छ । वन जंगल भित्रको आगलागीका कारण मानवस्तीसंगै निकुञ्ज र सामुदायिक वन भित्रका वन्यजन्तु पनि समस्यामा छन् । निकुञ्ज भित्र आगो लागेका कारण वन्यजन्तु बाहिर निस्कन खोज्ने भएकाले वन्यजन्तुबाट दुर्घटना हुनसक्ने खतरा पनि बढेको छ ।